सुधीर बस्नेतले बचतकर्ताको २२ करोड फिर्ता गर्न अनुमति पाए, बाँकीको पनि पैसा फिर्ता हुने



काठमाडौं । ओरेण्टल को अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले ८८ जना बचतकर्ताको २२ करोड रुपैयाँ फिर्ता गर्ने भएका छन् ।

सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी बस्नेत सहकारीका ८८ जना बचतकर्तालाई २२ करोड रुपैयाँ बराबरको जग्गा दिन लागेका हुन् ।

बस्नेतले भक्तपुर जिल्ला साविक गुण्डु गाविस-३, हालको सूर्य विनायक नगरपालिका-७ मा रहेको २२ करोड बराबरको जग्गा पास गरेर दिन लागेका हुन् ।

बस्नेतले सहकारीको पैसाले तत्कालिन समयमा विभिन्न ठाउँमा विभिन्न व्यक्तिको नाममा जग्गा किनेर राखेको र त्यसमध्ये अहिले गुण्डुको जग्गा ८८ जनालाई दिन तयार भएका हुन् ।

त्यसका लागि बस्नेतले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट अनुमति पाएका हुन् । यसअघि उक्त जग्गा व्यवस्थापन समितिको कार्यालयले रोक्का राखेको थियो ।

कार्यालयका सदस्य सचिव केशव प्रसाद पौडेलका अनुसार बस्नेतले ८८ जना बचतकर्ताको २२ करोड रुपैयाँ बराबरको जग्गा फिर्ता गर्न अनुमति पाएका हुन् ।

केही बचतकर्ताले बस्नेतबाट जग्गा लिएर आफ्नो बचत मिलाउने सहमति दिएपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सन्चालक बैठकले अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको बोर्ड बैठकले बस्नेतलाई ८८ जना बचतकर्तालाई २२ करोड रुपैयाँ बराबरको जग्गा दिन स्वीक्रती दिएको हो ।

बचतकर्ताले आफु जग्गा लिएर बचत रकम मिलाउन गर्ने भनेर स्वमन्जुरीका साथ दाबी फिर्ता लिएपछि कार्यालयले अनुमति दिएको पौडेलले बताए ।

‘सुधीरले बचतकर्ताको पैसाबाट किनेको जग्गा हो, त्यही दिएर मिलाउँछु भनिरहनु भएको छु सदस्य सचिव केशव प्रसाद पौडेलले भने-‘बस्नेतले बचतकर्तालाई जग्गा दिने भनेपछि ८८ जनाले स्वमन्जुरीका साथ जग्गा लिन्छौं, जग्गा चित्त बुझ्यो भनेर दाबी फिर्ता गर्नुभयो, केही हुने क्रममा रहेको छ ।’

८८ जनाले सुधिरबाट जग्गा लिने भनेर कात्तिकमा नै दाबी फिर्ता लिएको पौडेलको भनाइ छ ।

लामो समय छलफलपछि मागदाबी समर्थन गरी जग्गा बचतकर्तालाई दिने भनेर फागुन अन्तिममा निर्णय भएको हो ।

बस्नेतले अन्य बचतकर्ताको पनि बचत जग्गामार्फत् फिर्ता गरेर मिलाउने तयारी गरेका छन् । पहिलो चरणमा ८८ जनाको जग्गा फिर्ता गर्ने र दोस्रो चरणमा बस्नेतले ४ करोड बराबरको जग्गा नै बचतकर्तालाई दिने तयारी गरेका छन् । कार्यालयले निर्णय गरेपछि बस्नेतले प्रक्रिया अघिबढाउने बताइएको छ ।

१ लाखभन्दा कम बचत हुने ७२४ जनाको साढे २ करोड रुपैयाँभन्दा बढी बचत कार्यालयले फिर्ता गरिसकेको छ । अहि बस्नेत १० लाख रुपैयाँभन्दा कम हुनेको बचत सकेसम्म नगद नै फिर्ता गराउने तयारीमा जुटेको देखिएको पौडेलले बताए ।

बस्नेतले अहिले बचतकर्ताको साँवा ब्याज बराबरको जग्गा दिन थालेका छन् । बचतकर्ताको पैसाले किनेको जग्गा उनीहरुलाई नै फिर्ता गर्ने भएकाले आफ्नो बाँकी भएको जग्गा लिलामको प्रक्रिया अघि नबढाउन समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई आग्रह गर्दै आएका छन् ।

सहकारीले ३ अर्ब १९ करोड ५० लाख २२ हजार ८६२ रुपैयाँ बचतकर्ताको ठगेको भन्दै उजुरी परेको थियो । जसमा अहिलेसम्म २४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको र २ अर्ब ९५ करोड २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ ।

सहकारी संस्थाले ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेको भन्दै धितो स्वरुप काठमाडौं उपत्यकाका साथै चितवन, इटहरी, विरगञ्ज, तनहुँ, कास्की दाङ, नवलपरासी पूर्व, मोरङमा धितो सकारेको छ ।

पछिल्लो समय बस्नेत आफै बचतकर्ताको पैसा फिर्ता गराउनु पर्छ भनेर लागेपछि बचतकर्ताले पैसा क्रमैसँग पाउने सम्भावना बढेको कार्यालयका अधिकारीहरु बताउँछन् ।

सरकारले ओरेण्टललाई २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको थियो । पछि सर्वोच्च अदालतको आदेश बमोजिम पूर्ववत घोषण बदर भई मन्त्रालयबाट फेरि २०७९ असोज ७ गते को निर्णयानुसार समस्याग्रस्त घोषणा भएको हो ।


सोभित थपलिया