प्राधिकरणका महानिर्देशक अधिकारीलाई अख्तियारको चेतावनी



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको कार्यशैलीप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारीले प्रश्न गरेका छन् ।

प्राधिकरण अन्तर्गत निर्माणाधीन र निर्माण भइसकेका परियोजनाको लागत बढाएको, पूर्वाधार निर्माणको काम समयमा सम्पन्न गर्न नसकेको, अधिकारीको कार्यशैलीलाई लिएर अख्यिारमा निरन्तर उजुरी परिरहेको भन्दै अख्तियारको नेतृत्व अधिकारीसँग असन्तुष्ट भएको हो ।

मंसिर ७ गते अख्तियारले विभिन्न सार्वजनिक संस्थानका प्रमुखहरुसँग गरेको छलफलमा प्रमुख आयुक्त प्रेम राईले प्राधिकरणका महानिर्देशक अधिकारीको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका हुन् ।

राज्यले अर्बौं लगानी गरेका विमानस्थल सञ्चालनमा ल्याउन नसकेको र प्राधिकरणले पूर्वाधार निर्माणको क्रममा लागत बढाएको गुनासोसहित उजुरी आइरहेको भन्दै अख्तियार प्रमुख राई अधिकारीसँग असन्तुष्ट भएका हुन् ।

‘अर्बौं रुपैयाँ खर्च भएका विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन,’ बैठकमा अख्तियार प्रमुख राइको भनाइ उदृत गर्दै स्रोतले भन्यो,‘तपाईंहरुको प्राथमिकता विमानस्थल सञ्चालन गर्नेभन्दा पनि नयाँ नयाँ विमानस्थल बनाउनेमा छ । राज्यले अर्बौं गरेका परियोजनाबाट लाभ लिन तपाईंहरु जिम्मेवार बन्नु पर्दैन् ?’

प्राधिकरणले पूर्वाधार विकासको काम गर्दा लागत बढाउने गरेको भन्दै कयौं उजुरी आएपछि आफूले अनुसन्धान अगाडि बढाएको अख्तियारका अधिकारीले बताए ।

‘यदी कसले गलत नियतका साथ राज्यलाई नोक्सानी पुर्‍याएको छ भने हामी कानुन अनुसार अगाडि बढ्छौं,’ अख्तियार प्रमुखले अधिकारीलाई चेतावनी दिँदै भने,‘परियोजना विकासको काममा अवरोध गर्ने हाम्रो सोच होइन् । हामी राज्यलाई नोक्सानी पुर्याउनेविरुद्ध मात्रै छौं ।’

विराटनगर, भरतपुर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवनको ठेक्का लगाउँदा प्रतिस्पर्धीहरुलाई प्राविधिक रुपमा अयोग्य बनाएर लागत अनुमान गरिएकै रकममा मिलेमतोमा ठेक्का लगाएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

यस्तै, प्राधिकरणले भैरहवा विमानस्थलको ट्याक्सी विस्तारको ठेक्का लगाउँदासमेत प्रतिस्पर्धी कम्पनीलाई प्राविधिक रुपमा अयोग्य बनाएर लागत अनुमान बराबरको रकम कबोल गर्ने छमादेवि हिमाली जेभीलाई ठेक्का दिएको छ ।

२०७८ माघमा प्रदीप अधिकारी महानिर्देशक भएपछि लागेको प्राय: ठेक्कामा सीमित प्रतिस्पर्धा भइरहेको प्राधिकरणका उच्च अधिकारीहरु बताउँछन् ।

अख्तियारले पछिल्लो २ वर्षदेखि प्राधिकरणले ठेक्का लगाएका ठूला परियोजनाका विषयमा अध्ययन अगाडि बढाएपछि प्राधिकरणका अधिकारीहरु क्रोधित बनेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीको निर्देशनमा कानून मिलाएर कयौं काम गरिएको बताउने प्राधिकरणका एक इन्जिनियर अख्तियारले निष्पक्ष रुपमा अनुसन्धान गरे कयौं अधिकारीको गलत सार्वजनिक हुने बताउँछन् ।

‘कहाँ कस्तो गलत भएको छ भन्ने विषय हाम्रो पहुँचभन्दा निकै पर छ,’ प्राधिकरणका एक अधिकारीले भने,‘ठेक्का प्रक्रिया धेरै गडबढी छ भन्ने हल्ला सुनिन्छ । अख्तियारले निष्पक्ष भएर छानबिन गर्यौं भने बास्तबिकता बाहिर आउने थियो ।’


क्लिकमान्डु