किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने तर बिजुली कहाँ बेच्ने ?



काठमाडौं । संखुवासभामा पहिचान भएको किमाथांका-अरुण जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन् ।

पावर चाइनासहित केहि कम्पनीहरुले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेका हुन् । कम्पनी र पावर चाइनाबीच धेरै पटक छलफल समेत भइसकेको छ । उनीहरुले यो आयोजना निर्माण गर्ने भन्दै दुई वर्षभन्दा बढी समयदेखि छलफल समेत गर्दै आएका छन् । चिनियाँहरुले लगानी सम्मेलनसम्म सम्झौता होस् भन्ने चाहेका छन् ।

विद्युत उत्पादन कम्पनीले भने बिजुली बेच्ने बजारको सुनिश्चितता नभएसम्म आयोजना दिन नसकिने बताउँदै आएको छ । ‘हामी उनीहरुलाई आयोजना विकास गर्न दिउला तर ४५४ मेगावाट बिजुली लगेर बेच्ने कहाँ ?,’ऊर्जा मन्त्रालयका एक इन्जिनियरले भने, ‘हाम्रो बिजुलीको अहिलेसम्मको बजार भारत मात्रै हो । चिनियाँ लगानीको बिजुली भारतले किन्न मान्दैन।’

विद्युत उत्पादन कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बखतबहादुर शाहीले पनि चिनियाँहरुसँग छलफल भएको बताए ।

भारतको चिनियाँलाई रोक्ने नीति छ । सोहि कारण उसको संलग्नता भएको कुनै पनि आयोजनाको बिजुली भारतले किन्दैन । २ वर्षअघि नै प्रस्ताव गरेको भए पनि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बिजुली किन्न मानेको छैन । यो आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले सिभिल संरचना निर्माण गरेको थियो ।

यो आयोजना चिनियाँलाई दिँदा बिजुली बेच्ने बजार नहुने चिन्ता विद्युत उत्पादन कम्पनीलाई छ । सोही कारण कम्पनीले चीनमै लैजाने सुनिश्चितता गरे दिन समस्या नहुने बताएको छ ।

‘भारतले जस्तो सिधै प्रसारणलाइन बनाएर लगे,दिन कुनै समस्या हुदैन । हामीले लगानी जुटाएर बनाउन कठिन छ,’ ती ऊर्जाका इन्जिनियरले भने , ‘बिजुली उत्पादन गरेर बेच्ने ठाउँ भएन भने ठूलो समस्या हुन्छ । त्यतातिर पनि सचेत हुनुपर्नेछ ।’ चिनियाँ सीमा नजिकैको आयोजना भएकाले उसैलाई दिनुपर्ने कतिपयको बुझाइ छ ।

कम्पनीले लगानीमा सम्मेलनमा यो आयोजना समेत सो-केस गर्दैछ । १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत् आयोजना पनि सो-केस गर्ने तयारी छ । लगानी बोर्डको कार्यालयले वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ ।

‘चीनसँग विद्युत् व्यापार सम्झौता र पूर्वाधार छैन’

नेपालको चीनसँग अहिलेसम्म विद्युत् व्यापार सम्झौता भएको छैन । सम्झौता गरेर व्यापार सुरु गर्नका लागि प्रसारणलाइन पनि छैन । केरुङ-रातमाटे ४०० किलोभोल्ट प्रसारणलाइन निर्माण गर्ने भन्दै अध्ययन थालियो । तर चिनियाँ पक्षले अमेरिकी सहयोगमा निर्माण भइरहेको एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने प्रसारणलाइनमा जोडिने भन्दै आपत्ति जनायो । एमसीसी कम्प्याक्ट अन्तर्गत रातमाटे-न्यु बुटवल ४०० केभी प्रसारणलाइन निर्माण गर्न लागिएको छ ।

त्यसपछि चिनियाँ र नेपाल विद्युत प्राधिकरणको सयुक्त टोलीले छलफल गरेर जिलोङ-केरुङ-रसुवा-चिलिमे २२० केभी प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ ।

यो प्रसारणलाइनको अध्ययन अघि बढाउन स्टेट ग्रीड अफ चाइना र विद्युत प्राधिकरणबीच छिट्टै चीनमा छलफल गर्ने तयारी छ । यो प्रसारणलाइन अघि बढाउने सैद्धान्तिक सहमति भएकाले परामर्शदाता छनोट, प्रि-फिजिविलिटी अध्ययनलगायका विषयमा छलफल गरेर टुंगो लगाउन लागिएको प्राधिकरणको प्रसारणलाइन निर्देशनालय प्रमुख दीर्घायु कुमार श्रेष्ठले बताए ।

किमाथांका अरुण जलविद्युत आयोजना पिकिङ रन अफ दि रिभर (अर्ध-जलाशय) प्रकृतिको हो । आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ ।

यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।


दिनेश खड्का