
ताप्लेजुङ । पाथीभरा देवीको विगत २५ वर्षदेखि पूजाआजा गर्दै आएका प्रमुख पुजारी डिल्ली आचार्य ताप्लेजुङमै जन्मिएका भए पनि उनले स्थायी बसोबास भने झापाको दमकमा बनाएका छन् । उनी पाथीभरा मन्दिरमा सुरुवातमा सहयोग गर्न पुगेका आचार्य पुजारीकै रुपमा स्थापित हुन पुगे ।
साढे दुई दशकदेखि पाथीभरा देवीको पूजा गर्दै आएका आचार्यसँग क्लिकमान्डु टीमले भेट गरेर कुराकानी गरेको छ । आचार्यले पाथीभरा देवीको महत्व र सांस्कृतिक सम्पदाको विशेषतालाई वर्णन गरेका छन् । उनले पार्वतीको रुपमा पन्चकन्याकालिका पाथीभरा देवीका रुपमा स्थापित भएको बताउँदै शिवलिङ्ग माथि बसेको र जलधाराको आवश्यकता पर्ने भएकोले यो मन्दिरमा छानो नराखिएको तर्क पेश गरे ।

परापूर्वक कालमा पाथीभरामा कोही पूजाआजा गर्न नजाने तथा पुजारीसमेत नभएको हुँदा छानो नलगाइ खाली राख्ने गरिएको उनले बताए । पार्वतीको पार्थिव शरीर बसेर बनेको पहाड भएको पाथीभरा भनिने किम्बदन्तीलाईसमेत जोडेका छन । पाथीको जस्तै चुली भएकोले पनि यसलाई पाथीभरा भन्ने गरिएको उल्लेख गरे ।
पुजारी आचार्यका अनुसार पाथीभरा मन्दिरको आफ्ने विशेषता भएकोले पनि स्वदेशमात्रै नभएर विदेशसम्म पाथीभराको पहिचान जोडएको पनि उनले बताए । यहाँ आउनुको कारण मागेको इच्छा पूरा हुन्छ भन्ने मान्यता नै प्रमुख भएको बताए । पाथीभरामा आउने भक्तालु तीर्थयात्रीले आफूले मागेको पाइने, विशेषगरी सन्तानप्राप्त नभएकाहरुले सन्तान पाउने, शारीरिक रुपमा कमजोर भएकोको लागि समेत लाभ पाउनेसहतिको विभिन्न विशेषताकी देवीको रुपमा पाथीभरालाई पुज्ने गरिन्छ ।
पाथीभरामा विदेशी नागरिकसहित आउने गरेका छन् ।
स्वदेशमा मात्रै नभएर विदेशीहरुबीचमा पनि परिचित भएकोले पाथीभरामा विभिन्न देशबाट पर्यटक आउने गरेका छन । यहाँ हिन्दूदेखि मुस्लिमसम्मका भक्तजनसमेत आउने गरेका छन् । शनिबार र मंगलबार बढी भिडभाड लाग्ने पाथीभरा देवीको दर्शन गर्ने उपयुक्त सिजन दशैको नवरात्रदेखि तिहारसम्म र फागुनदेखि वैशखसम्म बढी भिड लाग्ने गरेको छ ।

पाथीभरा मन्दिरमा आउने भक्तजनको सेवा सुविधाका लागि बाटो ठूलो बनेको छ भने नियमित मर्मतसंभार हुने गरेको छ । काफ्लेपाटीदेखि पाथीभरासम्म जम्मा करिब साढे ३ किलोमिटरको दुरी मात्रै रहेको धार्मिक स्थलमा आउन सहज सेवा र सुविधाको व्यवस्थासमेत हुँदै गएको छ ।

मन्दिरमा आउँदा उकालो यात्रा तय गर्नुपर्ने र सर्वसाधारण खाली पेटमा आउने भएकोले गाह्रो हुने, विरामी पर्ने गरेका छन् । मन्दिरमा जाँदा खाना खानै नहुने भन्ने मान्यता भएपनि चिसो ठाउँमा भएको, गाह्रो हुने र उकालो चढ्न इनर्जी पनि चाहिने भएकोले पाथीभरा आउँदा केही खाएर आउन मात्रै उनले भक्तजनलाई सुझाव दिएका छन । उनले भने ‘खाली पेटमा भक्तजन नआउनुस् र पूरै पेट भरेर पनि नआउनुस् ।’
भिडियो: रवि धिताल/क्लिकमान्डु
प्रतिक्रिया