सुधीर बस्नेतले सबैको पैसा फिर्ता गर्न लागेका हुन् ?



काठमाडौैं । हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेका ओरेण्टल को-अपरेटिभका अध्यक्षसमेत रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत अब भने बचतकर्ताको पैसा फिर्ता गर्ने मनस्थितिमा पुगेका छन् ।

आफ्नो सम्पत्तिको यकिन गर्न र बचतकर्ताको बचत फिर्ता गर्ने मनस्थितिमा पुगेर सहकारीका अध्यक्ष बस्नेतले सहकारी व्यवस्थापन समितिको कार्यालयको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन भन्दै कार्यालयबाट पत्र लगेर अदालतमा मुद्दा फिर्ता लिनका लागि निवेदन दर्ता गराएका छन् ।

कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलका अनुसार बस्नेतलाई लामो समय छलफल गरेर मुद्दा फिर्ता लिन अनुरोध गरेपछि समहत भएर अदालतमा मुद्दा फिर्ता लिनका लागि पत्र लिएर गएका हुन् ।

कार्यालयमा छलफलका लागि आउँदा कुनै कागजमा हस्ताक्षरसमेत गर्न नमान्ने बस्नेत कार्यालयका अध्यक्ष काशीराज दाहालले धेरै समयदेखि सम्झाएपछि मुद्दा फिर्ता लिन तयार भएका हुन् ।

‘तपाईंले यो समस्या जति बल्झाउनु हुन्छ, समस्या त्यति नै बढ्दै जान्छ, यो समस्याको समाधान अहिले नै नगर्ने हो भने तपाईंका नाती पलातीका कालसम्म पनि यो समस्या समाधान हुँदैन, बचतकर्ताहरुको पाप लाग्नेभयो,’ अध्यक्ष दाहालले बस्नेतलाई भनेको कुरा उदृत गर्दै स्रोतले भन्यो ‘संस्थाको नाममा कति सम्पत्ति छ भन्ने पनि २०७० सालदेखि अहिलेसम्म तपाईंले बिर्संदै जानुभयो। तपाईंले आफ्ना मान्छेको नाममा जग्गा किनिदिनु भयो, उनीहरु अदालत गए मुद्दा गरे, मुद्दा जितेर जग्गा पनि बेचेर खाइसके, अब तपाईंको बुद्धि फिरेको हो भने तपाईंको सम्पत्ति कहाँ कहाँ छ, कसको नाममा छ, कसले खाएको छ भन्नु हामी खोज्न सहयोग गर्छौं, त्यस्तो जग्गा पाए हामी रोक्का गरेर लिलाम गरिदिन्छौं, तपाईंले अदालतमा हालेको मुद्दा फिर्ता गर्नु सहकार्य गरौं।’

अध्यक्ष दाहालले यति भनेपछि निकै समय घोत्लिएका बस्नेतले अन्तिम समयमा आफूबाट पैसा लैजानेले पनि पैसा दिएन भनेर मुद्दा हालेको, सम्पत्ति पनि धेरैले खाएको, आफूले अदालतमा मुद्दा दायर गर्दा वकिललाई कमाउने बाटो मात्रै भएको भन्दै मुद्दा फिर्ता लिन राजी भएका हुन् ।

अध्यक्ष दाहालले पटक–पटक कन्भिन्स गरेपछि मुद्दा फिर्ता लिन राजी भएपछि बस्नेतले गत सोमबार कार्यालयबाट पत्र लगेर मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको कार्यालयलाई जानकारी समेत गराएको सदस्य सचिव पौडेलले बताए ।

सरकारले २०७९ असोज ७ गते सहकारीलाई पुनः दोस्रो पटक समस्याग्रस्त घोषणा गरेपछि बस्नेतले अदालतमा उक्त प्रकृया गलत भएको भन्दै तत्कालिन मन्त्री, सचिव, सहकारी विभागको रजिष्ट्रारविरुद्ध मुद्दा दायर गरेका छन् । सरकारले दोस्रो चरणमा समस्याग्रस्त घोषणा गरेपछि त्यसको विरुद्धमा पनि मुद्दा हालेका छन् । बस्नेतले २०७६ फागुन ११ गतेको निर्णयको विरुद्ध सरकारले समस्याग्रस्त घोषणा गरेको भनेर मानहानीको मुद्दा हालेका छन् । यस्तै दोस्रो चरणमा गरेको समस्याग्रस्त घोषणा पनि अवैधानिक छ भनेर मुद्दा हालेका हुन् ।

यस्तै अदालतमा रोक्का गरेको जग्गा लिलाम नगर्नु नगराउनु भनेर अदालतबाट आदेश जारी गराएको छ । सहकारीले ठगेको भन्दै ७ हजार ६४६ जनाले निवेदन दिएका छन् । त्यसमा ७७७ जनाको १ लाख रुपैयाँभन्दा कम पैसा फसेको छ । ७७७ जनाको पैसा फिर्ता गर्ने अवस्था भएपनि अदालती प्रकृयाका कारण पैसा फिर्ता गर्न नसकेको बताइएको छ । बस्नेत अध्यक्ष रहेको सहकारीबाट ठगीएकामध्ये ५ लाखभन्दा कम बचतको रकम १३ करोड रुपैयाँ रहेको छ ।

त्यो पैसा भदौसम्म फिर्ता गराउने र त्यो भन्दा बढी रकम हुनेलाई संस्थाको नाममा ठाँउ ठाँउमा भएको जग्गा दिएर दाबी फिर्ता गर्न लगाउने योजनामा कार्यालय रहेको छ । नगदले पुगेसम्म नगदै दिने र बाँकीलाई घरजग्गा दिएर सबै पीडितले बचत पाउने सक्ने सम्भावना रहेको कार्यालयको तर्क छ ।

बस्नेतले मुद्दा फिर्ता लिएर आएपछि बचतकर्ताले पैसा पाउन थाल्ने पौडेलको भनाइ छ । कार्यालयका अनुसार बस्नेतले मुद्दा फिर्ता लिएर सहयोग गरेको खण्डमा ६ महिनाभित्र सबैले पैसा फिर्ता पाउने उनको तर्क छ ।

२०७६ फागुनमा समस्याग्रस्त सहकारी संस्था पा संघको व्यवस्थापन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बस्नेतले ओरेन्टल सहकारीका बचतकर्ता र हाउजिङ तथा अर्पाटमेन्ट बुकिङकर्ता ७ हजार ५४६ जनासहितको सावाँ–व्याज गरी १६ अर्ब १ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको थियो ।

जसले सुधीर बस्नेतलाई नै ठग्न खोजे

बचतकर्ता बस्नेतको ओरेण्टलमात्रै नभएर कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को- अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी र भेगास बतच तथा ऋण सहकारी संस्थाबाट पनि ठगिएका छन् । ओरेण्टल बाहेक थप तीन वटा सहकारी पनि बस्नेतकै हुन् ।

कार्यालयले १२ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका बचतकर्ताले आफु ठगिएको भन्दै धमाधम उजुरी दिए । उजुरी दिएकामध्येले पनि कतिपयले बस्नेतलाई नै ठग्न खोजिएको देखिएको छ । बस्नेतले नै चलाएका केही सहकारीबाट ठगिएको भनेर मुद्दा हालेका मध्ये केहीले पहिला नै पैसा लगिसकेको पाइएको छ ।

कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले ठगेको भन्दै ५१ जनाको दावी परेको छ । जसमा कार्यालयले १ जनाको पैसा फिर्ता गरेको छ । अब ५० जनाको पैसा फिर्ता गर्न बाँकी छ । पैसा फिर्ता गर्न ५० जना बाँकी रहेको भनिए पनि १५ जना व्यक्तिले पहिला सहकारी चलेको समयमा नै पैसा लिएको र सरकारले समस्याग्रस्त घोषणा गरेपछि पुनः पैसा पाइन्छ भनेर माग दावी गरेको देखिएको छ ।

बस्नेतले कार्यालयमा आएर १५ जनालाई पहिला नै पैसा दिएको भनेर रेकर्ड दिएपछि त्यस्तो भेटिएको हो ।

१५ जनामध्ये ८ जना कार्यालयमा पुगेर बस्नेतबाट पहिला नै पैसा लिएको भनेर सनाखत समेत गरिसकेको पौडेलले बताए । बाँकी ७ जना कार्यालयमा आउन बाँकी रहेको उनको भनाइ छ ।

उनीहरुले पहिला पैसा लिएपनि सरकारले घोषणा गरेपछि पुन पैसा पाइन्छ भनेर माग दावी गरेको देखिएको छ । ८ जनाले पहिला नै करिब २८ लाख लिइसकेको पाइएको छ ।

बस्नेतले भेगास र कन्जुमरका बचतकर्तामध्ये केहीलाई पहिला नै पैसा दिएको जानकारी गराएका छन् । उनले आफूले दिएको पैसाको रेकर्ड लिएर आउने बस्नेतले जानकारी गराएको पौडेलेको भनाइ छ । भेगासमा १७ जनाको मागदावी परेको छ भने कन्जुमरमा ५६ जनाको माग दाबी परेको छ ।

भेगासका १७ जनामध्ये १३ जना जतिलाई पैसा पहिला नै बुझाएको बस्नेतको दाबी छ । बस्नेतले उनीहरुको विवरण बुझाएर कार्यालयलाई सनाखत गराइदिन आग्रह गरेको पौडेलेको भनाइ छ ।


क्लिकमान्डु