लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई विदेशी लगानीको एनसेलमाथि छानबिन गर्न सुझाव



काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई एनसेलको सेयर खरिद विक्रीको अध्ययन गर्न गठित समितिले थप छानबिन गर्न सुझाव दिएको छ ।

आजियाटाले एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेकोबारे छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रतिवेदनमा विगतका एनसेल कम्पनीको सेयर खरिद र बिक्रीमा विभिन्न कम्पनीहरू मार्फत नेपालमा र विदेशमा अपारदर्शीरुपमा भएका कारोबारहरू राजश्व चुहावट, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरण भएको हुनसक्ने देखिएकोले सो सम्बन्धमा सम्बन्धित निकासहरूबाट अनुसन्धान हुनुपर्ने सुझाव दिएको हो ।

एनसेलको ८० प्रतिशत सेयर रहेको आजियटाले आफ्नो स्वामित्वको सेयर नेपालीमुलका सिंगापुरका नागरिक शतिषलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई विक्री गरेपछि सरकारले छानबीन समिति बनाएको थियो ।

समितिले आचार्यको कम्पनीसँग एनसेल सञ्चालन गर्ने प्राविधिक क्षमता नभएको र करोडौँ ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमतासमेत सबल नदेखिएको निष्कर्ष पनि निकालेको छ।

एनसेलको सेयर १४ पटक खरिदबिक्री भएको पनि अनुसन्धानले जनाएको छ । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म १४ पटक सेयर खरिदबिक्री भएको देखिए पनि पैसाको कारोबार भने विदेशमै भएको बताए । उनले कारोबार नेपाली बैंकिङ प्रणालीमा पनि नदेखिएकोले सरकारले यस विषयमा थप अनुसन्धान गरेर कम्पनीसँग थप कर असुल्नु पर्ने बताए ।

उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । हालसम्म ८ करोड विदेशी र २ करोड नेपाली गरी कुल १० करोड रुपैयाँ लगानीबाट कम्पनीले ६८ करोड रुपैयाँ बढी लाभांश विदेश लगेको छानविन समितिको अध्ययनले देखाएको छ । यसबाट नेपालमा लगानीको वातावरण छैन भनि आजियटाले लगाएको आरोप पनि गलत सिद्ध भएको शर्माले बताए ।

विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुक्तान गर्नु पर्ने छानविन समितिको निष्कर्ष छ ।

एनसेलको सेयर खरिदबिक्रीको समाचार बाहिरीएपछि त्यसको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।

समितिले नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, ठूला करदाता कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकबाट आवश्यक कागज, प्रमाण, सेयर खरिदबिक्री सम्झौता प्राप्त गर्ने, विभिन्न टेलिकम कम्पनीहरूको वेबसाइटबाट आवश्यक विवरणहरू संकलन गरेको थियो ।

संघीय संसद्का विभिन्न समितिहरूबाट प्राप्त निर्देशनहरू अध्ययन गर्ने, विज्ञ विशेषज्ञहरूसँग छलफल गरी रायसुझाव लिने, स्थलगत निरीक्षण गर्ने र सम्बन्धित पक्षहरूलाई समितिमा नै उपस्थित गराएर र भर्चुअल माध्यमबाट समेत सोधपुछ गर्ने समेतका कार्यहरू गरी त्यसको अध्ययन तथा विश्लेषण समितिले गरेको थियो ।

के छ प्रतिवेदनमा ?

१. समितिले अध्ययन तथा छानबिनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, ठूला करदाता कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकबाट आवश्यक कागज, प्रमाण, सेयर खरिदबिक्री सम्झौता प्राप्त गर्ने, विभिन्न टेलिकम कम्पनीहरूको वेबसाइटबाट आवश्यक विवरणहरू संकलन गर्ने, संघीय संसद्का विभिन्न समितिहरूबाट प्राप्त निर्देशनहरू अध्ययन गर्ने, विज्ञ विशेषज्ञहरूसँग छलफल गरी रायसुझाव लिने, स्थलगत निरीक्षण गर्ने र सम्बन्धित पक्षहरूलाई समितिमा नै उपस्थित गराएर र भर्चुअल माध्यमबाट समेत सोधपुछ गर्ने समेतका कार्यहरू गरी त्यसको अध्ययन तथा विश्लेषण गरिएको । 

२ नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा (साबिकको स्पाइस सेल प्रालि) विसं.२०५८ सालमा स्थापना भएदेखि यस कम्पनीको हालसम्म १४ पटक सेयर तथा स्वामित्व खरिदबिक्री भएकोमा ती खरिदबिक्रीमा धेरैजसो कारोबारहरू नेपालबाहिर नै अफसोररूपमा भएको तर उक्त कारोबारहरूसँग सम्बन्धित लेनदेनका अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका आधिकारिक निकायहरूमा पेस गरेको नदेखिएको । कतिपय नेपाली सेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ प्रणालीबाट नभइ देशबाहिर समेत भएको देखिएको । 

३. एनसेलले हालसम्म १ करोड ३० लाखभन्दा बढी सिमकार्ड वितरण गरी मोबाइल सेवा प्रदान गरिरहेको र हालसम्म कर र गैरकर राजस्व गरी नेपाल सरकारलाई करिब ३ खर्ब २ अर्ब रूपैयाँ बुझाएको देखिएको । 

४. एनसेलले नेपालमा व्यवसाय सुरू गरेदेखि हालसम्म जम्मा ८ करोड रुपैयाँ विदेशी लगानी र २ करोड रुपैयाँ स्वदेशी लगानी गरेको तथा रू १ खर्बभन्दा बढी नाफा कमाई विभिन्न शीर्षकमा ७८ अर्ब रुपैंयाँभन्दा बढी रकम विदेश लगेको देखिएको ।

५. एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तिर्नु, बुझाउनु पर्ने ८५ अर्ब रुपैंयाँभन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा, अदालतहरूमा मुद्दाकारूपमा विचाराधीन रहेको देखिएको ।

६. एनसेलको मातृ कम्पनी आजियाटा बर्हाडले दूरसञ्चार सेवाको क्षेत्रमा लगानी गरेका नेपाल बाहेकका मुलुकहरूको तुलनामा नेपालमा बढी प्रतिशतले करपछिको मुनाफा आर्जन गरेको देखिएको हुँदा आकर्षक मुनाफा कमाइरहेको अवस्थामा आजियाटाले १ डिसेम्बर २०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा व्यावसायिक वातावरण अनुकूल नभएको भनी लगाएको आरोप तथ्यहीन रहेको ।   

७.    आजियाटाले इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट ट्रिब्युनलमा मध्यस्थताका लागि दाबी पेस गर्दा राज्य पक्षबाट वैधानिक अपेक्षा उल्लंघन गरेको आरोप लगाएकोमा सो ट्रिब्युनलले नेपालले वैधानिक अपेक्षा सिर्जना हुनेगरी कुनै कार्य गरेको प्रमाण आजियाटाले पेस गर्न सकेको नदेखिँदा वैधानिक अपेक्षाको उल्लंघन भएको नदेखिएको, स्वच्छ र समन्यायिक व्यवहार भएन भन्ने आजियाटाको दाबी पनि स्थापित नभएको भनी निर्णय गरेको अवस्थामा उक्त कम्पनीले त्यस्तै प्रकृतिका आरोपहरू पुनः दोहो¥याएर विज्ञप्ति प्रकाशन गर्नु तथ्यसंगत नदेखिएको । 

८. आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेबीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको सेयर खरिदबिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्त (Armus Length Principle)मा आधारित भएको नदेखिएको, बिक्रीकर्ता पक्ष हाबी भइ खरिदकर्ता पक्षमा स्वाभाविकभन्दा बढी सर्तहरू राखेको, सेयर बिक्रीपश्चात वर्षौसम्म पनि बिक्रेताले आफूले बिक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत बिक्रीकर्तामा नहुनेजस्ता सर्तहरू उल्लेख भएको देखिएकाले उक्त सम्झौता स्वतन्त्र ढंगले भएको स्वाभाविक सम्झौता मान्न सकिने नदेखिएको । 

१०. वार्षिकरूपमा नै अर्बौं मुनाफा आर्जन गरिरहेको नेपालकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको सेयर कारोबारको व्यावसायिक मूल्य र सम्झौताका सर्तहरू स्वाभाविक नदेखिएको, खरिदकर्ताको प्राविधिक सक्षमता र करोडौं ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमतासमेत सबल नदेखिएको ।


क्लिकमान्डु