एनसेल सेयर खरिद बिक्री प्रकरणमा समितिको प्रतिवेदन आएपछि सरकारले निर्णय लिन्छः मन्त्री शर्मा



फाइल तस्बिर

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताएकी छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार मन्त्री शर्माले एनसेल सेयर खरिद बिक्री प्रकरण छानबिन गर्न गठित समितिको प्रतिवेदन आउनासाथ सरकारले आवश्यक निर्णय लिने बताइन् ।

उनले समितिले निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको उनको भनाइ छ । कर छलिको प्रयत्न भएको अथवा कानून विपरित काम भएको पाइएमा कानूनी दायरामा ल्याइने उनको भनाइ छ ।

‘कसैबाट कानुन विपरित काम भएको कुरा पुष्टि हुँदा, कर छलीको प्रयत्न भएको पाइएमा, गैर कानूनी काम भएका छन् भने जुनसुकै पनि कानुनको दायरामा आउन सक्ने स्थितिको आँकलन गरेर गर्नुपर्छ भन्ने प्रतिवद्धतासहित यो सरकारले समिति गठन गरेको हो । अहिले समिति अध्ययन, छानविनमै भइराखेको हुनाले ठ्याक्कै के भएको हो, के हुनेवाला छ भन्ने कुरा अहिले छिटो हुन्छ होला । समितिले आफ्नो समयसिमा भित्र काम सम्पन्न गर्ने नै प्रतिवद्धता व्यक्त गरेको छ । उसले काम सम्पन्न गर्न बित्तिकै हामी यसमा आवश्यक निर्णय लिनेछौँ । हाम्रो नियामक निकायमार्फत हामी यि काम गराउनेछौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु’ उनले भनिन् ।

मन्त्री शर्माले छानविन समितिले निर्भिकतापूर्वक र स्वतन्त्रतापूर्वक छानविन गरिरहेको बताइन् । उनले समितिले सरोकारवाला सबै निकायहरुसँग समन्वयमा काम गरिरहेको जानकारी दिइन् । दूरसञ्चार प्राधिकरणले आफ्नो तर्फबाट गर्ने काम पनि गरिरहेको उनको भनाइ छ । मन्त्रालयले पनि आवश्यक काम गरिरहेको उनले उल्लेख गरिन् ।एनसेल नेपालको स्वामित्वमा आउनुपर्ने विषयमा पनि सरकार गम्भिर रहेको उनको भनाइ छ ।

मन्त्री शर्माले दूरसञ्चार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताइन् ।
उनले ऐनमा भएका छिद्रहरुलाई टालेर र दूरसञ्चारको क्षेत्रमा समय अनुकुलको विकासलाई अगाडी बढाउने गरी संशोधन गरिने जानकारी दिइन् ।


क्लिकमान्डु