बीमितलाई सेवामा विभेद गरे अस्पताललाई कारबाही गर्ने चेतावनी

0
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमित नागरिकहरूलाई सेवा प्रवाहमा विभेद गर्ने र दुःख दिने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

बोर्डले हालै एक सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीहरूलाई सेवा दिनुअघि अग्रिम समय (अपोइन्टमेन्ट) लिनुपर्ने बाध्यता गराएको, विभेदपूर्ण व्यवहार गरेको र आवश्यक सेवा, सुविधा तथा औषधि उपलब्ध नगराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘यस्ता कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीत रहेका छन् । बीमितलाई सहज रूपमा सेवा नदिनु कानुनको उल्लंघन हो ।’

बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । साथै, अनुगमनका क्रममा कुनै पनि स्वास्थ्य संस्थाले नियम विपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बोर्डले चेतावनी दिएको छ ।

यसअघि बीमितहरूले अस्पतालहरूमा बीमाबाट उपचार गराउँदा लामो समय कुर्नुपर्ने, औषधि नपाउने र अस्पतालका कर्मचारीहरूले बीमाका बिरामीलाई उपेक्षा गर्ने गरेको गुनासो गर्दै आएका थिए ।