दुर्लभ खनिजमा चीनको एकाधिकार तोड्न युक्रेनमा ट्रम्पको आँखा

युक्रेनसँग के-के छन् दुर्लभ खनिज, केका लागि हुन्छ प्रयोग ?

2.2k
Shares

एजेन्सी । अमेरिका र युक्रेनले खनिज सम्झौतामा सहमति जनाएका छन् । युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले दुई देश सम्झौताको शर्तमा सहमत भएको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

ति अधिकारीले दुई देशबीच भएको सम्झौताको विस्तृत विवरण भने दिन सकेनन् । दुवै देश सम्झौतामा महत्त्वपूर्ण संशोधन गर्न सहमत भएको उनको भनाइ छ ।

मिडिया रिपोर्टहरूका अनुसार अमेरिकाले युक्रेनका खनिजहरू प्रयोग गरेर ५०० अर्ब डलर आम्दानी गर्ने प्रारम्भिक शर्तलाई हटाएको छ ।

सम्झौताको गर्दा पनि अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी नदिएको जनाइएको छ । सम्झौताका लागि युक्रेनको यो प्रमुख शर्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेनोस्की यस हप्ता वाशिंगटनमा यो सम्झौतामा हस्ताक्षर गर्न आउन सक्ने बताएका छन् । यसअघि दुवै नेताले एकअर्काबिरूद्ध कडा अभिव्यक्ति दिएका थिए ।

युक्रेनका राष्ट्रपति जेलेनस्कीले ट्रम्पको खनिज सम्झौताका प्रस्तावलाई ‘आफ्नो देश बेच्न सक्दैनौं’ भनेका थिए ।

युक्रेनसँग के छ ?

युक्रेनसँग दुर्लभ खनिजहरूको ठूलो भण्डार छ । ती खनिजहरू भएका केही क्षेत्रहरू अहिले रूसको कब्जामा छन् । १० फेब्रुअरीमा फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘मैले उनीहरूलाई भनेको थिएँ कि हामीलाई ५०० अर्ब डलरका दुर्लभ पृथ्वी खनिजहरू चाहिन्छ र उनीहरूले त्यसका लागि लगभग सहमति जनाएका छन् ।’

यस अन्तर्वार्तापछि जेलोनस्कीले भनेका थिए, ‘यो कुनै गम्भीर वार्ता थिएन । म मेरो देश बेच्न सक्दिनँ ।’

ट्रम्पले रूससँगको युद्धको क्रममा बाइडन प्रशासनले युक्रेनलाई अर्बौं डलरको सहायता दिएको भन्दै अमेरिकालाई आफ्ना दुर्लभ पृथ्वी खनिजहरू प्रयोग गर्न दिन भनेका थिए ।

ट्रम्पले मंगलबार अमेरिकाले यु्क्रेनलाई अहिलेसम्म ३०० देखि ५०० अर्ब डलरको सहायता दिइसकेको बताएका थिए ।

अमेरिकाले जेलेनोस्कीलाई तानाशाह भनेका थिए र युद्ध सुरु गर्नको लागि रूसलाई नभइ युक्रेनलाई दोषी ठहराएका थिए ।

यो खनिज सम्झौताले रूसविरुद्ध युक्रेनलाई अमेरिकाको समर्थन निरन्तर रहने महत्त्वपूर्ण शर्तको रूपमा हेरिएको छ ।

यो सम्झौता रूससँग युक्रेनको युद्धविरामको पहिलो कदम हुने ट्रम्प प्रशासनको विश्वास छ ।

मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका खनिजहरूमा अमेरिकाको पहुँचलाई अवरोध नगर्ने जनाएका थिए।

यसमा ती क्षेत्रका खनिजहरू पनि समावेश छन्, जुन रूसले कब्जा गरेको छ ।

अमेरिकाले यस सम्झौतामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी नदिएको भए पनि यसपछि युद्धविरामको प्रयासहरू तीव्र हुन सक्ने विश्वास गरिएको छ । ट्रम्प युक्रेनका खनिजहरू हासिल गर्न किन यति जोड दिइरहेका छन्? भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।

ट्रम्पको ध्यान युक्रेनका ती दुर्लभ पृथ्वी खनिजहरूको भण्डारणमा छ जसलाई इलेक्ट्रिक कारदेखि आधुनिक हतियार र सैन्य सामाग्री बनाउन प्रयोग गरिन्छ ।

दुर्लभ पृथ्वी खनिजहरूको वैश्विक आपूर्ति हाल चीनको नियन्त्रणमा छ ।

संभवत: चीनलाई रोक्नको लागि ट्रम्प दुर्लभ पृथ्वी खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सा बढाउने प्रयास गर्दैछन् ।

पछिल्लो केही दशकहरूमा चीन दुर्लभ पृथ्वी खनिजहरूको खनन र प्रशोधनमा सबैभन्दा ठूलो देश बनेको छ । यी खनिजहरूको वैश्विक उत्पादनको ६० देखि ७० प्रतिशत हिस्सेदारी उसकै कब्जामा छ । प्रशोधन क्षमतामा पनि ९० प्रतिशत हिस्सेदारी चीनको छ ।

दुर्लभ पृथ्वी खनिजहरूको लागि चीनमा अमेरिकी निर्भरता ट्रम्प प्रशासनको लागि चिन्ताको विषय हो । यसले आर्थिक र सैन्य मोर्चामा चीनसँगको प्रतिस्पर्धामा अमेरिकालाई कमजोर बनाउन सक्छ ।

भूवैज्ञानिक लगानी समूहका अनुसार चीनले विश्वका ७५ प्रतिशत दुर्लभ पृथ्वी खनिज स्रोतहरू नियन्त्रण गर्छ ।

डिसेम्बर महिनामा चीनले केही दुर्लभ पृथ्वी खनिजहरूको अमेरिका निर्यातमा प्रतिबन्ध लगायो । त्यसअघि पनि अघिल्लो वर्ष अमेरिकामा खनिज निर्यात सीमित गरेको थियो।

युक्रेनसँग ३० खनिजहरू मध्ये २१ को भण्डार छ । जसलाई युरोपियन युनियनले ‘अत्यन्त महत्त्वपूर्ण कच्चा पदार्थ’ भनेको छ ।
युक्रेनसँग ती खनिजहरूको भण्डार विश्वभरका दुर्लभ पृथ्वी खनिजहरूको रिजर्भको ५ प्रतिशत छ।

युक्रेनका दुर्लभ पृथ्वी खनिजहरूको अधिकांश भण्डार क्रिस्टलिन शिल्डको दक्षिण क्षेत्रमा छन् । यो इलाका आजोव सागरको दायरामा पर्छ । यहाँका अधिकांश क्षेत्रहरू अहिले रूसको कब्जामा छन् ।

हाल युक्रेनसँग ग्रेफाइटको १.९० करोड टनको भण्डार छ । यसको प्रयोग इलेक्ट्रिक वाहन बनाउनमा हुन्छ ।

युक्रेनसँग इलेक्ट्रिक वाहनका लागि प्रयोग हुने ब्याट्रीहरू बनाउनका लागि आवश्यक लिथियमको पनि भण्डार छ । युरोपमा लिथियमको ठूलो भण्डारको तेस्रो हिस्सा युक्रेनसँग छ।

रूसको आक्रमण भन्दा पहिले युक्रेनले विश्वको ७ प्रतिशत टाइटेनियम उत्पादन गर्थ्यो । यसको प्रयोग विमानहरूदेखि पावर स्टेशन निर्माणमा हुन्छ ।

युक्रेनका दुर्लभ पृथ्वी खनिजहरूको केही भण्डारमा रूसले कब्जा गरिसकेको छ । युक्रेनका आर्थिक मामिला मन्त्री यूलिया स्विरिदेकोका अनुसार लगभग ३५० अर्ब डलरका खनिज स्रोतहरूमा रूसको कब्जा छ । दुर्लभ पृथ्वी रासायनिक रूपमा १७ समान तत्वहरूको सामूहिक नाम हो जसको प्रयोग आधुनिक प्रविधि र उद्योगहरूमा हुन्छ ।

सन् २०२२ मा क्यानडामा आधारित भू-राजनीतिक जोखिम परामर्श संस्था सेकडेभले गरेको मूल्यांकनअनुसार रुसले युक्रेनका ६३ प्रतिशत कोइला खानीहरू तथा आधा भाग म्यागजिन, सिजियम, टेन्टलम र दुर्लभ पृथ्वी खनिजहरूको नियन्त्रण लिएको थियो ।

सेकडेभका प्रमुख डा. रोबर्ट मग्गाह यस्ता खनिजहरूले रुसको निरन्तर आक्रामकतामा ‘रणनीतिक र आर्थिक आयाम’ थप्छन्। ‘तिनीहरू नियन्त्रणमा लिएर मस्कोले युक्रेनलाई राजस्वबाट वञ्चित गर्छ । आफ्नै स्रोत आधार विस्तार गर्छ र विश्व आपूर्ति शृङ्खलामा प्रभाव पार्छ,’ उनी भन्छन् ।

महत्वपूर्ण खनिजहरू ‘२१औँ शताब्दीको अर्थतन्त्रको आधार हुन्,’ डा. मग्गाहले व्याख्या गरे । ती नवीकरणीय ऊर्जा, सैन्य प्रयोजनहरू र औद्योगिक पूर्वाधारका लागि महत्वपूर्ण छन् र भू-राजनीति तथा भू-अर्थशास्त्रमा बढ्दो रणनीतिक भूमिका खेल्छन्,’ उनले भने।

स्मार्टफोन, कम्प्युटर, चिकित्सा उपकरणहरू लगायतका धेरै चिजहरू बनाउन र प्रविधिहरूमा यसको प्रयोग हुन्छ।

दुर्लभ पृथ्वी खनिजहरूमा स्क्यान्डियम, यिट्रियम, लेन्थानम, सेरियम, प्रेसिडोनियम, नियोडाइमियम, प्रोमेथियम, सैमेरियम, यूरोपियम, गैडोलिनियम, टर्बियम, डायसप्रोसियम, होलमियम, एरबियम, थुलियम र ल्युटेटियम समावेश छन् ।

यी खनिजहरूलाई ‘दुर्लभ’ भनिन्छ किनकि शुद्ध रूपमा भेट्नु लगभग दुर्लभ हुन्छ । यद्यपि, विश्वभरि यी खनिजहरूको केही भण्डारहरू छन् ।

दुर्लभ पृथ्वी खनिजहरू प्रायः थोरेयिम र यूरेनियम जस्ता रेडियोधर्मी तत्वहरूसँग पाइन्छन् । तर, तिनीहरूलाई अलग गर्नका लागि धेरै विषाक्त रसायनहरूको आवश्यकता पर्छ । त्यसकारण, तिनीहरूको प्रशोधन अत्यन्त गाह्रो र महँगो बनिदिन्छ।

केही टिप्पणीकर्ताहरूले अमेरिकी प्रस्तावलाई ‘औपनिवेशिक’ भनेर व्याख्या गरेका छन् । तर किभले आफ्ना स्रोतहरूको संयुक्त अन्वेषणमा रुचि राखिरहेको छ ।

विश्व आर्थिक मञ्चका अनुसार युक्रेनमा २० हजार खनिज भण्डारहरू छन् । जसमा ११६ प्रकारका खनिजहरू समेटिएका छन् । तर, सन् २०२२ मा रुसको पूर्ण आक्रमण हुनुअघि मात्र १५ प्रतिशत खनिज साइटहरूको सक्रिय रूपमा दोहन भइरहेको थियो।

उदाहरणका लागि युक्रेनमा प्रशस्त लिथियम भण्डार भए पनि ती अहिलेसम्म प्रायः प्रयोगमा आएका छैनन् । दुर्लभ पृथ्वी खनिज भण्डारहरू रहेको थाहा भए पनि लगानी अभावका कारण अहिलेसम्म तिनीहरूको उत्खनन गरिएको छैन ।

युक्रेनमा आधारित खनिज परामर्श संस्था जियोलोजिकल इन्भेस्टमेन्ट ग्रुपकी प्रमुख कार्यकारी इरिना सुप्रुनका अनुसार यी खनिज स्रोतहरूको विकास गर्न अत्यन्तै कठिन र महँगो छ ।

यदि युक्रेनले अमेरिकी लगानीकर्ताहरूलाई आफ्ना प्राकृतिक स्रोतहरू विकास गर्न आकर्षित गर्न सक्यो भने यसले देशको अर्थतन्त्रलाई ठूलो फाइदा पुर्‍याउने उनको तर्क छ ।

‘हामीले हाम्रो खनिज उद्योगमा निकै कमी भएका प्रविधिहरू प्राप्त गर्नेछौं,’ सुप्रुनले भनिन्, ‘हामीले पुँजी पाउनेछौं, जसले रोजगारी बढाउनेछ कर तिर्नेहरू बढ्नेछन् र खनिज भण्डारको विकासबाट राजस्व प्राप्त हुनेछ ।’