पानमा केनलमा चिनियाँ प्रभाव कम गर्न तत्काल कदम चाल्न अमेरिकी विदेशमन्त्रीको चेतावनी


एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले पानामा नहरको व्यवस्थापनमा सुधार ल्याउन चेतावनी दिएका छन् । उनले चीनको प्रभावलाई कम गर्न अमेरिकाले आवश्यक कदम चाल्न सक्ने संकेत दिए।

रुबिओले विदेशमन्त्री भएपछि आफ्नो पहिलो विदेश भ्रमणको क्रममा पानामाका राष्ट्रपति होसे राउल मुलिनोसँग भेटघाट गरे । उक्त भेटमा उनले पानामा नहरको अवस्था निरीक्षण गर्दै अमेरिकाले पानामालाई हस्तान्तरण गरेको नहरमाथि हालको चिनियाँ संलग्नता अस्वीकार्य रहेको धारणा व्यक्त गरेको बीबीसीले जनाएको छ ।

उक्त नहरका प्रमुख बन्दरगाहहरू हङ्कङमा आधारित कम्पनीहरूले सञ्चालन गर्दै आएका छन् । जसले अमेरिकाको चासो बढाएको छ । राष्ट्रपति मुलिनोले नहर पानामाको स्वामित्वमा रहेको र स्वतन्त्र निकायद्वारा सञ्चालित भएकाले कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे । उनले अमेरिकी चासो सम्बोधन गर्न प्राविधिक छलफलको प्रस्ताव राखेका छन् ।

अमेरिकी कूटनीतिज्ञहरूले पानामाले आवश्यक सुधार नगरे अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् । यसअघि, डोनल्ड ट्रम्पले पानामा नहरलाई पुनः अमेरिकी नियन्त्रणमा ल्याउने धारणा राखेका थि ए। रुबिओ र मुलिनोबीचको वार्तापछि दुवैले फरक व्याख्या दिएका छन् । मुलिनोले अमेरिकी सैन्य हस्तक्षेपको सम्भावना अस्वीकार गरे भने रुबिओले अमेरिकी रणनीतिक हितको रक्षा गर्न कुनै विकल्प खुला नरहेको बताए ।

यसैबीच, पानामा ट्रम्पको घोषणाप्रति असन्तोष प्रकट गर्दै प्रदर्शनहरू भइरहेका छन् । पानामा सिटीमा प्रदर्शनकारीहरूले ट्रम्प र रुबिओको पुत्ला जलाएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरी भिड तितरबितर गराएको थियो।

राष्ट्रपति मुलिनोले पानामा नहरको स्वामित्व विवादास्पद विषय नभएको भन्दै यसबारे थप वार्ता गर्न अस्वीकार गरे । उनले भने, ‘यो विषय टुंगिसकेको छ। पानामा नहर पानामाकै हो ।’

ट्रम्पले चीनले नहरमा प्रभाव विस्तार गरेको आरोप लगाए पनि यसको कुनै आधिकारिक प्रमाण प्रस्तुत गरिएको छैन । अमेरिकी पानीजहाजहरूलाई उच्च शुल्क लगाइएको दाबीसमेत गरेका छन् जुन सन्धि अनुसार गैरकानुनी ठहरिन सक्छ ।

पानामा नहर १९९९ देखि पानामाको पूर्ण स्वामित्वमा रहँदै आएको छ । चिनियाँ कम्पनीहरूले नहर नजिकका बन्दरगाहहरूमा ठूलो लगानी गरिरहे पनि नहरको स्वामित्वमा कुनै परिवर्तन भएको छैन । ट्रम्पले सैन्य हस्तक्षेपको सम्भावना अस्वीकार नगरे पनि यसले पानामाली नागरिकहरूलाई थप राष्ट्रवादी बनाइरहेको छ ।

पानामा सिटीकी बासिन्दा मरीले अमेरिकी दाबीलाई ‘हास्यास्पद’ बताउँदै सन्धिलाई सम्मान गर्नुपर्ने धारणा राखिन्। उनले चीनले अमेरिकाभित्र पनि लगानी गरिरहेको तथ्य औंल्याइन् ।

धेरै पानामाली नागरिकले अमेरिकी नियन्त्रणमा रहँदा भोग्नुपरेका कठिनाइहरू सम्झँदै नहरमाथि स्वायत्तता कायम रहनुपर्ने जोड दिएका छन् । १९७९ मा हस्ताक्षर गरिएको सन्धिअनुसार, १९९९ मा नहर पानामालाई हस्तान्तरण गरिएको थियो। मरी भन्छिन्, ‘हामी फेरि अमेरिकी नियन्त्रणमा पर्न चाहँदैनौँ ।’