डिजिटल बैंकिङ कारोबार गर्दा पैसाको सुरक्षा कसरी गर्ने ?



काठमाडौं । इन्टरनेटको पहुँच र प्रविधिको विकास सँगै नेपालमा पनि डिजिटल बैंकिङको प्रयोग बढेको छ । सबै बैंकहरुले अहिले आफ्नो सेवालाई अनलाइनबाट पनि हुने सुविधा त दिएका छन् नै सँगै बैंकका मोबाइल एप्लिकेसनहरुको प्रयोगबाट कारोबारलाई छिटोछरितो र सुलभ पनि बनाएको छ ।

तर, इन्टरनेटको प्रयोगबाट डिजिटल बैंकिङको प्रयोग गरि कारोबार गर्दा जोखिम पनि उत्तिकै हुन्छन् । यस्तो अवस्थामा प्रयोगकर्ता स्वयंले धेरै कुरामा सुरक्षा अपनाउने तथा जागरुक हुन पनि आवश्यक हुन्छ ।

सिटिजन बैंकले हालसालै यही विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्री प्रसारण गरेको छ । प्रियंका कार्की फिचर्ड उक्त भिडियोमा डिजिटल बैंकिङको प्रयोग गर्दा कसरी सुरक्षित हुने भन्ने विषयको जानकारी दिइएको छ ।

प्रियंकाले उक्त भिडियो सन्देशमा एक गुडिया पसलकी साहुनीको भूमिका निभाएकी छन् । बैंकबाट आफ्नो खाताको एटीएम कार्ड तयार भएपश्चात सबै कारोबार डिजिटल गर्ने भनिरहेको प्रियंका अभिनीत पात्रलाई भिडियोमा गुडियाहरुले कसरी डिजिटल्ली आफ्नो पैसाको सुरक्षा गर्ने भन्नेबारे बताएको कुरा भिडियोमा समावेश गरिएको छ । ट्विस्टसहितको उक्त भिडियोलाई सहजै सबैले बुझ्ने गरी निर्माण गरिएको छ ।

सिजिटल बैंकले प्रसारण गरेको बैंकिङ सुरक्षाको यो भिडियोमा डिजिटल वा अनलाइन रुपमा पैसाको कारोबार गर्दा सजिलो भए पनि बढी सुरक्षित हुनुपर्ने बनाएको कुरा समावेश गरिएको छ । भिडियोमा गुडियाहरुले विभिन्न रुपमा कसरी सुरक्षित हुन सकिन्छ र अनलाइन बैंकिङको प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाएका छन् ।

यस्ता छन् सुरक्षित रहने उपाय

अनलाइन बैंकिङ सेवा लिनुअघि सबै जानकारी लिन आवश्यक रहेको र पहिल्यै थाहा भएको भन्दै बेवास्ता गर्न नहुने, अनलाइन बैंकिङ प्रयोग गर्दा बैंकको आधिकारिक एप र वेबसाइटबाट मात्रै गर्नुपर्ने हुन्छ ।

सँगै अनलाइन बैंकिङ प्रयोग गर्दा ल्यापटप, मोबाइल वा अन्य कुनै पनि ग्याजेटलाई पासवर्ट, पिन, प्याटर्न वा बायोमेट्रिकमार्फत लक गरेर सुरक्षित राख्नुपर्छ । त्यस्तै, अनलाइन बैंकिङको यूआरएल सधैं टाइप गर्नुपर्ने र कुनै पनि इमेल लिंक वा हाइपर लिंक कहिल्यै पनि क्लिक गर्न हुँदैन । अनलाइन बैंकिङका लागि टु फ्याक्टर अथेनटिकेसन, मोबाइल नम्बर, ओटिपी, फिंगर प्रिन्टजस्ता मल्टिफ्याक्टर अथेनटिकेसन आदिको प्रयोग गर्नुपर्छ ।

मोबाइल बैंकिङ प्रयोग गर्दा वा अनलाइन बैंकिङ प्रयोग गर्दा नोटिफिकेसनजस्ता अलर्टहरुको सेवा पनि लिनुपर्ने हुन्छ । यस्तो अलर्टहरुले प्रयोगकर्ताको खातामा हुने कुनै पनि किसिमको गतिविधिको सूचना तुरुन्तै दिने गर्छ । आफ्नो बैंकको स्टेटमेन्ट समय समयमा चेक गरिरहनुपर्छ ।

आफ्नो बैंकको पासवर्ड पिन कोड, सिभिसि, ओटिपी, एमपिन, ट्रान्जेक्सन पिन कसैलाई कहिल्यै कुनै पनि माध्यमबाट दिन हुँदैन । बैंककै कर्मचारी हुँ भन्दै फोन गरेमा पनि त्यस्तो सूचना दिनु हुँदैन । बैंकले कहिल्यै पनि त्यस्तो जानकारी माग्दैन । मागेको खण्डमा त्यो ठगी भएको भनेर बुझ्नुपर्ने हुन्छ ।

अनलाइन बैंकिङका लागि बलियो पासवर्डको प्रयोग गरिरहनुपर्छ र त्यसलाई बेला बेलामा परिवर्तन गरिरहनुपर्छ । यस्तो पासवर्ड कुनै पनि ब्राउजर इत्यादिमा सेभ गरेर राख्नु हुँदैन । सकेसम्म सार्वजनिक वाइफाईबाट मोबाइल बैंकिङ वा अनलाइन बैंकिङको प्रयोग गर्नु हुँदैन । गरिहालेमा पनि लगआउट वा साइनआउट भए/नभएको राम्रोसँग यकिन गर्नुपर्छ ।

अन्त्यमा आफ्नो मोबाइल बैंकिङ एपलाई सधैं अप टु डेट वा अद्यावधिक राख्ने (पछिल्लो भर्जन चलाउने) गर्नुपर्छ । कुनै पनि शंकास्पद गतिविधि देखिएमा बैंकलाई खबर गर्नुपर्छ । एटीएम हराएको खण्डमा तुरुन्तै बैंकमा खबर गरेर कार्ड ब्लक गर्न लगाउनुपर्छ ।


क्लिकमान्डु