अक्षम नेतृत्वले डुबाउँदै निगमः आन्तरिक उडान ठप्प भएको साढे २ महिनासम्म वेवास्ता, अझै इन्जिन पर्खंदै

357
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अक्षम नेतृत्वका कारण अन्तरिक उडानको भविष्य नै संकटमा धकेलिएको छ । निगमको आन्तरिक उडान साढे २ महिनादेखि ठप्प छ । पुस ७ देखि आन्तरिक उडान गर्न नसकेको निगमले अझै पुनः सेवा सुरु गर्ने समय निर्धारण गर्न सकेको छैन ।

इन्जिन अभावले उडान गर्न नसकेको निगमले अझै यसको व्यवस्थापन गर्न नसकेको कारण समस्या झेलिरहेको हो । निगमले भने इन्जिन छिट्टै आउने र उडान हुने आश्वासन दिन छोडेको छैन ।

निगमको असक्षम नेतृत्वका कारण जहाज उड्न नसकेको आरोप लागिरहेको छ । वायुसेवा निगम नेतृत्वले एकैपटक दुईवटै जहाजको इन्जिन मर्मतमा पठाएको छ । विकल्प तयार पार्न नसकेको र मर्मत कम्पनीबाटसमेत समयमा नै ल्याउन नसकेको कारण वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि प्रश्न उठ्न थालेको । त्यसो त अधिकारीलाई यस अघिकै सरकारले हटाइसकेको छ । उनी अदालतको अन्तरिम आदेशले निगममा बसिरहेका छन् । अधिकारीले न आफूले काम गर्न सकेका छन् त न अरुलाई काम गर्न दिने बाटो नै खोलिदिएको हवाई क्षेत्रकै कर्मचारीले आरोप लगाइरहेका छन् ।

वायुसेवा निगमको लापरवाही र नेतृत्वको असक्षमताकै कारण लामो समय जहाज थन्कदाँ यसले हवाई क्षेत्रमा राम्रो सन्देश जाँदैन । उसै त छवि गुमाउँदै गएको निगमले लामो समय उडानविहीन बनाएका कारण आन्तरिक उडानको बजार थप खुम्चै जाने गर्छ ।

वायुसेवा निगमका प्राविधिक प्रवक्ता मनोजकुमार साहका अनुसार आफूसँग भएकै इन्जिन बनाएर ल्याउनुपरेको र जगेडा नहुँदा नचाहँदा नचाहँदै पनि उडान रोकिन पुगेको हो । निगमले बनाउन दिएको इन्जिन बनाएर ल्याउने र अर्को बनाउन छोड्ने गरी मर्मतमा गएको थियो । इन्जिन समयमा नै तयार नहुँदा उडान नै रोकिन पुगेको उनले बताए ।

‘छिटो बनाउन निरन्तर दबाब दिइरहेको कारण अबको एक साताभित्रै दुबै जहाजको इन्जिन आएर उडान हुने छ,’ उनले भने ।

दुई/तीन दिनमा एउटा र एक साताभित्रमा अर्को ट्वीनअटर जहाजको इन्जिन आउने उनको दाबी छ ।

निगमसँग हाल दुईवटा ट्वीनअटर जहाज आन्तरिक उडानमा छन् । दुबै जहाज एकैपटक ग्राउण्डेड भएका कारण यसको छविमै असर परेको हो । निगमसँग जम्मा २ वटा जहाज मात्रै आन्तरिक उडानका लागि छन् ।

निगमले भएकै जहाजको इन्जिन मर्मत गरेर उडान गर्न नसकेको, नयाँ किन्ने र भाडामा ल्याउने योजना नेतृत्वको पद जोगाउन देखाउने अस्त्र मात्रै हुँदा यसको आन्तरिक उडानको अवस्था नै जर्जर अवस्थामा पुगेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि निगमको जहाज थन्किएको विषयमा चासो देखाउन सकेन । सरकारले निगमको जहाज थन्किएको, सरकारी वायुसेवा भन्दै आउने यात्रुलाई सेवा दिन नसकेको र उडान छवि धुमिल हुँदासमेत हेरेरै बसिरहेको अवस्था छ ।

पर्यटन मन्त्रालयले वायुसेवा निगमको जहाज उडेका छन् कि बसेका भन्ने विषयमा चासो कम देखाएको आरोप लागिरहेको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार निगमको आन्तरिक उडान ठप्पको अवस्थासँग पर्यटन मन्त्रालय जानकार छ । निगमलाई यस विषयमा शोधपुछ गर्दा इन्जिन मर्मत हुँदै छ छिट्टै बनेर आउँछ भन्ने जानकारी आउने गरेको लामिछानेले बताए ।

वायुसेवा निगमको आन्तरिक उडानमा रहेको एउटाको उडान आवर सकिएर पुस ७ देखि थन्किएको छ भने अर्को एउटा वर्षौंदेखि उडानमा नै आउन सकेको छैन । अहिले दुईवटै जहाज मर्मत भएको इन्जिन ल्याएर उडानामा ल्याउने तयारी भएको निगमले दाबी गरेको छ ।

किन निर्णय क्षमतामा कमजोर भयो निगम ?

जहाज थन्किएको बेला नयाँ किन्ने योजना र भाडामा ल्याउने विकल्प प्रस्तुत गर्नुभन्दा निगम नेतृत्वलाई भएकै जहाज बनाएर छिटो परिणाम देखाउने अवसर हुँदा पनि एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) बेसिसमा मर्मत गर्न पाउने अधिकारको समेत नेतृत्वले प्रयोग गर्न सकेको छैन ।

एओजी बेसिसमा जहाज ल्याउँदा प्रक्रिया अत्यन्तै छोटो हुन्छ भने तुरुन्तै आवश्यक पाटपूर्जा खरिद गरि जहाज उडाइहाल्न पाइने सुविधा भए पनि निगमले त्यसलाई प्रयोग गर्न नसक्दा आन्तरिक उडानको सेवा नै ठप्प भएको छ ।

निगमले आन्तरिक उडानमा ट्विनअटर नामका साना जहाज प्रयोग गर्दै आएको छ । यो कम्पनीसँगका आन्तरिक उडानमा दर्जनभन्दा बढी जहाज एकैपटक उड्न सक्ने क्षमता खस्कदैँ अहिले दुईवटा उडान योग्यको अवस्थामा रहेको भए पनि त्यो पनि ठप्प हुन पुगेको हो ।

निगमसँग भएको ९एन एबीटी गत २३ जेठदेखि र ९एन एबीयू ७ पुसदेखि उडानमा छैनन् । वायुसेवा निगमका अनुसार इन्जिनको उडान आवर सकिएर दुवै ट्विनअटर ग्राउन्डेड हुँदा आन्तरिक उडान हुन नसकेको हो ।

उडान ठप्प हुँदा ति उडानमा काम गर्ने पाइलट, इन्जिनियर, एयर होस्टेस, ग्राउण्ड स्टाफ, निमका कर्मचारीसहित १५० भन्दा बढी जनशक्ति कामविहीन भएका छन् ।

निगम सरकारी संस्था भएकोले कामविहीन अवस्थामा पनि कर्मचारी खर्च भने नियमित गर्नुपर्छ । जहाज किन्ने, भाडामा ल्याउने वा भएकै जहाज उडाउने अन्य विकल्पसमेत केही निगमसँगँ छैन ।

निगमको मर्मतमा रहेको जहाज नबनेको र उडान भइरहेको जहाज पनि अब उडाउन नमिल्ने भएकोले उडान ठप्प हुन पुगेको प्रतिकृया यसअघि नै निगमका प्रवक्ता रमेश पौडेले दिइसकेका छन् ।

पौडेलका अनुसार ८/९ महिना अगाडि नै टेण्डर प्रक्रियामा गएर एउटा इन्जिन ल्याउन कम्पनीले छनोट समेत गरिसकेको छ । सो अनुसार छनोट भएको कम्पनीले काम नगर्दा अहिले उडानविहीन अवस्थामा निगम पुगेको हो ।

इन्जिनको उडान आवर सकिन्छ भन्ने विषयमा पहिल्यै जानकारी भएर अर्डर गरे पनि नयाँ इन्जिन आइनपुग्दा निगमको जहाजको उडानै ठप्प भएको हो जसले नकारात्मक सन्देश प्रवाह भएको छ । तर निगम नेतृत्वलाई भने त्यसको वास्ता देखिएको छैन ।

मासिक लाखौं घाटासँगै यात्रुको विश्वास गुम्यो

वायुसेवा निगमले साढे २ महिनासम्म पनि जहाज उडान गर्न नसक्दा मासिक लाखौं घाटा व्यहोरिरहेको छ भने यात्रुको विश्वासमेत गुमाउन पुगेको छ । सन् २०२४ मा ११ हजार २७५ यात्रुलाई सेवा दिएर निगम आन्तरिक उडानमा छैटौं स्थानमा थियो। अघिल्लो वर्ष २०२३ मा निगमले १३ हजार २७८ यात्रुलाई सेवा दिएको थियो ।

निगमले गत असोज र कात्तिकमा मात्रै ३ हजार ७१५ यात्रुलाई सेवा दिएर २ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

निगमले गत वर्ष २०८०/८१ को एक वर्षमा १८ हजार ६१० यात्रुलाई सेवा दिएको थियो । अघिल्लो वर्ष २०७९/८० मा ३० हजार ६०६ जना यात्रुलाई सेवा दिएको निगमको तथ्यांक छ ।

त्यसो त वायुसेवा निगमले तीनवटा ट्वीनअटर खरिद गर्न प्रस्ताव माग गरेको भए पनि त्यसलाई टुंग्याउन सकेन । दुईवटा एटीआर भाडा ल्याएर उडान गर्ने योजना सरकारसमक्ष पेश गरेको भए पनि सो अनुसार काम भने गर्न सकेन ।

निगमसँग भएका अन्तर्राष्ट्रिय उडनाका ४ जहाज भने शनिबारदेखि नियमित उडानमा छन् । अन्तर्राष्ट्रिय उडानका जहाज पनि पछिल्लो साता एकैपटक तीन वटा ग्राउण्डेड हुँदा भएको उडान व्यवस्थपानको समस्या आइतबारदेखि समाधान भएर उडान नियमित भएको छ ।