केपी ओलीको पक्राउ प्रतिशोध होइन, कानुनी प्रक्रिया हो: सरकार

0
Shares

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन प्रतिवेदनको कार्यान्वयन पूर्ण रूपमा कानुनसम्मत र नियमित प्रक्रिया भएको स्पष्ट पारेको छ ।

सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले भदौ २४ गतेको घटनामा संलग्न धेरै व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेको र उनीहरूमाथि कानुनी कारबाही अघि बढिसकेको बताए ।

‘भदौ २४ गतेको घटनामा धेरै पक्राउ परिसकेको अवस्था छ र धेरैलाई मुद्दा चलिसकेको छ,’ उनले भने, ‘तर २३ गतेको घटनामा संलग्न कोही पनि अहिलेसम्म पक्राउ परेका थिएनन् । अहिले हामीले कार्की प्रतिवेदनको सिफारिस अनुसार कार्यान्वयन मात्र गरेका हौँ ।’

उनले राज्यका निकाय र अङ्गहरूले गर्ने अनुसन्धान र कानुनी प्रक्रियामा सरकारले कुनै हस्तक्षेप नगर्ने दाबी गरे ।

प्रतिवेदन कार्यान्वयनलाई लिएर भइरहेका राजनीतिक टिप्पणीहरूको खण्डन गर्दै उनले यो कुनै प्रतिशोध नभई अदालतको अनुमति र कानुनी प्रक्रिया अन्तर्गत भइरहेको बताए ।

यसैबीच, सरकारले सुरक्षा निकायका उच्च अधिकारीहरूको संलग्नता र अन्य विषयमा थप जाँचबुझ गर्न छुट्टै कार्यदल वा समिति गठन गर्ने तयारी गरिरहेको छ । ‘जाँचबुझ गर्न समिति गठनको प्रक्रिया अघि बढिसकेको छ । यसलाई कुन ढंगले र कुन प्रक्रियाबाट लैजाने भन्नेबारे अहिले मुख्य सचिव र सचिवहरूसँग कानुनी परामर्श भइरहेको छ,’ प्रवक्ता पोखरेलले भने ।

सरकारले सम्पत्ति शुद्धीकरण र अन्य ‘हाइ-प्रोफाइल’ प्रकरणहरूमा पनि अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरेर मात्रै अगाडि बढ्ने नीति लिएको स्पष्ट पारेको छ ।