४ लाख बढी नेपाली रहेको कतारबाट कति भित्रिन्छ रेमिट्यान्स ?



काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि आएका कतारका अमिर(राजा)शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् ।

कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने समझदारीपत्रहरुमा हस्ताक्षर भएका छन् ।
कतार र नेपालबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

नेपालबाट कतारमा उच्चस्तरीय भ्रमण भए पनि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् ।

दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

त्यस्तै नेपाल र कतारबीच श्रम समझदारीमा हस्ताक्षर गरी वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरिएको थियो । श्रम समझदारी भएको लामो समय भएपनि श्रम समझदारी पुनरावलोकन भने हुन सकेको छैन ।

नेपाली युवाहरुको आकर्षक गन्तव्य बनेको कतारमा वार्षिक १ लाख बढीको संख्यामा रोजगारीका लागि पुग्छन् । कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् । कतारमा कार्यरत कामदारहरुले वार्षिक अर्बौ रुपैयाँ रेमिट्यान्स नेपालले भित्र्याउँदै आएका छन् । साथै कतारबाट पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ मा गरेको नेपाल लेबर माइग्रेसन रिपोर्टअनुसार नेपालले कतारबाट वार्षिक खर्बौं रुपैयाँ रेमिट्यान्स भित्र्याएको पाइन्छ । उक्त रिपोर्टमा नेपालले सबैभन्दा बढी कतारबाट रेमिट्यान्स भित्र्याउने गरेको उल्लेख छ ।

तथ्यांकअनुसार सन् २०१९/२० को चार महिनाको अवधिमा कतारबाट मात्रै ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्र्याएको देखाउँछ । नेपालमा समग्र भित्रिएको रेमिट्यान्समा कतारले १७.७ प्रतिशत हिस्सा रहेको छ । त्यसको ४ वर्षसम्ममा थप नेपालीहरु रोजगारीका लागि कतार पुगेका छन् । जसले गर्दा अहिले कतारबाट नेपाल भित्रने रेमिट्यान्स यसअघि सार्वजनिक भएको रकमभन्दा धेरै हुने देखिएको छ ।

त्यसबाहेक भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ, युएईबाट ४० अर्ब ८७ करोड रुपैयाँ र साउदी अरेबियाबाट ३८ अर्ब १५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्याङ्कले देखाउँछ ।

रोजगारीको क्षेत्रमा ठूलो हिस्सा ओगटेको कतारबाट नै उच्च रेमिट्यान्स भित्रिएको पाइन्छ । तर हाल श्रम समझदारी पुनरावलोकन हुन नसक्दा श्रमिकको सुरक्षाबारे विभिन्न संघसंस्थाले प्रश्न उठाउँदै आएका छन् ।


क्लिकमान्डु