२६ करोड बढीको भित्री कारोबार गर्ने ज्ञानेन्द्रलाल प्रधानलाई सम्पत्ति शुद्धीकरणको मुद्दा



काठमाडौं । भित्री कारोबार गरेको आरोपमा हाइड्रोविज्ञ ज्ञानेन्द्रलाल प्रधानमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पूरा गरेको छ।

प्रधानले नेपाल हाइड्रो डेभलपर्समा अध्यक्ष हुँदा अवैध रुपमा सेयर बिक्री गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै अनुसन्धान भएको हो । उनले आर्जन गरेको अवैध सम्पत्तिका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको छ ।

विभागले अनुसन्धान सकेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै सिफारिसहित सरकारी वकिलको कार्यालयमा राय पठाएको छ । अहिले विभागले पठाएको रायमाथि सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको जनाएको छ ।

प्रधानले कानून विपरित २६ करोड ३३ लाख ५६ हजार ५५७ रुपैयाँको सेयर बिक्री गरेका छन् । अहिले विभागले अनुसन्धान गरेर प्रधान र उनको परिवारलाई ५२ करोड ६७ लाख १३ हजार ११४ रुपैयाँ जरिवानासहित सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गर्न कार्यालयलाई सिफारिस गरेको छ ।

प्रधान अध्यक्ष भएको समयमा श्रीमती विमला श्रेष्ठ प्रधानको नाममा कम्पनीको २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र अध्यक्षबाट राजीनामा दिएपछि २०७८ कात्तिक २९ गते १ लाख ५० हजार कित्ता, २०७८ पुस ५ गते ९७ हजार २५० कित्ता र २०७८ माघ २० गते १ लाख कित्ता गरी कूल ३ लाख ७७ हजार ७५० सेयर घरायसी नामसारी गरेको गरेर सोही सेयर धितोपत्रको दोस्रो बजार मार्फत बिक्री गरेको बोर्डका तहकिकात अधिकृतले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रधानले कम्पनीको अध्यक्ष हुँदा नै छोरा चेतन प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता, अध्यक्षबाट हटेपछि २०७८ असोज ५ मा ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता सेयर घरायसी नामसारी गरेको उल्लेख छ ।

प्रधानले अध्यक्ष भएको समयमा अविवाहित छोरी निभिता प्रधानको नाममा २०७८ साउन १४ गते ३० हजार ५०० कित्ता र २०७८ असोज ५ गते ३२ हजार ९०६ कित्ता गरी ६३ हजार ६०४ कित्ता नामसारी गरेको पाइएको छ ।

आफुले अध्यक्षबाट हटेर छोरीको नाममा सेयर नामसारी गरेर बिक्री गरेपछि निभिता प्रधानलाई २०७८ कात्तिक १५ देखि सोही कम्पनीमा सञ्चालक बनाएका छन् । बोर्डको अध्ययनले नै प्रधानले श्रीमती विमला श्रेष्ठ प्रधानको नामबाट ३ लाख ६६ हजार ५८० कित्ता सेयर १८ करोड ५० लाख ७२ हजार ९४७ रुपैयाँमा कारोबार भएको पाइएको छ ।

त्यसैगरी प्रधानले छोरा चेतन प्रधानको नामबाट ५ हजार ३६४ कित्ता सेयर खरिद तथा ७० हजार ४३४ कित्ता बिक्री गरी ७५ हजार ७९८ कित्ता सेयरको ४ करोड ८ लाख ४९ हजार ३६५ रुपैयाँको कारोबार गरेका छन् ।

त्यती मात्रै होइन अविवाहिता छोरी निभिता प्रधानको नामबाट २०० कित्ता खरिद तथा ६३ हजार ५२१ कित्ता बिक्री गरी ६३ हजार ७२१ कित्ता सेयरको कुल रकम ३ करोड ८० लाख ५७ हजार १५३ रुपैयाँको सेयर कारोबार भएको छ । प्रधान २०७१ साउन १९ गतेदेखि २०७८ भदौ १३ गतेसम्म नेपाल हाईड्रो डेभलपरको सञ्चालक समितिको अध्यक्ष भएका थिए । प्रधानसँग ४ लाख ३८ हजार ७५० कित्ता सेयर रहेको बोर्डको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रधानले बोर्डमा बयान दिने क्रममा छोरा चेतन प्रधान २०७३ सालदेखि आफुसँग मानो छुटिइ भिन्ना भइसकेका तथा छोरी निभिता प्रधान २०७४ मा नै आफुसँग अंश बुझिलिई छुटिइ भिन्ना भइसकेको जानकारी गराएको प्रतिवेदनमा उल्लेख छ । प्रधानले २०७३ र २०७४ मा छोरालाई मानो छुट्याएको र २०७४ मा छोरीलाई अंश दिएको बयान दिएका छन् । तर, ५ वर्षसम्म उक्त सेयर किन नामसारी नगरी ५ वर्षपछि मात्रै किन नामसारी गरियो भन्ने प्रतिवेदनमा उल्लेख छैन ।

उनका अनुसार छोरा २०७३ असार २२ गते र छोरी २०७४ जेठ २३ गते आफ्नो अंश भाग लिइ छुटिएका थिए । तर प्रधानले छोरालाई २०७८ साउन १४ र असोज ५ मा सेयर नामसारी गरेका थिए । यस्तै छोरीलाई पनि सोही मितिमा सेयर नामसारी गरेका थिए ।

बोर्डको अध्ययनअनुसार प्रधानले गरेको कारोबारले धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवाला पक्षलाई झुक्याउने काम भएको छ । तर सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानले प्रधानले भित्री कारोबार नै गरेको भनेर किटान गरेको छ ।

अनुसन्धानपछि प्रधानले अवैध रुपमा आर्जन गरेको सम्पत्ति र त्यसको दोब्बर रकम माग दाबी गर्दै मुद्दा चलाउन सिफारिस गरेको भएपनि उनले अवैध रुपमा आर्जन गरेको सम्पत्ति लगानी गरेर आएको थप प्रतिफल के हुने भन्ने विषयमा प्रश्न उठेको छ ।


क्लिकमान्डु