बुध्दको पाङ्ग्रा खस्नुको कारण पत्ता लागेन, नियामक र जहाज उत्पादकसम्मले अनुसन्धान गर्ने

1.2k
Shares

काठमाडौं । बुध्द एयरको जहाजको पाङ्ग्रा खस्नुको कारण पत्ता लागेको छैन् । बुध्द एयर र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार साँझ जनकपुरबाट काठमाडौं आउँदै गरेको जहाजको पाङ्ग्रा जनकपुर विमानस्थलमै खसेको विषयकाे कारण पत्ता लगाउन नसकेका हुन् ।

बुध्दको ९ एन एएनएच कलसाइनको एटीआर ७२ जहाजले अगाडिको एउटा नोज ह्विल (पाङ्ग्रा) विना नै काठमाडौंमा सफल अवरतण गरेको थियो । ६२ यात्रुलाई सकुशल अवतरण गराएको उक्त जहाज पार्किङमा राखेपछि मात्रै चालक दलले एउटा पाङ्ग्रा नै नभएको थाहा पाएका थिए ।

उक्त जहाजको पाङ्ग्रा खसेको विषयमा जनकपुर विमानस्थललाई जानकारी गराएको थियो । जनकपुर विमानस्थल टोलीले धावनमार्गमा खोज्न जाँदा एउटा पाङ्ग्रा छुटेको फेला परेको हो ।

एउटा पाङ्ग्राविना नै सुरक्षित अवतरण गरेको उक्त जहाजको निरीक्षणपछि तत्कालै जहाज ग्राउण्डेड (उड्न नपाउने) गरेर चालक दलका सदस्य र इन्जिनियरलाई तत्काल काम गर्न नपाउने व्यवस्था गरिएको उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनकाअनुसार सम्बन्धित वायुसेवा र नियामकले जहाजको पाङ्ग्रा खस्नुको कुनै कारण पत्ता लगाउन सकेको छैनन् । जहाजको पाङ्ग्रा झरेको र यसको कारणको विषय खोजी गर्नुपर्ने भन्दै जहाज निर्माण कम्पनी एटीआरलाई जानकारी गराएको भुलले बताए ।

‘अब यो जहाजलाई बुध्दले यहीँ काठमाडौं विमानस्थलमै मर्मत गर्छ भने यसको रिपोर्ट चाहिँ एटीआरलाई पनि पठाउँछ,’ भुललले भने । बुध्द एयर जहाज उडान गर्ने कम्पनीसँगै जहाजको मेन्टेनेन्स तथा रिपेरिङ अर्गनाइजेसन (एमआरओ)समेत हो ।

यसले उडान गर्ने एटीआरका सबै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमै बनाउँछ भने बाहिरबाट आएका जहाजको पनि मर्मतसंभार गर्छ ।

बिहीबार बुध्दको पाङ्ग्रा भाँचिएर खसेको पाइएको छ । उक्त पाङ्ग्रा खस्नु अस्वभाविक भएकोले कसको गल्ती कमजोरी भन्ने विषय पत्ता नलागेको हो । जहाजको अगाडि दुईवटा पाङ्ग्रा हुनुपर्नेमा एउटा मात्रैबाट पनि सुरक्षित अवतरण गर्नुलाई नै सुखद पक्षका रुपमा लिनुपर्ने पनि नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।

बुध्द एयरका वरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले पाङ्ग्रा खसेको विषयमा अध्ययन भइरहेकोले केही भन्न नसकिने बताए । ‘बुध्द एयरको आन्तरिक टोलीले जहाजको पाङ्ग्रा खसेको विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ । यो बीचमा मर्मत पनि गर्दै गर्ने भएको छ । अध्ययन रिपोर्ट आउन भने एक साता लाग्न सक्छ,’ उनले भने ।

बुध्दको मेन्टेनेन्स इन्जिनियरिङ टोलीले काम गर्दै गरेकोले दुई तीन दिनपछि जहाज भने नियमित उडानमा आउने जोशीको भनाइ छ । रिपोर्ट आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिपोर्ट बुझाउने उनले बताए । प्राधिकरणले उक्त रिपाेर्ट जहाज निर्माता कम्पनी एटीआरसम्म पठाउने छ ।