अर्थमन्त्रीले बिर्से कोरोना बिमाको बाँकी रकम, भन्छन्ः सरकारले अब कसैलाई तिर्न बाँकी छैन

'भुक्तानी पाएनौं' भनेर 'कसैले आन्दोलन गर्छु' भन्छ भने पत्याउँदिनँ



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीले भुक्तानी नपाएको समस्या अन्त्य भएको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आम र आधारभुतरुपमा भुक्तानीको काम सकिएको बताएका हुन् ।

आफूले मन्त्रालय सम्हालेयता विगतमा सिर्जना भएर नतिरेका दायित्व फरफारक गरिदिएको उनको भनाइ छ । ‘गत आवको दायित्व यसैवर्ष तिरिदिएका छौं जुन यस वर्षको पनि होइन,’ उनले भने, ‘समस्या समाधान गरिदिएका छौं । हामी आउँदा तिर्न बाँकी थियो । अहिले बाँकी छैन ।’

उनले भुक्तानी नपाएको भनेर कसैले आन्दोलन गर्छ भने आफूलाई विश्वास नभएको बताए । केही दिनअघि निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै आन्दोलन घोषणा गरेका थिए । तर, मन्त्री पौडेलले आन्दोलन नहुने दाबी गरेका हुन् ।

‘भुक्तानीको समस्या सकिएको छ,’ उनले भने, ‘कोही व्यवसायीले आन्दोलन गर्ने, भुक्तानी पाएनौं भनको छ भने सत्य छैन ।’ उनले कसैले विधिसम्बत दाबी गरेको छ भने दिएको दाबी गरे ।

मन्त्री पौडेलले भुक्तानी सकेको दाबी गरिरहँदा कोरोना बिमामा सरकारले कबुल गरेको रकम तिरेको वा तिर्ने नतिर्ने विषय केही बोलेनन् । उनले भुक्तानीको दायित्व केही बाँकी नरहेको भन्दै निरन्तर अडान लिइरहे ।

भुक्तानीका बारेमा उनले ‘राज्यले म तिर्दिनँ वा ढिला तिर्छु’ भन्न नपाउने पनि बताए ।

सरकारले सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी दिएको छैन । सरकारले कोरोना बिमा गर्ने बिमा कम्पनीलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कोरोना बिमा २०७७ साल माघबाट सुरु भएको थियो । सरकारले कोरोना बिमाका लागि २०७८ भदौमा मापदण्ड समेत बनाएको थियो । उक्त मापदण्डमा साढे ३ अर्बभन्दा बढी दाबी भुक्तानी भएमा बढी रकम सरकारले व्यहोर्ने भन्ने उल्लेख थियो ।

कोरोना बिमाको नीति र बढी रकम सरकारले भुक्तानी दिने गरी तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र अर्थसचिब शिशिर ढुंगानाले सहमती दिएका थिए ।


क्लिकमान्डु