
काठमाडौं । सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेसँगै नेपालले ७ वटा सुधार गर्ने राजनीतिक प्रतिवद्धता जनाएको छ ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को शुक्रबार सम्पन्न प्लेनरी बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।
ग्रे लिस्टमा परेको नेपाालले एएमएल/सीएफटी प्रणालीको प्रभावकारिता बलियो बनाउने राजनीतिक प्रतिवद्धता जनाएको एफएटीएफले बताएको छ ।
‘नेपालले आफ्नो सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण प्रणालीको प्रभावकारिता मजबुत बनाउन एफएटीएफ र एपीजीसँग सहकार्य गर्ने उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको छ,’ एफएटीएफले शुक्रबार नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गर्दै भनेको छ, ‘अगस्ट २०२३ मा आफ्नो पारस्पारिक मूल्यांकन प्रतिवेदन स्वीकृत भएपछिको समयमा नेपालले उक्त मूल्याकंनले सिफारिस गरेका केही कार्यहरूमा प्रगति गरेको छ ।’
नेपालले सुपुदर्गी कानुनहरुलाई सहज बनाउने र वित्तीय जानकारी इकाईको क्षमता बढाउने जस्ता कार्यहरु गरेको एफएटीएफले जनाएको छ ।
नेपाल ग्रे लिस्टबाट बाहिर आउन ‘एफएटीएफ’ को एक्सन प्लान अनुसार ७ वटा सुधारका काम गर्नुपर्ने भएको छ ।

१. सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानीको बुझाइमा सुधार ल्याउने ।
२. वाणिज्य बैंकहरू, उच्च जोखिम भएका ठूला सहकारी संस्थाहरू, क्यासिनोहरू र रियल इस्टेटमा जोखिममा आधारित सुपरिवेक्षणमा वृद्धि गर्ने ।
३. हुन्डी लगायत अवैध आर्थिक गतिविधि पहिचान र लक्षित वित्तीय प्रतिवन्ध बढाउने
४.सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायका क्षमता वृद्धि तथा समन्वयमा सुधार गर्ने ।
५. सम्पत्ति शुद्धीकरण अनुसन्धान र अभियोजनमा वृद्धि गर्ने ।
६.जोखिम प्रोफाइलबाट हुने अपराध र त्यसबाट हुने मुनाफा पहिचान, रोकथाम र जफत जस्था कारवाहीलाई बढाउने
७. आतंकवाद र जैविक हतियारमा वित्तीय लगानी गर्नेलाई लक्षित वित्तीय प्रतिबन्ध लगाउनेबारे प्राविधिक अनुपालनमा वृद्धि गर्ने ।
प्रतिक्रिया