नेप्सेमा ७९.७४ अंकको वृद्धि, अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो

0
Shares

काठमाडौं । सेयर बजारमा ७९.७४ अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ७.५० अंक, मंगलबार १४ अंक र सोमबार ६.११ अंकले बढेको थियो । त्यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो ।

आज नेप्सेमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार भने नेप्सेमा ३ अर्ब ४९ करोड बराबरको कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएकामध्ये २५७ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । यस्तै, ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यसअघि बजार लगातार घटेपनि केही लगानीकर्ता धितोपत्र बोर्ड घेराउ गर्न पुगेका थिए । त्यसपछि बोर्डले पुँजीबजार सुधार मार्गचित्र र नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

बजार घटेर सरकारको आलोचना बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बजार सुधारको विषयमा छलफल गरिसकेका छन् ।