
काठमाडौं । भारतीय विद्युत र आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् ।
उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका थिए । श्रीमतीसहित आएका उनले आठ सदस्यीय टोलीको नेतृत्व गरेका छन् ।
ऊर्जामन्त्री दीपक खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण गरिएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार नै जाने कार्यक्रम छ ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन) को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको मन्त्री खट्टर जाने छन् साथै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का पनि अरुण–३ को अवलोकनमा समावेश हुने छन् । उक्त कार्यक्रममा एसजेवीएनका अध्यक्ष राजकुमार चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत (सीईओ) प्रशान्त शर्माको पनि सहभागिता हुनेछ ।
ऊर्जा मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आएका हुन् । खट्टरले मन्त्री खड्कासँग अन्य जलविद्युत् आयोजनामा भारतीय लगानीका साथै नयाँ आयोजनाका विषयमा छलफल गर्ने कार्य तालिका छ ।
एसजेवीएनले संखुवासभामा ९ सय मेगावाट क्षमताको अरुण तेस्रोको काम अहिले तीव्र गतिमा भइरहेको छ । अरुण तेस्रो आयोजनाको अधिकांश संरचनाको काम अन्तिम चरणमा पुगी सकेको छ । यस्तै, एसजेवीएनको सहायक एसएपीडीसीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस्तै, उनले ९ गते नै अरुण–३ जलविद्युत आयोजनाको बाँध तथा पावर हाउस क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किने छन् । सोही दिन ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत मन्त्री खट्टरले विभिन्न ठाउँका सवस्टेशन संयुक्त रूपमा उदघाट्न गर्नेछन् ।
यसैगरी दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । वैशाख १० गते मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया