
काठमाडौं । ठूला सेयर लगानीकर्ताले मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढाउँदा ६ महिनामा करिब २४ अर्बले सेयर धितो कर्जा बढेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य तरलता र घटेको ब्याजदरमा ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सरकार विघटन भएर नयाँ एमाले कांग्रेसको गठबन्धन सरकार बनेसँगै ३ हजारको बिन्दु पार गरेको सेयरबजार भदौयता भने २५ देखि २७ सयको वरीपरि घुमिरहेको छ ।
माघ लागेपछि भने केही सुधार देखिएको नेप्सेमा आइतबार करिब ७० अंकको उच्च वृद्धि मात्रै देखिएन कारोबार करिब १३ अर्ब पुगेको छ । सेयर बजारमा लगानी गर्नको लागि लिने मार्जिन प्रकृतिको सेयर धितो कर्जाम देखिएको उच्च वृद्धि र सोही अनुसार बजार परिसूचक नेप्से र कारोबारमा समेत सुधार देखिन लागेको छ ।
गत असार ममान्तमा ९० अर्ब ९ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा पुस ममसान्तमा आउँदा मसान्तमा आउँदा २३ अर्ब ६८ करोडले वृद्धि भएर १ खर्ब १३ अर्ब ७८ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा ७ अर्ब ९८ करोडले वृद्धि भएको सेयर धितो कर्जा चालु आवको सोही अवधिमा करिब २४ अर्बले बढेको हो । गत आवको पछिल्लो ६ महिनामा ५ अर्ब ८० करोड मात्रै सेयर धितो कर्जा बढेको थियो । चालु आर्थिक वर्षमा ६ महिनामा गत आर्थिक वर्षमा समग्रमा भएको सेयर धितो कर्जाको वृद्धि भन्दा दोब्बरले बढी कर्जा बढेको देखिन्छ ।
सेयर धितो कर्जा पनि ठूला लगानीकर्ताले उच्च रुपमा बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । करिब २४ अर्बले सेयर धितो कर्जामा वृद्धि हुँदा साढे १९ अर्ब भन्दा बढी कर्जा १ करोडभन्दा माथिको रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत असार मसान्तमा १ करोड भन्दा ठुलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा आउँदा ७७ अर्ब ४४ करोड पुगेको छ ।
कर्जाको भारित औसत ब्याजदर घटेर ३९ महिना (२०७८ असोज मसान्त) यताकै न्युन बिन्दुमा आएको छ । अझै ब्याजदर घट्दो क्रममा रहेको र पूँजीकोषको केही दबाब भएपनि बैंकहरुसँग पर्याप्त लगानीयोग्य तरलता हुँदा रहेको अवस्थामा बैंकहरुले सेयर धितो कर्जामा पनि सहज रुपमा लगानी बढाएका छन् ।
पछिल्लो एक वर्षको तथ्यांक हेर्न हो भने १ करोडभन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४ अर्ब भन्दामाथिले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुको समग्र कर्जा ५.२ प्रतिशतले मात्रै वृद्धि भएको छ । तर, मार्जिन प्रकृतिको सेयर धितो कर्जा भने २६.३ प्रतिशतले बढेको हो । जुन वृद्धिदर ट्रस्ट रिसिप्ट/आयात कर्जापछिकै उच्च हो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणा सेयर कर्जामा केही माग बढेको र लगानी बढाएको बताउँछन् । घरजग्गाको कारोबारमा सुधार नदेखिएको र आन्तरीक अर्थतन्त्रमा अझै पनि सुधार नदेदिएको बताउँछन् । तर, आयातको लागि एलसी खुल्नेक्रम बढेको र सोही कराण आयात कर्जा भने बढेको उनले बताए ।
प्रतिक्रिया