त्रिवेणी स्पिनिङ मिल्सको धागो बिक्री भारी मात्रामा गिरावट, सरकारको राजस्व घट्दा अनुदान पाएन



काठमाडौं । त्रिवेणी स्पिनिङ मिल्सले सन् २०२३ मा २ अर्ब ३८ करोड आम्दानी गरेको छ । सन् २०२२ मा ३ अर्ब ७१ करोड आम्दानी गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३३ करोड कम आम्दानी गरेको हो । कम्पनीले सन् २०२१ मा भने १ अर्ब ८० करोड आम्दानी गरेको थियो ।

केयर रेटिङ नेपालले कम्पनीको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँको रेटिङ गरेको छ ।

केयर रेटिङले त्रिवेणी स्पिनिङ मिल्सको रेटिङलाई यथास्थितिमा राखेको जनाउँदै सरकार तथा बाह्य बजारको नीतिका कारण कम्पनीको निर्यात बढेको जनाएको छ । सरकारले निर्यात प्रबर्द्धन गर्न निर्यातमा इन्सेन्टिभ दिने गरेको छ । जसअनुरुप कम्पनीले ५० करोड रुपैयाँसम्मको निर्यातमा ४ प्रतिशत तथा त्यसभन्दा बढी रकमको निर्यातमा ८ प्रतिशत निर्यात प्रोत्साहन शुल्क इन्सेन्टिभ पाउँदै आएको छ । तर, पछिल्लो समयमा सरकारको राजस्व आम्दानी घटेका कारण सरकारले दिुनपर्ने अनुदान शुल्क कम्पनीले नियमितरुपमा पाउन सकेको छैन ।

सरकारले निर्यात प्रबर्द्धन नीति अनुरुप निर्यातमुलक उद्योगलाई कच्चा पदार्थमा लागेको भन्सार तथा करहरु कम्पनीलाई फिर्ता गर्दै आएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भइरहने घटबढ एउटा प्रमुख चुनौतीको रुपमा रहेको छ ।

संघाई समूहले प्रबर्द्धन गरेको त्रिवेणी स्पिनिङ मिल्सले पोलिस्टर, एक्रेलिक यार्नलगायत उत्पादन गर्दछ । बारामा रहेको मिलको क्षमता १८ हजार मेट्रिक टन प्रति वर्ष रहेको छ । सन् १९९५ मा स्थापित भएको त्रिवेणी स्पिनिङ मिल्स सन् २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । कम्पनीले आफना उत्पादन प्रमुखरुपमा भारत तथा टर्कीको बजारमा निर्यात गर्दछ । कम्पनीको धागो उत्पादन क्षमता १८ हजार मेट्रिक टन प्रतिवर्ष रहेको छ ।

कम्पनीको आम्दानी कम हुँदा नाफा पनि कम भएको छ । अघिल्लो वर्षसम्म कम्पनीले कुल व्यापारको १८ प्रतिशतसम्म नाफा गर्ने गरेकामा गत वर्ष यस्तो नाफा ८ प्रतिशतमा झरेको छ । यो नाफा कर, डिप्रिसिएसन र ब्याज रकम कटौती हुनु अघिको हो ।


क्लिकमान्डु