सरकारले तोक्यो सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्नु नहुने १० काम, गरे ५ वर्षसम्म कैद र १५ लाख जरिवाना

2.4k
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोग सम्बन्धि कडा कानुनको प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ दर्ता गर्दै सामाजिक सञ्जालमार्फत् अनैतिक गतिविधि गर्नेलाई हदैसम्मको सजाय हुने कानुन प्रस्ताव गरेको हो ।

मंगलबार दर्ता विधेयक दुवै सदनबाट पारित भएपछि ऐन बन्नेछ । विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्नु नहुने १० काम र सजाय स्पष्ट लेखिएको छ ।

के हुने त ती १० काम ? कस्तो सजाय हुन्छ ?

१. राष्ट्रिय हित प्रतिकुल हुने कार्य गर्न नहुनेः
विवरणः सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान वा राष्ट्र हित वा सङ्घीय इकाइ बीचको सु–सम्बन्धमा प्रतिकूल असर हुने गरी वा वर्गीय, जातीय, धार्मिक, सांस्कृतिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै आधारमा घृणा वा द्वेष उत्पन्न हुने कुनै काम गर्न वा गराउन वा विभिन्न जात, जाति वा सम्प्रदाय बीचको सु– सम्बन्धमा खलल पार्ने विषय सामाजिक सञ्जालमा प्रसार गर्न वा गराउने नहुने
सजायः ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

२. साइबर बुलिङ गर्नु नहुने
विवरणः कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिन्ह, चित्र, तस्बिर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य दृष्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्काउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता साइबर बुलिङ गर्नु नहुने
सजायः २ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

३. साइबर स्टकिङ गर्नु नहुने
विवरणः कसैले इन्टरनेट प्रविधिको प्रयोग गरी कसैलाई झुट्टा आरोप लगाउने, धम्की दिने, जालसाजी गर्ने, दुव्र्यवहार गर्ने, निगरानी गर्ने, वैयक्तिक गोपनीयता भङ्ग गर्ने, बारम्बार अनावश्यक सन्देश पठाउने, गोप्य जानकारी खुलासा गर्ने वा वैयक्तिक सुरक्षामा खतरा पुयाउने कार्य गरी कसैलाई हैरानी दिई साइबर स्टकिङ्गको कसूर गर्नु वा गराउन नहुने
सजायः ३ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

४. कसैको आईडी तथा सूचना ह्याक गर्नु नहुने
विवरणः कसैको कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको पासवर्ड वा सिरियल नम्बर क्य्राक गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालको गुप्त सङ्केत, पासवर्ड वा सिरियल नम्बर चोरी गरी त्यस्तो कम्प्युटर प्रणाली वा सामाजिक सञ्जालमा अनधिकृत रुपमा पहुँच प्राप्त गरी तथ्याङ्क भण्डारमा हस्तक्षेप गरी कसैको आइडी तथा सूचना ह्याक गर्नु नहुने
सजायः ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

५. फिसिङ वा इम्पोस्टर स्क्याम गर्न नहुने
विवरणः
विद्युतीय सञ्चार माध्यमबाट कुनै कुरा सत्य हो भन्ने विश्वासमा पारी कुनै व्यक्तिको युजरनेम र पासवर्ड, क्रेडिट कार्ड नम्बर, बैङ्क एकाउन्ट जस्ता संवेदनशील सूचना प्राप्त गरी फिसिङ गर्नेलाई र कुनै व्यक्तिले अरू कसैबाट पैसा वा व्यक्तिगत विवरण चोर्ने उद्देश्यले फोन वा इमेल वा विद्युतीय उपकरण वा प्रणालीद्वारा आफू चिनजान भएको वा विश्वास गर्न योग्य व्यक्ति भएको भन्ने विश्वासमा पारी उपहार वा पुरस्कार पठाउन व्यक्तिगत पासवर्ड र संवेदनशील जानकारी लिएर पछि कुनै रकम माग गरी इम्पोष्टर स्क्याम गर्नु नहुने
सजायः ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

६. सेक्सटोर्सन र एक्सटोर्सन गर्न नहुने
विवरणः
कसैको नितान्त व्यक्तिगत तथा निजी तस्बीर, अडियो वा भिडियो सामाजिक सञ्जालको प्रयोग गरी सार्वजनिक गर्ने वा कसैसँग सेयर गर्ने धम्की दिई यौन शोषण, आर्थिक लाभ वा हिंसाका लागि बाध्य पार्ने सेक्सटोर्सनको कसूर गर्नेलाई र कसैले कुनै व्यक्तिलाई सामाजिक सञ्जालको प्रयोग गरी निज वा अरु कसैलाई कुनै क्षति पुर्याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गरी एक्सटोर्सन गर्नु नहुने
सजायः ३ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

७. बीभत्स तस्बिर वा अडियो वा भिडियो पोस्ट वा सेयर गर्न नहुने
विवरणः
कसैले सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गर्नु नहुने
सजायः ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै

८. अश्लिल मिथ्या वा भ्रामक विषयवस्तु प्रसार गर्नु नहुने
विवरणः
सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द, तस्बिर, सङ्केत, भिडियो, अडियो, मिथ्या वा भ्रामक सूचना प्रसार गर्न, त्यस्तो सूचनाको दुष्प्रचार वा तोडमरोड वा कमेन्ट गर्नु नहुने
सजायः २ वर्षसम्म कैद सजाय वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

९. डिपफेक भिडियो अपलोड वा प्रसार गर्नु नहुने
विवरणः
कसैले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुनै व्यक्तिको अनुहार, आवाज वा हाउभाउलाई नक्कल वा प्रतिस्थापन गरी गलत सूचना प्रवाह गर्ने, अश्लीलता फैलाउने वा चरित्रहत्या गर्नु नहुने
सजायः २ वर्षसम्म कैद सजाय वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै

१०. बेनाम वा छद्मभेषी पहिचान बनाउन वा प्रयोग गर्नु नहुने
विवरण कः
सामाजिक सञ्जालमा बेनामी वा छद्मभेषी (फेक आइडी, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने, त्यस्तो बेनामी वा छद्मभेषी पहिचान मार्फत विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने, अरूको विषयवस्तु सेयर गर्ने, कमेन्ट वा कल गर्नु नहुने
सजायः ३ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै

विवरण खः व्यक्तिगत वा सामूहिक रुपमा छद्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्नु नहुने
सजायः प्रचलित कानून बमोजिम सजाय हुने । कानुन नभए ५ वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै