१० वर्षमा कतारसँग नेपालको वैदेशिक व्यापार: साढे २१ अर्बको आयात, ४४ करोड रुपैयाँको निर्यात



काठमाडौं । कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने समझदारीपत्रहरुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो ।

नेपाल र कतारबीच कुटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूताबास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल कतारका अमिर थानीलाई स्वागत गर्दै

नेपालबाट कतारमा उच्चस्तरीय भ्रमण भए पनि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपाल प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए भने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् ।

दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्यसम्बन्धी सम्झौता पनि भएको थियो । सन् २००७ मा नेपालले कतारसँग दोहोरो करमुक्ति सम्झौता गरेपछि त्यहाँका लगानीकर्ताले नेपालका कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेका छन् तर नेपाल र कतारबीचको वैदेशिक व्यापार भने कमजोर देखिएको छ ।

नेपालले पछिल्लो १० वर्षको अवधिमा कतारसँग २२ अर्ब ९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा नेपालको निर्यातको हिस्सा निकै कमजोर रहेको पाइन्छ । नेपालले १० वर्षमा कतारबाट २१ अर्ब ६५ करोड २२ लाख रुपैयाँकै वस्तु तथा सेवा आयात गर्दा नेपालले ४४ करोड ३ लाख रुपैयाँको मात्रै निर्यात गरेको तथ्यांक छ ।

नेपालबाट चिया, कफी, पिउने पानी, मसला, अलैँची, कतार निर्यात हुने गरेको छ भने कतारबाट धुलो दूध, मह, काजुलगायत ड्राइफ्रुट, कफीलगायत वस्तुको बढी आयात हुने गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७१/७२ मा ५१ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा नेपालबाट १ करोड २६ लाख रुपैयाँको निर्यात गरेको थियो । त्यसैगरी आव २०७२/७३ मा २६ करोड ७६ लाख रुपैयाँको आयात गर्दा ५७ लाख रुपैयाँको मात्रै निर्यात गरेको थियो ।

त्यस्तै नेपालले आव २०७३/७४ मा ४४ करोड ५३ लाख रुपैयाँको आयात गर्दा ९३ लाख रुपैयाँको निर्यात, आव २०७४/७५ मा ७७ करोड ५१ लाख रुपैयाँको आयात गर्दा ७७ लाख रुपैयाँको निर्यात, आव २०७५/७६ मा ७८ करोड १२ लाख रुपैयाँको आयात गर्दा ६ करोड १ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

विभागअनुसार आव २०७६/७७ मा ४१ करोड ६२ लाख रुपैयाँको आयात गर्दा ३ करोड ७७ लाख रुपैयाँको निर्यात, आव २०७७/७८ मा ३० करोड ८० लाख रुपैयाँको आयात गर्दा ५ करोड ६१ लाख रुपैयाँको निर्यात, आव २०७८/७९ मा ३ अर्ब ३० करोड ६३ लाख रुपैयाँको आयात गर्दा ४ करोड ८१ लाख रुपैयाँको निर्यात, आव २०७९/८० मा १३ अर्ब ३० करोड ६९ लाख रुपैयाँको आयात गर्दा ११ करोड रुपैयाँको निर्यात र चालु आवको चैतसम्ममा १ अर्ब ५३ करोड ५१ लाख रुपैयाँको आयात गर्दा ९ करोड १९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कतारको कुल गार्हस्थ उत्पादन २ खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको छ ।


क्लिकमान्डु