कुश्मामा द क्लिफले थप्यो नयाँ साहसिक पर्यटनको प्रडक्ट ‘मेगाट्रोल’


काठमाडौं । पर्वतको कुस्मा कुश्मामा साहसिक पर्यटकीय सेवा दिइरहेको द क्लिफ प्रालिले नयाँ प्रडक्ट ‘मेगाट्रोल’ ल्याएको छ। विश्वकै लामो र अग्लो मेगाट्रोलको करिब एक महिना अगाडि सफल परीक्षण भएको यो पर्यटकीय प्रडक्टको अगामी एक सातापछि औपचारिक सुरुवात गर्ने तयारी भइरहेको छ ।

नेपालको साहसिक पर्यटनमा नयाँ प्रडक्ट थप गर्दै पछिल्लो समय युरोपेली प्रविधिलाई नेपालमा भित्र्याएर पर्यटकीय सुविधा दिएको द क्लिफका अध्यक्ष राजु कार्कीले क्लिकमान्डुलाई बताए ।

उनले भने ‘यसअघि कुश्मामा सुरु भइरहेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काई साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा दिइरहेको क्लिफले नयाँ प्रडक्टको रुपमा मेगाट्रोल ल्याएको हो ।’

एकपटकमा एक देखि तीन जनाले सेवा लिन सक्ने मेगाट्रोलसँगै पर्यटनमा नयाँ सेवा दिएर फरक अनुभूति दिलाउन खोजेको पनि कार्कीले बताए । उनले भने, ‘साहसिक पर्यटनका गन्तव्य बनेको कुश्मामा हामीले विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएका छौं । यसको औपचारिक सुरुवात हप्ता १० दिन भित्रमै हुने भएको छ ।’

दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जना बसेर साहसिक यात्रा गर्न मिल्छ । एक्लै वा जोडीसँगै यात्रा गर्न मिल्ने यो मेगाट्रोलमा प्रतिघण्टा १ सय ४० किलोमिटरको स्पिडमा दौडन्छ । वाग्लुङको बलेवामा बेस स्टेसन रहेको यो मेगाट्रोल ३ मिनेटमै कुश्मा आइपुग्छ ।

कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै साहसिक पर्यटनको एक प्रडक्ट मेगाट्रोलले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेडको जस्तै अनुभव लिन सकिन्छ । मेगाट्रोलमा बसेर साहसिक यात्रा गर्न तीन जनाको १० हजार शुल्क लाग्छ भने एक्लै यात्रा गर्दा भने ५ हजार रुपैयाँ लाग्ने पनि द क्लिफले जानकारी दिएको छ । यसले दैनिक करिब एक सय जनालाई सेवा दिन सक्ने अनुमान गरिएको छ ।

कुश्मामा साहसिक पर्यटनका विभिन्न प्रडक्टका लागि द क्लिफले ६० करोड भन्दा माथि लगानी गरिसकेको छ भने यसले १०७ जनालाई रोजगारीसमेत दिएको छ । नेपालको पर्यटन क्षेत्रमा फरक अनुभूति दिनुका साथै नेपालमा साहसिक पर्यटन विकासमासमेत महत्वपूर्ण योगदान गरेको छ ।