
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र ‘एस केवलकार र नो केवलकार’ का कारण एक महिनादेखि अशान्त छ ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङ बिहीबार ताप्लेजुङको माथिल्लो फेदीमा पुगेपछि त्यहाँको स्थिति थप तनावग्रस्त भएको सुरक्षा निकायको भनाइ छ ।
आन्दोलनमा महतो र चेम्जोङसहित जिल्ला बाहिरका अन्य राजनीतिक तथा विभिन्न संघ संस्था नेतृत्वको उपस्थितिलाई ताप्लेजुङको सुरक्षा निकायले अर्थपूर्ण रुपले हेरेको छ ।
बिहीबार महतो र चेम्जोङले आन्दोलनरत ‘नो केवलकार समूह’लाई माथिल्लो फेदीमा सम्बोधन गर्दै केबलकारको बिरोधमा उक्साएपछि स्थिति झन् तनावपूर्ण बनेको ताप्लेजुङका एक उच्च सुरक्षा अधिकारीले बताए ।
महतो र चेम्जोङको उक्साहट लगत्तै आन्दोलनरत पक्ष केबलकार निर्माणस्थल तल्लोफेदी/काफ्लेपाटीदेखि करिब एक किलोमिटर पूर्वदक्षिण डडेलेमा पुगेर सुरक्षाकर्मीमाथि खनिएका थिए । आन्दोलनकारी निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले उनीहरुलाई रोक्न खोजे । त्यसपछि प्रदर्शनकारीले सुरक्षा निकायमाथि ढुंगामुढा गर्न थाले । ढुंगामुढापछि प्रहरीले अस्रुग्यास प्रहार गरेको थियो ।
त्यसक्रममा ११ जना सुरक्षाकर्मी र एक प्रर्दशनकारी घाइते भए । घाइतेको उद्धार गर्न सदरमुकाम फुङलिङवाट गएको गाडीलाई प्रर्दशनकारीले बाटैमा तोडफोड गरेर त्यसका चालक राजकुमार पौडेललाई कुटपिटसमेत गरेको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ ।
आज पनि आन्दोलन
आज पनि उक्त क्षेत्रमा तनावको अवस्था रहेको छ । केबलकारको पहिलो स्टेसन निर्माणस्थलसहित तल्लोफेदी र बालुडाँडा क्षेत्र तनावग्रस्त रहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले क्लिकमान्डुलाई जानकारी दिए ।
प्रदर्शनकारीले बालुडाँडामा रहेका सुरक्षा निकायलाई खानेपानीको व्यवस्था गर्न ल्याइएको पाइपको लाइन काटिदिएका छन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सुरक्षा निकायले प्रयोग गर्ने खानेपानीको पाइप प्रदर्शनकारीले काटिदिएको जानकारी दिए ।
मधेशबाट हिमाल चढेका महतो
मधेश केन्द्रित राजनीति गर्दै आएका राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमै छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा हिँउमा लौरो टेकेको फोटो राख्दै लेखेका थिए,’मुक्कुम्लुङ बचाउन हाम्रो पदयात्रा।’

महतो बिहीबार साँझ माथिल्लो फेदीबाट झरेर तल्लोफेदी काफ्लेपाटीमा रहेको थापा होटलमा बास बसेका थिए ।
उनलाई शुक्रबार केबलकार बन्नुपर्छ भन्ने पक्षले होटलबाट बाहिर निस्किएर सदरमुकाम फुङलिङ जान दिएको छैन ।
महतोलाई फुङलिङ जान नदिन ‘एस केवलकार’ पक्षका युवाहरु सुकेटारदेखि काफ्लेपाटी बीचको सडक खण्डमा रहेका छन् भने नो केबलकार पक्षका प्रर्दशनकारी बालुडाँडा र आसपासमा रहेका छन् ।
चेम्जोङ भने बिहीबार राति सदरमुकाम फुङलिङ पुगेको सुरक्षा स्रोतको भनाइ छ ।
प्रर्दशनकारीले गाडी चालक पौडेललाई कुटपिट गरेको विरोधमा शुक्रबार सुकेटारदेखि काफ्लेपाटी सम्मको यातायात बन्द छ ।
यसअघि गत माघ १२ गते केवलकारको पहिलो स्टेशन निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीदेखि करिव एक किलोमिटर पूर्वदक्षिण डडेलेमा निर्माणकार्य सुरु गरेलगत्तै आन्दोलनरत पक्ष र सुरक्षाकर्मी बीच निर्माण स्थलभन्दा करिव दुई किलोमिटर माथि बालुडाँडामा झडप हुँदा आन्दोलनरत पक्षका ५ र सुरक्षाकर्मी १३ जना घाइते भएका थिए ।
त्यसक्रममा पाँचथरका १७ वर्षिय सगुन लावती र तेह्रथुमका ३७ वर्षिय यामवहादुर लिम्बुलाई सुरक्षाकर्मीको गोली लागेको थियो । उनीहरु घाइते भएसँगै आन्दोलनको नेतृत्व र अग्रपंक्ति ताप्लेजुङ बाहिरका प्रर्दशनकारीले सम्हालेको पुष्टि भएको थियो ।
पाथीभरा मन्दिरसम्म सहज रुपमा पुग्न केलबकार निर्माणका लागि राज्यले अनुमति दिइसकेको छ । त्यसैक्रममा केबलकारको पहिलो स्टेशन निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्ट्रक्सनले काफ्लेपाटीदेखि करिब एक किलोमिटर पूर्वदक्षिण डडेलेमा निर्माण कार्यसुरु गरेलगत्तै नो केवलकार समूहले प्रतिवाद गर्दा ताप्लेजुङ असान्त बन्दै आएको हो ।
स्थानीय केबलकारको पक्षमा, आन्दोलनकारी टुरिष्ट !
पाथीभरामा केबलकार बनाउनु पर्ने पक्षमा स्थानीय, राजनीतिक दल, व्यवसायी रहेका छन् भने ‘नो केबलकार’ पक्षको नेतृत्व केही स्थानीय बाहेक अधिकांश बाहिरका (टुरिष्ट) आन्दोलनकारीले गरेको पाइएको सुरक्षा स्रोतको भनाइ छ । त्यसमा केबलकार निर्माणका लागि अनुमति दिने फुङलिङ नगरपालिकाका तत्कालीन नगरसभा सदस्य डम्बरबहादुर पालुवादेखि सरकारी निकायको नेतृत्वमा रहेका व्यक्ति समेत रहेका पाइएको छ ।
पाथीभरा मुक्कुमलुङ लिम्बु समुदायको मुन्धुमीस्थल भएकाले केबलकार निर्माण गरेर त्यसको अस्तित्व मेटन नहुने भन्दै त्यसलाई यथावत अवस्थामा राख्नु पर्ने माग गर्दै नो केबलकार मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समिति सहित पहिचावादी पक्षले आन्दोलन गर्दै आएको छ ।
नो केवलकार समूहको नेतृत्व सरकारी निकाय कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषदका अध्यक्ष तथा पाथीभरा केवलकार खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका राम मादेन, किराँत यक्थुङ चुम्लुङका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम याक्तेन, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका नेता एवं पूर्वमन्त्री रकम चेम्जोङ, प्रदेश १ पुन नामाकरण अभियानका संयोजक डकेन्द्रसिंह थेगिम, मुक्कुम्लुङ सयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, किराँत याक्थुङ चुम्लुङ संघीय समितिका प्रेम यक्तेन, नेपाल आदीवासी जनजाती महासंघका अध्यक्ष गोल्जे शेर्पा, राष्ट्रिय आदीवासी जनजाती महासंघका डिमी शेर्पा, याक्थुङ युवा मञ्चका राजेन्द्र इघिङगो, याक्थुङ चोम्जुङ सङजुम्भोका किरणकुमार सिंगु, याक्थुङ मन्चइत चोकसयङका सागर केरुङ र लिम्बु विद्यार्थी मञ्चका प्रदिप नेयोङ र लिम्बु थरगत संस्था याक्युङ सयङ सहजीकण समूहका संयोजक नन्द कन्दङवा गरेका छन् । उनीहरु मध्ये श्रीप्रसाद लिम्बु र खगेन्द्र फेम्बु ताप्लेजुङवासी हुन् ।
‘दुई जनाबाहेक केबलकार बन्न हुँदैन भनेर प्रदर्शन गरिरहेका अन्य सबै टुरिष्ट आन्दोलनकारी हुन्,’ ताप्लेजुङका एक उच्च अधिकारीले भने,’त्यहाँ व्यापार व्यवसाय गर्ने र अरुले केबलकार चाहिन्छ, बन्नुपर्छ भन्नु भएको छ तर बाहिरकालाई ठूलो चिन्ता छ । पहिला घाइते भएको घटनामा पनि ताप्लेजुङभन्दा बाहिरका थिए ।’
त्यसैगरी नो केवलकार समूहमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन (मिराक), पहिचानवादी मोर्चाका संयोजक प्राडा महेन्द्र लावती, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका सचिव सन्जय राई, जसपा सम्बद्ध किराँत राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष धनबहादुर पन्धक, नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवाङ, मंगल नेशनल अर्गनाइजेशनका नयन्द्र चाम्लिङ र किराँत लिम्बुवान प्रदेश समितिका अध्यक्ष गजेन्द्र पालुङवाले ऐक्यबद्धता जनाएका छन् । उनीहरु सबै ताप्लेजुङ बाहिरका हुन् ।
केवलकार निर्माण क्षेत्रमा भइरहेको नो केवलकार आन्दोलनमा १० प्रतिशत पनि ताप्लेजुङवासी र स्थानीय राजनीतिक दलको सहभागीता नरहेको विश्लेषण सुरक्षा निकायको छ । ‘जिल्लाका लागि केबलकार चाहिएको छ । यहाँ केबलकार बन्न हुँदैन भनेर जिल्लाका १० प्रशितश मान्छे पनि छैनन् । तर बाहिरकाले उत्पातै हुन लाग्यो भन्दै कोकोहोलो मच्चाइरहेका छन्, यसमा केही अन्य राजनीतिक स्वार्थ हुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया