करियर ग्रोथमा अवसर देख्ने कर्मचारीको हिस्सा ७७.०५ प्रतिशतबाट घटेर ६८.२४ प्रतिशत कामय भएको छ भने काम र करियरप्रति असुरक्षित महशुस गर्ने कर्मचारीको हिस्सा बढेको छ ।

काठमाडौं । सन्तुष्टि, सुविधाबाट पाउने उत्प्रेरणा नै बैंकमा काम गर्नेहरुलाई यस क्षेत्रमा अड्याउने र बैंकको जागिर गर्न चाहनेले देख्ने अवसर हो । १०-५ को जागिर, महिना बित्नेवित्तिकै खातामा तलब, वर्षान्त र वार्षिक साधारणसभामा पाइने बोनस, कर्पोरेट कार्यस्थल, टाइसुट लगाएर टक्क सवारीसाधन चढेर जागिर खान जान पाइन्छ भनेर सोच्नेहरु समाजमा धेरै छन् ।
पढेलेखेका तथा जान्नेबुझ्ने सिनियर तथा सुपरभाइजर, विश्वासको वातावरण, पारदर्शी कार्यले चित्ताकर्षक करियर हुन्छ भने सोच बनाउनेहरुलाई पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको नैराश्यताले खिन्न बनाउन सक्छ ।
बितेका ५ वर्षमा बैंकका कर्मचारीले भोगेको कार्यस्थलको वातावरण र बाह्य प्रहारले बैंकको जागिर नै आकर्षक करियरको सूचीबाट हट्ला कि भन्ने डर पैदा हुन थालेको छ । केही बैंकले कर्मचारीलाई रातिको ८ बजेसम्म राख्ने तथा अतिरिक्त टार्गेट दिएर जसरी पनि पुरा गर्नैपर्ने नत्र जागिरै जानेसम्मको स्थिति बनाउने गरेको घटना पछिल्लो समय बाहिर आइरहेका छन् ।
सिनियरहरुबाट हप्कीदप्की आउने त छँदैछ, त्यसमाथि बाह्य तत्वबाट निरन्तर प्रहार हुने जोखिम पनि उत्तिकै छ । विधि र प्रक्रिया पुगेर गरिएको कारबाहीमा पनि अराजकता मच्चाएर बैंकमाथि प्रहार हुँदा पहिलो चोट पनि फ्रन्टलाइनका कर्मचारी नै चोट भोग्ने गरेका छन् ।

यी र यस्तै घटनाले बैंकमा करियर देख्नेहरु घटेका हुन् । विशेष गरी कर्मचारीहरुले दिएको प्रतिक्रियाको आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ कि, अब बैंकको जागिरमा कुनै चार्म रहेन । यो तथ्यले बैंकमा हाल कार्यरत कर्मचारीको असन्तुष्टि त प्रकट गर्छ नै, बैंकमा काम गर्न चाहनेका लागि पनि दुईपल्ट सोच्नुपर्ने स्थिति पैदा गरिदिएको छ ।
क्लिकमान्डुलाई प्राप्त एक अध्ययन प्रतिवेदनमा सन् २०२२ र २०२४ मा कर्मचारीले बैंकको करियरबारे कस्तो महशुस गर्छन् भन्ने पुष्टि गर्ने केही तथ्य छन् । ती तथ्यले २ वर्षको तुलनामा व्यवस्थापन पक्ष, कार्यस्थल, तालीमका अवसर, सेवा सुविधा र वातावरण झन् खस्किएको प्रमाण दिन्छन् ।
बैंकका कर्मचारीहरुले दिएको प्रतिक्रिया अनुसार यी सबै सूचकांक निकै खस्किएका छन् ।
सर्वप्रथम कुरा गरौं, आफ्ना सिनियर तथा सुपरभाइजरप्रति कर्मचारीको दृष्टिकोणको ।
सन् २०२४ मा १३.२५ प्रतिशतमात्रै बैंकका जागिरेले आफ्नो सुपरभाइजरको द्वन्द्व व्यवस्थापन र कम्युनिकेसन सिप धेरै राम्रो छ भन्ने प्रतिक्रिया दिएका छन् । राम्रै छ भन्नेको हिस्सा ३८ प्रतिशत छ भने साह्रै कमजोर छ भन्ने प्रतिक्रिया दिनेहरु ५.२० प्रतिशत छन् ।
जबकि, सन् २०२२ मा धेरै राम्रो छ भन्नेको हिस्सा १५.३९ प्रतिशत थियो भने राम्रै छ भन्नेहरु पनि ४१.२४ प्रतिशत थिए । कमजोर छ भन्नेहरु ३.९४ प्रतिशत रहेकामा कमजोर भन्नेको अंश १.२६ प्रतिशत बिन्दुले बढेको हो ।
२ वर्षको अवधिमा सुपरभाइजरले आफू विश्वास गर्छन् भन्ने कर्मचारी पनि निकै घटेका छन् । धेरै राम्ररी र राम्ररी विश्वास गर्छन् भन्ने कर्मचारीको अंश क्रमशः २०.६१ प्रतिशतबाट घटेर १७.३२ प्रतिशत र ३९.८४ प्रतिशतबाट ३७.८३ प्रतिशत कायम भएको छ।
सुपरभाइजरको नेतृत्व क्षमता धेरै राम्रो छ भन्नेहरु पनि घटेका छन् । सन् २०२२ मा १९.८४ प्रतिशत कर्मचारीले आफ्नो सुपरभाइजरको नेतृत्व क्षमता धेरै राम्रो छ भन्थे । सन् २०२४ मा धेरै राम्रो छ भन्ने कर्मचारीहरु १७.५१ प्रतिशतमात्र छन् भने राम्रो छ भन्नेहरु ३५.७१ प्रतिशतबाट घटेर ३३.६४ प्रतिशतमा झरेका छन् । अर्कातर्फ कमजोर र निकै कमजोर छ भन्नेहरु बढेका छन्।
सुपरभाइजरहरुले बैंकका कर्मचारीलाई सुन्न पनि छाडेका छन् । सन् २०२२ मा ६५.१ प्रतिशत कर्मचारीले आफ्ना सुपरभाइजरले आफूलाई सुन्ने गरेको बताएका थिए भने २०२४ मा ६३.२३ प्रतिशत कर्मचारीले मात्र आफ्ना सुपरभाइजरले आफूलाई सुन्ने गरेको प्रतिक्रिया दिएका छन् ।
यसैगरी सुपरभाइजर कर्मचारीको कार्यभारबारे जानकार छन् भन्नेहरु पनि निकै घटेका छन् ।
सन् २०२४ मा ५७.६३ प्रतिशतले मात्र सुपरभाइजर आफ्नो कार्यभारबारे जानकार रहेको विषयमा सहमती जनाएका छन् । सन् २०२२ मा ६०.७९ प्रतिशतले यसमा सहमती जनाएका थिए ।

सुपरभाइजरले आफ्नो कामबारे पर्याप्त जानकारी गराउने, आफ्नो करियर राम्रो बनाउन सहयोग गर्ने, फिडब्याक दिने विषयमा विश्वास राख्नेको संख्या पनि निकै घटेको छ । त्यसमाथि सुपरभाइजर बुज्जकी छन् भन्ने विश्वास गर्नेको संख्या पनि घटेको छ । ठीक विपरित सुपरभाइजरको यी क्षमता निकै कमजोर छ भन्ने प्रतिक्रिया दिनेहरु बढेका छन् ।
कर्मचारीहरूले उनीहरूका सुपरभाइजरले व्यवसायिक विकासमा ध्यान दिन्छन्, नियमित प्रतिक्रिया दिन्छन्, राम्रोसँग काम गर्न मद्दत गर्छन्, र उनीहरूको विचारलाई महत्व दिन्छन् भन्ने महशुस कम गर्न थालेका छन् ।
तर, २०२२ को तुलनामा सुपरभाइजरहरूले व्यवसायिक विकासमा दिने सहयोग, उनीहरूका कर्मचारीहरूसँगको संवाद र बुज्जकीपन तथा नियमित प्रतिक्रिया दिने क्रम कम भएको देखिएको छ । यसलाई चिन्ताको विषयका रुपमा हेरिएको छ ।
दोस्रो नम्बरमा कुरा गरौं कार्यसन्तुष्टीबारे ।
आफ्नो काममा रमाउनेको संख्या २ वर्षमा ह्वात्तै घट्दा आगामी २ वर्षसम्म वर्तमान कार्यस्थलमै रहन्छु भन्नेहरु पनि निकै कम भएका छन् ।
सन् २०२२ मा २७ प्रतिशत कर्मचारीले आफ्नो काममा निकै रमाउने गरेको प्रतिक्रिया दिएका थिए भने ५०.८५ प्रतिशतले ठीकै रमाउने बताएका थिए । सन् २०२४ मा यस्तो कर्मचारीहरु २२.२६ र ४९.८६ प्रतिशतमात्र छन् । ठीक विपरित काममा नरमाउनेहरु २.०७ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको हो ।
२ वर्षपछि पनि यही कार्यस्थलमा रहन्छु भन्नेहरु २४.५७ प्रतिशतबाट घटेर २३.१० प्रतिशत पुगेका छन् । रहन्नँ भन्नेहरु बढेर ६.६१ प्रतिशतबाट ७.०४ प्रतिशत कायम भएका छन् ।
यस अवधिमा आफ्नो भुमिका र कामको लोडमा खुसी हुनेहरु, आफ्नो योगदानको कदर भएको विश्वास गर्नेहरु र आफ्नो कामले बैंकको व्यावसायिक लक्ष्य हासिल हुन सघाउँछ भनेर ढुक्क हुनेहरु पनि घटेका छन् ।
सन् २०२२ को तुलनामा, कामको भार र जिम्मेवारी प्रति सन्तुष्टि कम भएको देखिएको छ । आफ्नो योगदानको उचित मूल्यांकन र पुरस्कार पाइरहेको भन्नेमा सहमत हुने कर्मचारीहरूको संख्या पनि उल्लेखनीय रूपमा घटेको छ । यसले कर्मचारीहरूको उत्साह र मनोबल उच्च राख्नको लागि पहिचान र पुरस्कार प्रणालीलाई सुधार गर्नु आवश्यक रहेको संकेत गर्दछ ।
करियर ग्रोथमा अवसर देख्ने कर्मचारीको हिस्सा ७७.०५ प्रतिशतबाट घटेर ६८.२४ प्रतिशत कामय भएको छ भने काम र करियरप्रति असुरक्षित महशुस गर्ने कर्मचारीको हिस्सा बढेको छ ।

आफूहरुले तालीमको पर्याप्त अवसर पाएको छु र यस्ता तालीमले आफ्नो कार्य दक्षता बढाएको भन्ने कर्मचारीहरुको विश्वास भने कम भएको छैन । तर, करियर राम्रो बनाउन सहयोग गरेको छ भन्ने विश्वास चाहीँ घटेको छ ।
यसैगरी तलबमा पूर्णरुपमा सन्तुष्ट हुने कर्मचारीको मात्रा पनि घटेको छ । असन्तुष्ट कर्मचारीको हिस्सा निकै बढेको छ । अन्य सेवा सुविधाप्रतिको सन्तुष्टि पनि घटेको छ भने असन्तुष्टि आकासिएको छ ।
उनीहरुले करियर सुधार्न जागिर नै फेर्नुपर्ने विषयमालाई मुल कारण मानेका छन् । तर, जागिर छाड्नु पर्ने मुल कारण सेवासुविधा, कार्यकक्ष र बैंकको प्रतिष्ठा हो भन्नेहरु बढेका छन् ।
तेस्रो नम्बरमा कुरा गरौं, कार्यस्थल र वातावरणबारे ।
काममा समान व्यवहार हुन्छ भन्ने विश्वास गर्नेहरु समेत घटेका छन् । सन् २०२२ मा २१.३३ प्रतिशत कर्मचारी समान व्यवहार हुन्छ भन्ने अत्यधिक विश्वास गर्थे । सन् २०२४ मा घटेर १७.१२ प्रतिशत कायम भएको छ ।
बैंकमा स्वास्थ्य र सुरक्षा प्रोटोकल कायम भएको ढुक्क हुनेहरु घटेका छन् भने सामान्य विश्वास गर्नेहरु पनि कम भएका छन् ।
यसैगरी १७.६७ प्रतिशतले मात्र बैंकले आफ्नो कामका लागि पर्याप्त स्रोत र साम्राग्री दिने गरेको बताएका छन् । सन् २०२२ मा २०.०६ प्रतिशत कर्मचारीले यस्तो विश्वास गरेका थिए ।
कर्मचारीहरुले आफ्नो आइडियाले बैंकको विभाग र बैंकमै महत्त्व पाउने क्रम घटेको बताएका छन्।
यसरी कर्मचारीहरुले आफ्नो बैंकलाई काम गर्न सबैभन्दा राम्रो ठाउँ हो भन्ने क्रम घटेको पुष्टि गर्दछ । यो तर्कमा सन् २०२२ मा १९.५७ प्रतिशतले हदैसम्म विश्वास गर्थे भने २९.५८ प्रतिशतले ठीक्क विश्वास गर्थे तर २०२४ मा घटेर क्रमशः १५.३ र २८.४ प्रतिशत कायम भएको छ ।
अन्त्यमा कुरा गरौं, कर्मचारीहरुले आफ्नो पारिवारिक र सामाजिक जीवन राम्रो बनाउन बैंकको भुमिकालाई कसरी लिन्छन् भन्ने बारे ।
बैंकका कर्मचारीहरुले २ वर्षको अवधिमा परिवार आफन्तसँग नियमित भेट्न पाउने क्रम घटेको प्रतिक्रिया दिएका छन् । यसैगरी पारिवारिक र सामाजिक कार्यक्रममा सहभागी हुन बिदा पाउन पनि कम भएको छ ।
यता महामारी र आपतका बेला बैंक सहयोगी छ भनेर विश्वास गर्ने संख्या पनि घटेको छ ।
यसरी बैंकमा काम गर्नाले परिवार र सामाजिक जीवनमा सन्तुलन बिग्रिएको विश्वास गर्नेहरु बढेका हुन् । बैंकले आफ्नो मनोवैज्ञानिक र मानसिक स्वास्थ्यमा ख्याल गर्छ भन्नेमा कर्मचारीहरुको विश्वास पनि कम भएको छ ।
प्रतिक्रिया