आईपीओ ल्याउने तयारी रहेको न्यूज २४ले ६ महिनामा गर्यो साढे ३ करोडको कारोबार

63
Shares

काठमाडौं । आईपीओ ल्याउने तयारी रहेको नेपाल ब्रोडकास्टिङ च्यानल ‘न्यूज २४’ले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ३ करोड रुपैयाँको कारोबार गरेको छ ।

सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत गरेको थियो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेको हो । कम्पनीले आइपीओ जारी गरी व्यापार विस्तार गर्ने उल्लेख गरेको छ ।

कम्पनीले सन् २०२५ मा ९ करोड रुपैयाँ, सन् २०२४ मा ११ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा १० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १० करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२४ मा १६.१० प्रतिशत खुद नाफा कमाएको थियो ।

कम्पनीको कारोबार गत आवमा २१.३६ प्रतिशतले घटेको छ । कम्पनीअनुसार गत आवमा विज्ञापनमा कमी आउँदा कारोबार घटेको उल्लेख छ । कम्पनीले गत आवमा २.९९ प्रतिशत खुद नाफा कमाएको छ ।

सन् २०२४ मा १६.१० प्रतिशत खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा सन् २०२४ मा १ करोड ९० लाख रुपैयाँबाट घटेर गत आवमा ३० लाख रुपैयाँमा मात्रै नाफा भएको छ । त्यस्तै, कम्पनीको कुल नगद सञ्चय ३ करोड १० लाख रुपैयाँबाट घटेर १ करोड ५० लाख रुपैयाँमा सिमित भएको छ । कम्पनीको अध्यक्ष अनिल जोशी छन् ।