हालको नीतिले ३० खर्ब आईटी निर्यात त परै जाओस् भइरहेको उत्पादन पनि बन्द हुन्छ: रुद्रराज पाण्डे



नेपाल, जापान, युएइ अनि अमेरिकमा सूचना प्रविधि कम्पनीहरु सञ्चालन गर्ने रुद्रराज पाण्डे धादिङमा जन्मेका हुन् । ३० वर्षको उमेरमा अमेरिका गएपछि उतै बसेका पाण्डे आफूलाई पुँजीवादी भन्न रुचाउँछन् । डियरहोल्ड लिमिटेडका संस्थापक अध्यक्ष स्पष्ट वक्ता पाण्डेलाई नेपालमा बेला बेलामा विवादमा पनि तानिन्छ । तर, उनी आफ्नो स्पष्ट बोल्ने बानी परिवर्तन गर्न चाहँदैनन् । कानुनमा सहजता नभएका कारण धेरै झन्झट पाइने हुनाले नेपालमा लगानी नआएको भन्दै उनी सरकारी संयन्त्रको कडा आलोचना गर्छन् । पद्मोदय विद्यालयबाट स्कुल शिक्षा लिएका तथा त्रिचन्द्र कलेजबाट स्नातक गरेका पाण्डेले आफू कहिल्यै अमेरिका जाने बारे नसोचेको बताउँछन् । नेपालका विभिन्न सरकारी संस्था तथा विश्व बैंकका पनि काम गरेका पाण्डे नेपाली युवालाई इमान्दारिताका साथ मेहेनत गर्न सल्लाह दिन्छन् । पाण्डे काठमाडौंको सिफलमा डियरवाक स्कुल सञ्चालन गरिरहका छन् भने हालसालै आफ्नो जन्मस्थान धादिङमा पनि डियरवाक स्कुल खोलेका छन् । पाकिस्तानबाट बीइ एन इलेक्ट्रोनिक्स इन्जियरिं गरेका र अमेरिकाको नर्थइस्टर्न युनिभर्सिटीबाट पीएचडी गरेका पाण्डे आफ्नो जीवनको उत्तरार्धमा शिक्षामा मात्रै केन्द्रित हुने र कालान्तरमा ट्रस्ट बनाएर छोड्ने बताउँछन् । नेपालमा डिटुहकाइदेखि हालको डियरवाकसम्मको उनको यात्रा तथा सरकारको १० वर्षमा नेपालबाट ३० खर्बको सूचना प्रबिधी निर्यात गर्ने लक्ष्यका बारेमा हालै नेपाल आएका रुद्रराज पाण्डेसँग कुबेर चालिसेरोविन पौडेलले गरेको वार्ताको सार संक्षेप :

बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने अनि सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्त गर्न कतिको सम्भव छ ?

चालु आर्थिक वर्षको बजेट वक्तव्यतर्फ सरकारले नेपाललाई सूचना प्रविधि हवको रूपमा विकास गर्ने उद्घोष गर्याे । सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राख्दै सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने पनि बजेटमा उल्लेख गरेको छ । तर, हाल कायम रहेका संरचना र नीतिका कारण यो लक्ष्य हासिल असम्भव झैं देखिन्छ । हालको सरकारी नीतिले ३० खर्ब त परै जाओस् भइरहेको उत्पादन र निर्यात पनि बन्द हुने मेरो अनुमान छ ।

किनकि नेपालमा सूचना प्रविधि (आईटी) इन्स्टिच्युसन चलाउन निकै गाह्रो छ । जसका कारण स्रोत जुट्न असम्भवप्रायः छ । ३० खर्बको निर्यातका लागि हजारौं आईटी डिग्रिधारी मानवस्रोत आवश्यक हुन्छ । आईटी इन्स्टिच्युसन चलाउन समस्या भएपछि मानवस्रोत जुटाउन पनि मुस्किल हुन्छ । त्यसैले नेपालकाे अहिलेको तालले ३० खर्बको निर्यात त सम्भवै छैन । किनकि न त मानवस्रोत छ, न त नीतिमा सहजता ।

सरकारले लक्ष्य राखेपछि त्यहि अनुसार सूचना प्रविधिजन्य उद्योगमा लगानी पनि प्रवर्द्धन गर्ला नी ?

लगानी भनेको पानी जस्तै हुन्छ । पानी जता ओरालो उतै बग्छ, अनि लगानी पनि जता नीतिगत सहजता उतै प्रवाह हुन्छ । बाँध बाँधेपनि फोरेर पनि ओरालोतिर बग्छ पानी, त्यसैगरी नीतिगत सहजता भएका ठाउँमा अरु जस्तोसुकै समस्या भएपनि जुट्छ लगानी । नेपालमा यो कुरा धेरैले बुझेका छैनन् । नेपालको नीतिगत ब्यवस्था अरु देशभन्दा कति सहज र सरल छ भन्ने कुरा मनन गर्दैनौं । राजनीतिक नेतृत्वले पनि अनुमानका भरमा लक्ष्य राख्छ जबकि धरातल के छ भन्ने आँकलन गरेकै हुँदैन । मैले सिंगापुर, दुबई, जर्मनी, बेलायत, भारत र नेपालमा कम्पनी खोलें । तर, कम्पनी खोल्नै सबैभन्दा गाह्रो नेपालमा पाएँ । किनकि के गर्ने भन्ने कुरा अभिलेख गरिएको छैन । कानुनमा अनेकौं छिद्र छन् । कानुन संग्लो, स्पष्ट र पारदर्शी छैन ।

लगानी सहजताका लागि कानुन बाङ्गोटिङ्गो हुनु हुँदैन, सीधा हुनुपर्छ । मान्छेको अनुहारै देख्नै नपरोस् । छिमेकी भारतमा पनि कम्पनी दर्ता गर्न मान्छेको अनुहार देख्नै पर्दैन । कहीँ कतै धाउनै पदैन, कसैलाई नमस्कार पनि गर्नुपर्दैन । मान्छे भेट्न नपर्ने भएकाले कोही कसैलाई पैसो बुझाउनु पनि पर्दैन । तर, नेपालको कानुनमा भद्रगोल छ, छिद्र छ, कर्मचारीले कुरा बंग्याउन मिल्छ । यो त भएन नि ! भन्दै अन्तै पठाइदिन मिल्छ, रकममा कुरा मिले आफैं गर्दिन पनि मिल्छ ।

यसरी नेपालमा कम्पनी खोल्नै गाह्रो छ । खोलेपछि पनि चलाउन गाह्रो छ । किनकी स–सानो कम्पनीलाई पनि छान्दै दुःख दिने प्रयोजनले फुल अडिट गर्ने निहुँमा अनेकौं झन्झट खडा गरिन्छ । फुल अडिट भन्ने र्‍यान्डम गर्नुपर्ने हो । तर, दुःख दिने प्रयोजनले केके गरिन्छ भन्ने उदाहरण डियरवाक अटो नामक कम्पनीमा गरिएको फुल अडिटबाट दिन सकिन्छ ।

वास्तवमा डियरवाक अटोमा भएको के हो ?

अटो व्यवसायमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउने हेतुले अमेरिकामा कम्पनी खोलेर नेपालमा अर्ब रुपैयाँ ल्याउने सोच बनाएको थिएँ । अहिले चल्दै नचलेको कम्पनीमा लाखौं रुपैयाँ मूल्य अभिवृद्धि कर तिरिरहेको छौं । वर्षौंपिच्छे फुल अडिट गरेको छ ।

अहिले कोही व्यक्तिले डियरवाक अटोको भ्याट नम्बर हालेर कारोबार गरिदिएछ । यो कारण डियरवाक अटोले दुःख खेप्नुपरेको छ । डियरवाक अटोको केही गल्ती नहुँदा पनि केही रुपैयाँ तिरे भइहाल्छ नी भन्दै मिलाउन खोजिन्छ । ‘रुद्र पाण्डेले त्यति धेरै पैसा कमाउँछ, १ लाख तिर्न कति गाह्रो हो र ?’ भन्नेजस्ता प्रश्न गरिन्छ । आफूले गर्दै नगरेको गल्तीको भागिदार हुनुपर्ने प्रणाली छ हाम्रो नेपालमा । अरु कुरा त चर्चा गरेर साध्यै छैन ।

तपाईंका अमेरिकमा पनि कम्पनी छन् । त्यहाँ पनि कम्पनीहरुलाई यस्तै ब्यवहार गरिन्छ ?

यस्ता झन्झट अमेरिकामा हुँदैन । त्यहाँ मैले २ वटा कम्पनी चलाएँ । आजसम्म सरकारी अधिकारीको अनुहार पनि देख्नुपरेको छैन । चार्टर्ड एकाउन्टेन्टको हस्ताक्षरसहित हामीले बुझाएको विवरण नै मान्य हुन्छ । फुल अडिटको दुःख हुँदैन । सीएले गल्ती गरेको छ भने उसैले बेहोर्छ । नत्र, इन्स्योरेन्स गरेको हुन्छ । राज्यलाई ठग्न पाइँदैन तर राज्यले पनि अनावश्यक दुःख दिँदैन ।

अमेरिकामा धेरै सजिलो छ । सरकारले व्यवसायीलाई दु:ख देला भन्ने चिन्तै गर्नुपर्दैन । धमाधम व्यवसाय गर्ने हो भने सरकारले सहयोगमात्रै गर्छ । उल्टै त्यहाँका स्थानीय सरकारहरु हाम्रो ठाउँमा कम्पनी खोल्नु भएको छ, केहि समस्या छ कि भनेर बेलाबेलामा सोध्न आउँछन् । पाइलापाइलामा साथ दिन्छन् । उल्टै केही समस्या परेको छ कि भनेर नियमित सोधनी हुन्छ । त्यति राम्रो लगानीको वातावरणमा बस्न छाडेर म किन नेपाल आउँ ? वा म जस्तै लगानीकर्ता किन नेपाल आओस् ?

अन्य देशमा दुई दिनमा कम्पनी खुल्छ अनि २ सातामा स्थायी बसोबासको इजाजत पाइन्छ । नेपालमा झैं फलानो विदेशी, फलानोको सोच यस्तो छ भन्ने जस्ता नकारात्मक भाषण सुन्न पर्दैन ।

नेपालमा संसदमा पुग्नेहरु कराउँछन् मात्र । लगानीमैत्री वातावरण बनाउन पहल गर्दैनन् । नयाँ भनिएका दल मन्त्री पदमात्र ताक्छन् । परिवर्तन ल्याउँछु भन्नेहरुले सत्तालाई समर्थनमात्र गर्ने अनि आफूले भनेअनुसार नीतिगत सुधार गर्न सरकारलाई दबाब दिनुपर्ने आवश्यकता देख्छु म त । परिवर्तन ल्याउँछु भन्ने नयाँ दलले त कानुन सुधार गर नत्र समर्थन फिर्ता लिन्छु भन्नुपर्ने हो, न कि मन्त्री पद देउ सत्तामा बस्छु भन्ने हो । त्यसैले यी र यस्ता समस्या रहेसम्म लगानीमैत्री कानुन पनि बन्दैनन् ।

नेपालमा कस्ता सुधारको आवश्यकता देख्नु हुन्छ ?

आईटीमा कस्ता सुधार गर्दा लगानी आउँछ, कसरी रोजगारी सिर्जना हुन्छ र नेपाल आईटी हब कसरी बन्न सक्छ भन्ने बारे सूत्रात्मकरुपमा यसरी हेराैं ।

१) म आपूर्तिले हाँकेको वृद्धिमा विश्वास गर्छु । उत्पादनले आफैं माग सिर्जना गर्छ । काठमाडौंको एउटा कुनामा माछा बजार खोल्ने हो र त्यहाँ प्रकार प्रकारका माछा उपलब्ध गराउने हो भने काठमाडौंभरिका माछा पारखी त्यही कुनामा पुग्छन् । किनकी त्यो कुनामा विकल्प छ र पर्याप्तता छ भन्ने मान्छेलाई थाहा हुन्छ । यसैगरी, नेपाललाई आईटीको हब बनाउने हो भने यहाँ आईटीका हजारौं, लाखौं ग्र्याजुयट्स हुनुपर्छ । संख्यामा मात्र होइन, गुणस्तरमा पनि राम्रा र प्रतिस्पर्धी ग्र्याजुयट उत्पादन हुनुपर्छ । यो काम सरकारले गर्न सक्दैन । निजी क्षेत्रमा सञ्चालन भएका विद्यालय, इन्स्टिच्युसन नै हुन् गतिला आईटी मानव संशाधन उत्पादन गर्ने । यस्ता कलेज र निजी विश्वविद्यालय खोल्न सजिलो बनाउनुपर्छ । भारतमा शारदा युनिभर्सिटी, लभ्ली प्रोफेसनल युनिभर्सिटी भनेजस्ता दर्जनौं विश्वविद्यालयले हजारौं ग्र्याजुयट उत्पादन गर्छन् । उनीहरु निजी क्षेत्रबाट सञ्चालित छन् । यसरी पहिला सरकारले गुणस्तरीय आपूर्ति (क्वालिटी ग्र्याजुयट) बढाउनुपर्छ ।

२) नीतिगत व्यवस्था सजिाले हुनुपर्छ । कम्पनी खोल्न र सञ्चालन गर्न सजिलो हुनुपर्छ । सिधै कर तोकिदिए हुन्छ । तर, फुल अडिट र छड्केका नाउँमा दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्छ । यदी गल्ती गरे उठ्नै नसक्ने गरी कानुनी प्रबन्ध र प्रभावकारिता कायम गर्नुपर्छ । काम गर्न सजिलो तर कडा अनुपालना हुनुपर्छ । अमेरिकामा पनि र्‍यान्डम जाँच गरिन्छ । यदी कसैले गल्ती गरेको छ भने अर्बौं रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यहाँ कानुनी राज्य छ । ठग्न पाइँदैन । जेलै जानुपर्न सक्छ । नेपालमा भने घुस बुझाए वा पहुँच भए उन्मुक्ति पाउने चलन छ । त्यसैले यहाँ जो कोही पनि अपारदर्शी काम गर्न खोज्छ । यो परिपाटी अन्त्य गनुपर्छ ।

३) अमेरिका वा युरोपेली देश आजको स्थितिमा पुग्नुको कारण हो सुरुवाती दिनमा स–साना कम्पनीलाई कानुन परिपालनमा खुला छाडिदिनु । उनीहरुले विकासको सुरुवाती चरणमा साना कम्पनीलाई जेसुकै गरे पनि छुट दिए । ताकी आर्थिक गतिविधि चलायमान गर्न सहयोग पुग्यो । समयक्रममा कानुनको अनुपालना कडा बनाउँदै लगे र उनीहरुलाई पनि दायरामा ल्याए । अहिले सबैलाई कानुन बराबर छ । सबैलाई समान नियम छ, र उत्तिकै कारबाही पनि । अहिले नेपाल उनीहरु १०० वर्षअघिको झैं अवस्थामा छ तर कामकारबाही उनीहरुले अहिले गरे झैं गर्न खोज्छौं । त्यहाँको कर कानुन हेरेर हामी पनि त्यहीअनुसार सिको गर्छौं । यसरी सम्भवै छैन ।

किनकि नेपालमा कर निकै बढी छ । १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) निकै धेरै हो । त्यसमाथि सबै उत्पादनमा भ्याट लाग्छ । आईटीको कुरा गर्ने हो भने यो क्षेत्रको उन्नती हुनका निम्ति पहिला सबैभन्दा आवश्यक वस्तु कम्प्युटर र फोन हो । यी सामान सस्तोमा पाइने हो भनेमात्र आईटीको प्रस्फुटन हुन्छ । तर, यी सामानमा भन्सारमा पनि कर लिइएको छ, भ्याट पनि लगाइएको छ । साथै, घुस पनि खुवाउनै पर्ने बाध्यता छ । यी सबै खर्च उपभोक्ताको लागत वा मुल्यमा जोडिन्छ । महँगोमा सामान जोडेर उन्नती हुनै सक्दैन ।

भारतमा कम्प्युटर निकै सस्तो छ तर नेपालमा महँगो । दुबईमा २०० डलर पर्ने सामान नेपालमा ६०० डलर पर्छ । व्यापारीबाट किन्न महँगो हुने भयो, आफैंले आयात गरौं न भन्दा पनि उस्तै झन्झट छ । आईटीका सामाग्री सस्तोमा पाइयोस् अनि पो आईटीको ग्रोथ हुन्छ । तसर्थ, स्मार्टफोन तथा कम्प्युटर सस्तो र सर्वसुलभ बनाऔं । भ्याट नलगाऔं । कम्तिमा आईटी पढ्ने विद्यार्थीले प्रयोग गर्ने विद्यार्थीलाई भ्याट र भन्सार नलिऔं । त्यसमाथि डेभलपर सफ्टवेयर सरकारले नै सित्तैमा व्यवस्था गरिदेओस् वा सफ्टेवेयर प्रयोगमा अनुदान दिऔं । अनि पो, गुणस्तरीय आईटी मानव स्रोत विकास हुन्थे ।

४) मान्छेहरु धनी र शिक्षित भए पछि के चाहन्छन् ? सुविधा । बिजुली पानीको प्रबन्ध राम्रो छैन । जीवनस्तर राम्रो छैन । प्रदुषण छ । आधारभुत आवश्यकताको व्यवस्था छैन । गुणस्तरीय शिक्षा र स्वास्थ्य पाइँदैन । सेवा प्रवाहमा पाइला पाइलामा झंझट छ । यस्तो परिस्थितिमा यो देशमा बसिरहन कोही किन चाहन्छ ? झंझट भएपछि मान्छेहरु मुलुक छाड्न चाहन्छन् । सहरमा सजिलो जीवनयापत गर्न चाहन्छन् । त्यसैले सुरक्षा र पूर्वाधारको पर्याप्तता हुनुपर्छ । बस्नयोग्य वातावरण बनाउनुपर्छ । पैसा कमाएपछि मान्छेहरु गुणस्तरीय जीवन चाहन्छन् । सुरक्षित भविष्य चाहन्छन् । छोराछोरीलाई राम्रो शिक्षा दिन चाहन्छन् ।

५) त्यसपछि मान्छे सामाजिक इज्जत र प्रतिष्ठा चाहन्छ । यहाँ नागरिकलाई राज्यपक्षले गर्ने व्यवहार नीच छ, हेपाहा छ । राज्यले तर्साउँछ । प्रहरीले सीधै ‘तँ’ भन्छ, अमेरिका युरोपमा ‘सर’ भन्छ । निकै फरक छ । तसर्थ राज्यले गर्ने व्यवहार पनि फेर्नुपर्छ । यी त आधारभुत कुरा भए । अरु धेरै कुरा छ सुधार्नु पर्ने । यी सबैको जड एकै हो । राजनीति प्रणाली राम्रो भए, सबै कुरा विस्तारै सुध्रिन्छन् । तर, राजनीति नस्ध्रेसम्म केहि पनि सुध्रन्न ।

यसको अर्थ सरकारको कामगराइ तथा कानुनी झन्झट अनि सेवा प्रवाहमा समस्याले नेपाली युवाहरु पलयान भएका हुन् त ?

नेपाली नागरिकमा निराशा छ । राज्यसंयन्त्र र राजनीतिप्रति विश्वास उडेपछि यो भइरहेको हो । नेपाली राजनीतिक नेतृत्व नेपालको व्यवस्था संसारकै उत्कृष्ट हो भन्छन् । तर, यो भाष्य गलत छ । देशमा लोकतन्त्र त्यतिबेलासम्म हुँदैन जबसम्म लोकतन्त्रभित्र रहेका राजनीतिक दलमा लोकतन्त्र हुँदैन । राजनीतिक दलको उम्मेदवार छान्ने प्रणाली छैन । संघीय निर्वाचनको उम्मेदवार प्राथमिक तहबाट छानिएर आउनुपर्छ । नेकपा एमाले र नेपाली काँग्रेसले प्राथमिक निर्वाचन गरेर उम्मेदवार तय गर्ने हो भने न त केपी ओली न त शेरबहादुर देउवा शक्तिशाली हुन्छन् । खल्तीका नेतालाई उम्मेदवार बनाउने देशमा लोकतन्त्र सुदृढ हुनै सक्दैन । पार्टीभित्र लोकतन्त्र भएपछि बहुदलीय व्यवस्था प्रभावकारी हुन्छ । बेलायतको उदाहरण लिने हो भने ग्रासरुटबाट जित्दै आएको व्यक्ति प्रधानमन्त्री हुन्छ । काम गर्न सकेन भने फालिन्छ । हामीकहाँ यस्तो कहाँ छ र ?

तर नेपालमा संंरचना नै छैन वा स्रोत साधन नै छैन भन्ने पनि होइन होला नी ?
हामीसँग केही हदसम्म संरचना छ । स्रोत पनि छ । जनसंख्या पनि राम्रै छ । तर, राजनीतिले सही बाटो लिएन । किनकि कुनै पनि देश विकासको आधार नै राजनीति हो ।

यति धेरै निराशा भए पनि तपाईं नेपालमा नै लगानी गरिरहनु भएको छ नि ?
म व्यवसायी हो । शिक्षामा ४४ करोड नगद लगानी गरेको छु । बैंकबाट थप ३० करोड कर्जा लिएर लगानी भएको छ । यो बेचेर लैजाने कुरा होइन । फेरि नेपाल म जन्मेको देश हो । एक प्रकारको लगाव चाहिँ छ । त्यहि लगावले लगानी गरेको हो । म ३० वर्षको हुँदा नेपालबाट अमेरिका गएको थिएँ । अहिले मलाई नेपालको मायाले तानेको छ । सांस्कृतिक आत्मियता र जन्मथलो प्रतिको प्रेमले फर्कायो । जसरी भारतीयहरु भारतमा, चिनियाँहरु चीनमा, यहुदीहरु इजरायल फर्किन्छन्, म त्यसैगरी नेपाल आएँ । किनकि मान्छे सामाजिक प्राणी हो । यो भूमिको माया छ । त्यसैले अन्त गइनँ । म अमेरिकामा हुँदाभन्दा नेपालमा बढी इन्जोय गर्छु । यही कारणले आएँ ।

तपाईं नेपालमा कम्पनी खोल्ने अनि बेच्ने गर्नुहुन्छ, लामो समय अथवा दीर्घकालको लागि एउटै कम्पनी किन चलाउनु हुन्न भन्ने पनि भनिन्छ, किन होला ?

मैले ३ वर्ष अमेरिकी एक हेल्थकेयर कम्पनीमा काम गरें । सन् २०११ मा डियरवाक नाम गरेको कम्पनी स्थापना गरें र २०२० मा बेचें । त्यसपछि डियर होल्ड खोलें, अहिले डियर होल्ड चलिरहेको छ । अमेरिकामा आईटी कम्पनी खोलेपछि मैले नेपालमा सब्सिडरी खोलें । नेपालको स्रोत परिचालन गर्न मलाई नेपालमा कम्पनी चाहिएको थियो । सो कम्पनीलाई ८ वर्ष चलाएँ । त्यसपछि बेचें ।

अमेरिका र युरोपको अभ्यासअनुसार हरेक कम्पनीमा लगानीकर्ताको बाहिरिने नीति हुन्छ । लगानी गरेको पुँजी निकाल्नका लागि पब्लिक कम्पनी बन्नुपर्छ वा दोस्रो व्यक्तिलाई बेच्नुपर्छ । म पुँजीवादमा विश्वास गर्ने व्यक्ति भएकाले पनि यही नीति अपनाउँछु । आईपीओमा जान निकै झन्झट छ । त्यसैले बेच्न मन पराउँछु ।

यो सेरोफेरोमा मलाई कम्पनी खोल्ने, बेच्ने, नाफा कमाउने आरोप पनि लगाउँछन् । तर, वास्तविकता अर्कै छ । म अहिले अमेरिकी नागरिक हुँ । मेरो कम्पनी अमेरिकामा छ । सो कम्पनीले उत्पादन गर्ने सफ्टवेयर पनि अमेरिकाकै लागि उत्पादन गरिएको हो । काममात्र नेपालमा गरिएको हो । यो काम अमेरिकामै, चीनमा वा भारतमा वा पाकिस्तानबाट पनि गर्न सक्थें । ती देशमा अनुदान पनि दिन्छन्, बोलाउँछन् । तर, म नेपाल आएँ । रोजगारी दिएँ । अनि मलाई कर छल्यो भन्छन् । अचम्म लाग्छ । म अमेरिकामा कम्पनी खोल्छु, बेच्छु । अमेरिकामा कर तिर्छु । नेपाललाई कसरी कर छल्न सक्छु ?

जस्तै, कोटीभिटीको पछिल्लो घटना एउटा अबुझपनको उदाहरण हो । अमेरिकीमा माउ कम्पनी बेचिँदा शाखा कम्पनी पनि स्वतः अर्को व्यक्तिको नाममा जान्छ । अमेरिकामा कम्पनी बेचियो, नेपालमा कर माग्न मिल्छ र ? चित्त बुझेन भने कम्पनी बन्द गरिदिए पनि हुन्छ । नेपालमा सरकारी कर्मचारीहरुले सब्सिडियरीको कुरै नबुझेको देखिन्छ ।

कम्पनीको आम्दानी नेपालमा उत्पादन बेचेर हुने भएको भए नेपाल सरकारले पनि कर दाबी गर्न पाउँथ्यो । कम्पनीको मूल्यांकन नेपालको व्यापारले पनि बढेको भन्ने आधारमा दाबी हुन सक्थ्यो होला । तर, नेपालमा व्यापार नै नभएको कम्पनी बिक्री हुँदा लाभकर असुल्न खोज्नु आफैंमा बिरोधाभाषपूर्ण विषय हो ।

त्यसमाथि संघ सरकार मात्र होइन स्थानीय सरकार पनि निजीक्षेत्र मैत्री छैन । काठमाडौं महानगरका प्रमुख बालेन शाहले गरिखाने मान्छेलाई लखेटेको देख्दा लाग्छ कसरी गरिखाने मान्छे नेपालमा बस्न सक्छन् ।

यस्ता समस्या कसरी निराकरण गर्ने त ?

यस्तो विषयमा हाम्रा प्रतिस्पर्धी कस्ता छन् जान्नुपर्छ । सबै विकासशील मुलुक नेपालका प्रतिस्पर्धी हुन् । ती मुलुकमा नेपालमा कोटिभिटीलाई दिएको दुःखजस्तो अभ्यास हुँदैन । बिजेनस गर्ने मान्छे वा कम्पनी ती देशमा गइहाल्छन् नि ! नेपालमा कानुनको व्याख्या गलत गरिकाले गर्ने गरिन्छ । यसै आधारमा पनि नेपालबाट सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात असम्भव देखिन्छ ।

नेपालका सरकारहरुको कामकारवाही ब्यवहार चाहिँ बजारउन्मुख छ तर संविधानमा चाहीँ समाजवादउन्मुख लेखिएको छ । तपाईंलाई कस्तो लाग्छ, यहि सैद्धान्तिक समस्याले नै नेपालको अर्थतन्त्र विस्तार हुन नसकेको हो ?

संसारमा सबैभन्दा समाजवादी देश अमेरिका हो । शिक्षा, स्वास्थ्य आदि फ्रि छ । अनि वेरोजगार हुँदा भत्ता पनि दिन्छ । रिटायर भएपछि पनि पैसा दिन्छ । तर, त्यो सबै गर्न सरकारसँग स्रोत हुनु पर्यो । कर नै सरकारको मुख्य स्रोत हो । बाँड्न कमाउनु पर्यो । सरकारले कमाउने भनेको कर धेरै उठाउने हो । तर, करको आधार नै नभएपछि कसरी समाजवाद हुन्छ । कर धेरै उठाउन निजीक्षेत्र मैत्री कानुन, इन्टरप्रेनरलाई काम गर्ने वातावरण बनाउनु पर्यो । काम गर्ने मान्छेलाई तर्साएर धम्काएर सरकारको स्रोत कसरी बढ्छ र समाजवाद आउँछ ।

तस्बिरः रवि धिताल


क्लिकमान्डु