एनसेलले सेयर खरिद-बिक्रीको तत्काल जानकारी नदिए लाइसेन्स खारेज गर्ने प्राधिकरणको चेतावनी



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल खरिद बिक्रीको जानकारी नदिएको भन्दै सोमबार कडा कारवाहीसहितको पत्र पठाएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार पटक-पटकको पत्रलाई वेवास्ता गर्दैै केवल जवाफका लागि मात्रै जवाफ दिएजस्तो गरेपछि सोमबार भने कडा कारवाही गर्ने सहितको पत्र पठाएका छौं ।

अध्यक्ष खनालले क्लिकमान्डुसँग् भने ‘एनसेल खरिद-बिक्रीको जानकारी तत्कालै नदिए कानूनअनुसार कडा कारवाही गर्ने भनिएको छ यस्तो कारवाही अन्तर्गत एनसेलको लाइसेन्स खारेजसम्म हुनसक्छ ।’

प्राधिकरणका अनुुसार यसअघि दुई पटक पत्र पठाएर एनसेल खरिद-बिक्रीको बारेमा जवाफ मागिएको थियो । प्राधिकरणले पठाएको पत्रमा खरिद बिक्रीको पादरर्शी जानकारी नआएकोले सोमबार पुनः तेस्रो पटक पत्र पठाएइएको हो । उक्त पत्रबाट पनि प्राधिकरणले मागेको जवाफ नपाए एनसेलाई कारवाही प्रक्रिया अगाडि बढाउने पनि अध्यक्ष खनालले बताए । प्राधिकरणले एनसेललाई खरिद सम्झौतापत्र (सेयर पर्चेज एग्रिमेन्ट) पठाउन प्राधिकरणले एनसेललाई पत्राचार गरेको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा सञ्चालन गरेका दूरसञ्चार सेवासम्बन्धी विवरण माग गर्न सक्ने उल्लेख छ ।

प्राधिकरणले नेपाल सरकारको नीति निर्देशनलाई ध्यानमा राखेर अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक आदेश वा निर्देशन दिन सक्ने व्यवस्था पनि ऐनको उक्त दफामा उल्लेख छ । त्यस्तो आदेश वा निर्देशनको पालना गर्नु सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ । प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारवाहीको विवरण तथा सञ्चालन गरेका दूरसञ्चार सेवा सम्बन्धी विवरण माग गर्न सक्ने व्यवस्था छ ।

प्राधिकरणको ऐनको दफा २८ मा अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा तोकिए बमोजिमको अवधिभित्र दूरसञ्चार सेवा सञ्चालन नगरेमा प्राधिकरणले त्यस्तो अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था छ ।

प्राधिकरणका अनुसार अनुमति पत्र विपरित काम गर्ने, तोकिएको शर्त पालना नगर्ने र प्राधिकरणले तोकेको शर्त पालना नगरेको अवस्थामा लाइसेन्स खारेज हुने व्यवस्था ।

एनसेल प्राधिकरणबाट अनुमति प्राप्त संस्था भएको र नियामक निकायले कानूनअनुसार आवश्यक कारवाही गर्न सक्ने भएकोले पनि एनसेललाई सोही अनुसार चेतावनीसहितको पत्र पठाएको उल्लेख छ ।

प्राधिकरणले मंसिर १५मै पहिलोपटक एनसेललाई सेयर खरिद-बिक्रीको सम्बन्धमा जानकारी गराउन पत्राचार गरेको थियो । प्राधिकरणको पत्रको जवाफामा एनसेलले कानुनी कर्तव्य पालनामा प्रतिवद्ध रहेको उल्लेख गर्दै सेयर खरिद–बिक्रीको द्विपक्षीय सम्झौतालगायतका कागजात संकलन भइरहेको जानकारी मात्रै गराएको थियो ।

तर, एनसेलले नियामक निकायलाई जानकारी नै नदिई एनसेलको ८० प्रतिशत सेयर किनबेचको गरेको जानकारी एनसेलको माउ कम्पनी एक्जियटाले विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ ।


क्लिकमान्डु