प्रगतिशील छैनन् नेपाली विज्ञापनः सामाजिक रुपान्तरण अनुरुप किन छैन महिलाको प्रस्तुति ?
प्रसंग एक: फोनपे नामक भुक्तानी सेवा प्रदान गर्ने कम्पनीले हालसालै एउटा विज्ञापन सार्वजनिक गरेको थियो । कम्पनीको सामाजिक सञ्जालमा राख्दै उक्त विज्ञापनलाई सार्वजनिक गरिएको थियो ।
उक्त विज्ञापनमा तीन पात्रहरु समावेश देखिन्छन् । दुई महिला र एक पुरुष रहेको विज्ञापनमा पुरुष घरबाहिर काम गरिररहेको देखाइएको छ । दुई महिलामध्ये पुरुषकी श्रीमती भने घरमा भान्सामा काम गरिरहेको रुपमा प्रस्तुत भएकी छन् । सँगै पुरुषकी आमा पनि भान्सामा नै देखिन्छिन् ।
श्रीमती र आमा भान्सामा काम गरिरहेको देखाइएको विज्ञापनमा पुरुषले आफ्नी श्रीमतीको जन्मदिनका लागि उनको बैंक खातामा फोन पे गरेर पैसा पठाइएको प्रसंगलाई विज्ञापनमा देखाइको छ । सम्पत्तिको अधिकार पुरुषकै हातमा छ भन्ने दृष्टान्त विज्ञापनले प्रस्तुत गरेको छ ।
प्रसंग दुई: देशमा कोभिड महामारी व्याप्त रहेको बेला नेपालकै शीर्षमध्येको एक बैंकले कोभिड महामारीविरुद्धको जनचेतना फैलाउने र सद्भाव कायम गराउने लक्ष्यसहितको एउटा विज्ञापन सार्वजनिक गरेको थियो । तर, विज्ञापनमा जनचेतना फैलाइरहँदा समाजमा भइरहेको परिवर्तन र लैंगिक समानताको विषयलाई भने अवमूल्यांकन गरिएको देखिन्छ ।
उक्त विज्ञापनमा आमा, बुबा र छोरीलाई प्रस्तुत गरिएको छ । बुबालाई कोभिड संक्रमण पुष्टि भएसँगै उनी घरको एउटा कोठामा क्वारेन्टिनमा बस्छन् । चाडबाडको समय भएकाले छोरी आफ्नो साथीसँग फोनमा कुरा गर्दै आफूलाई चाडबाड आएको जस्तै महसुस नभएको बताइरहेकी हुन्छिन् । आमा भने घरायसी काममा संलग्न भएको देखाइन्छ ।
क्वारेन्टिनमा रहेको बुबाले भने घरमा छोरी र श्रीमतीका लागि गिफ्ट अर्डर गरिदिन्छन् अनलाइनमार्फत भुक्तानी गरेर । स्वास्थ्य अवस्थामा समस्या भइरहँदा पनि सम्पत्तिको अधिकार र निर्णय गर्ने क्षमता पुरुषसँगै हुन्छ भन्ने दृष्टान्तसहित विज्ञापनलाई प्रस्तुत गरिएको छ ।
प्रसंग तीन: केही वर्षअघि ईसेवा नामक विद्युतीय वालेटले एउटा विज्ञापन प्रसारण गरेको थियो । अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत उक्त विज्ञापनमा फिचर्ड थिए ।
विज्ञापनमा अभिनेत्री वर्षाले श्रीमतीको भूमिका निभाएकी छिन् र विपिनले श्रीमानको । विज्ञापनको सुरुवातमा वर्षा अभिनित पात्र अर्थात् श्रीमती श्रीमानसँग रिसाएको देखाइन्छ ।
श्रीमानले इन्टरनेटको बिल नतिरेका कारण इन्टरनेट नचलेकाले आफू दु:खी भएको उनी बताउँछिन् । लगत्तै श्रीमान उनीसँगै बसेर ईसेवाको प्रयोगमार्फत इन्टरनेटको बिल तिरेको देखाउँछन् । १५ सय रुपैयाँ इन्टरनेटको बिल तिरेसँगै इन्टरनेट चलेपछि श्रीमतीको मुहारमा खुसी छाउँछ ।
उक्त विज्ञापनमा इन्टरनेटको बिल तिर्नेजस्तो सामान्य कुरामा पनि महिलाको अधिकार नभएको भाष्य प्रस्तुत गरिएको छ । महिलासँग १५ सय रुपैयाँ पनि सम्पत्तिको अधिकार छैन भन्ने भाष्यसहित विज्ञापन प्रस्तुत भएको छ ।
००००
प्रस्तुत प्रसंगहरु फरक-फरक समयमा प्रसारण भएका नेपाली विज्ञापनका हुन् । यी विज्ञापनमा समानता भनेको महिलालाई गरिएको चरित्र चित्रणमा देख्न सकिन्छ । मुख्य गरी नेपाली समाजमा सम्पत्तिमा महिलाको अधिकार, महिला रोजगारीको अवस्था र महिला परिवारमुली रहेको अवस्था वृद्धि भइरहेको भए पनि विज्ञापनमा भने त्यो प्रगतिशीलता देखिँदैन । समाजशास्त्रीहरुका अनुसार समाजमा भइरहेको परिवर्तन हरेक संस्था (सोसियल इन्स्टिट्युसन)मा देखिनुपर्ने भए पनि विज्ञापनहरुमा भने त्यो लागू भएको देखिँदैन ।
विज्ञापनमा महिलाः सामाजिक रुपान्तरणको ठिक विपरीत
उल्लिखित विज्ञापनहरु केही उदाहरण मात्रै हुन् । प्रायः नेपाली विज्ञापनहरुमा हेर्ने हो भने वर्षौंदेखि उस्तै किसिमले महिलालाई प्रस्तुत गरिएको छ । आर्थिक क्रियाकलापमा महिलाको उपस्थिति बढ्दै जानु, साक्षर बन्दै जानु, पारिवारिक नेतृत्वमा हुनु तथा रोजगारीमा संलग्न हुने जस्ता कुरा एकातिर छन् तर विज्ञापनमा भने ठिक विपरीत महिलाहरु भान्सामै हुन्छन्, आर्थिक रुपमा उनीहरुसँग अधिकार हुँदैन भन्ने रुपमा नै प्रस्तुत गरिएको छ ।
समाजशास्त्रीहरुका अनुसार समाज कुन रुपमा रुपान्तरण हुँदै गएको र प्रगतिशील हुँदै गएको छ भन्ने कुराको मूल्यांकन सम्पत्तिमा फरक-फरक लैंगिकताका मानिसहरुको अधिकार, रोजगारीमा संलग्नता, आर्थिक क्रियाकलापमा उनीहरुको पहुँचजस्ता कुरामा आधारित हुन्छन् । नेपाली समाजलाई नियाल्ने हो भने आर्थिक क्रियाकलाप तथा सम्पत्तिको अधिकारमा महिलाको संलग्नता बढ्दै गएको देखिन्छ । तर, यही अनुपातमा विज्ञापनमा भने प्रगतिशीलता छैन । विज्ञापनमा अझै पनि महिलालाई भान्सामै काम गर्ने, सम्पत्तिको अधिकार नभएको र आर्थिक क्रियाकलापमा पहुँच नभएको पात्रकै रुपमा बढी चित्रण गरिन्छ । केही हदसम्म विज्ञापनहरुमा परिवर्तन देखिएको भए पनि अधिकांशमा भने पुरानै शैलीमा महिलाको चित्रण भइरहेको छ ।
२०६८ को जनगणनामा महिला परिवार मुली रहेको प्रतिशत २५.७३ प्रतिशत थियो । राष्ट्रिय जनगणना २०७८ मा भने यसमा वृद्धि भएर ३१.५५ प्रतिशत परिवार मुली महिला छन् । कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्येमा ३१.५५ प्रतिशत परिवार मुली महिला रहेको जनगणनाको तथ्यांकले देखाउँछ । परिवारको नेतृत्वकर्ताका रुपमा महिला रहेको अनुपातमा १० वर्षअघिको अवस्थामा ५.८२ प्रतिशतले वृद्धि भएको छ ।
परिवारको नेतृत्वकर्तामा मात्रै होइन, लैंगिक रुपमा महिलाको अवस्था अन्य आधारमा पनि समनतातर्फ उन्मुख भइरहेको छ । २०६८ को जनगणनाअनुसार महिला साक्षरता ५७.४ प्रतिशत थियो, २०७८ मा बढेर ६९.४ प्रतिशत पुगेको छ ।
देशको कुल जनसंख्या मध्येबाट आर्थिक क्रियाकलापमा संलग्न रहेको जनसंख्याको ४७.४ प्रतिशत महिला छन् । सधैं रोजगारीमा संलग्न भइरहने संख्यामा हेर्ने हो भने पनि महिला र पुरुषबीचमा धेरै अन्तर छैन । प्राय: रोजगारीमा संलग्न रहने देशको १ करोड २ लाख ७० हजार जनसंख्यामध्ये ९२ प्रतिशत महिला छन् भने ९३.८ प्रतिशत पुरुष छन् । दुई बीचको अन्तर १.८ प्रतिशत बिन्दुको मात्रै छ ।
त्यस्तै, श्रममा महिलाको पहुँचकै कुरा गर्ने हो भने विश्व बैंकको तथ्यांकअनुसार सन् २०११ मा नेपालमा ३१.५ प्रतिशत महिला श्रममा संलग्न थिए । २०२२ सम्म आउँदा यसमा वृद्धि भएर ३८.१ प्रतिशत भएको छ ।
यी तथ्यांकले सामाजिक रुपमा समानता बढ्दै गएको र नेपाली समाज प्रगतिशील बन्दै गएको देखाउँछन् । तर, सोही अवधिका विज्ञापनलाई हेर्ने हो भने यस्तो देखिँदैन । १० वर्षअघिका विज्ञापनमा भएजस्तै अहिलेका विज्ञापनमा पनि महिलालाई उस्तै रुपमा प्रस्तुत गरिएको छ । सामाजिक रुपमा भइरहेको रुपान्तरणकै अनुपातमा विज्ञापनमा त्यो देखिएको छैन । अझै पनि विज्ञापनहरु परम्परागत सोचबाट निर्धारित किसिमले नै बनिरहेका छन् ।
दशक अघि र दशकपछिः कस्ता छन् नेपाली विज्ञापन ?
२००६ मा मिडिया अध्ययन जर्नलमा प्रकाशन भएको कमलराज सिग्देलको लेख ‘टेलिभिजन विज्ञापनमा हेराईबीचको द्वन्द्व, शक्तिको अभ्यास र आइडियोलोजीको निर्माण’ मा उल्लेख भएअनुसार नेपालमा प्रसारण हुने विज्ञापनमा आयातित विज्ञापन तुलनात्मक रुपमा बढी मनोवैज्ञानिक र सूक्ष्म प्रकारका छन् भने नेपालमा मौलिक रुपमा निर्माण गरिएका विज्ञापन परम्परालाई उतार्नमा नै बढी केन्द्रित देखिन्छन् । हाल बनिरहेका विज्ञापनमा पनि परम्परागत सोच नै ग्रसित भएको देखिन्छ ।
झन्डै एक दशक पुरानो मायोज चाउचाउको विज्ञापनमा श्रीमान चिकित्सकको रुपमा काम गरेर आएको देखाइन्छ । श्रीमान घर आइपुगेपछि श्रीमतीसँग कुराकानी गरिरहँदा श्रीमती भने उनका लागि खाजा बनाइरहेकी हुन्छिन् । विज्ञापनमा पुरुषसँग सम्पत्तिको अधिकार र रोजगारी भएको देखाइरहँदा महिला भने घरमै काम गर्नुपर्छ भन्ने भाष्यसहित प्रस्तुत गरिएको छ ।
दशकअघिकै उत्तम तेलको विज्ञापनमा पनि उस्तै रुपमा महिलालाई चित्रण गरिएको छ । विज्ञापनमा एक पुरुष आफू स्वस्थ्य खाना खानेलगायतका प्रसंगहरु उल्लेख गर्दै डायनिङमा बसेको देखाइएको छ । श्रीमती भने खाना बनाइरहेकी हुन्छिन् । श्रीमान घरबाट कामका लागि बाहिर निस्किन्छन् । तर, श्रीमती भने घरमै बसिरहेकी हुन्छिन् । रोजगारीका लागि श्रीमान घर बाहिर जाने र श्रीमती घरायसी काममा नै संलग्न हुने भन्ने भाष्य विज्ञापनमा समेटिएको छ ।
दशकअघिका अन्य विज्ञापनमा पनि यस्ता प्रवृत्ति पाइन्छन् । धेरै विज्ञापनमा महिलालाई घरमै काम गर्ने र आर्थिक अधिकार पुरुषसँग भएको भाष्य निर्धारण गर्ने गरी प्रस्तुत गरिएका थियो ।
– आईजिटी ग्यास रेगुलेटरको विज्ञापनमा करिष्मा मानन्धर अभिनित पात्र घरको भन्साको चिन्ता लिइरहेकी देखिन्छिन् ।
– पियोर एलोबेरा जुसको विज्ञापनमा परिवार खाना खाइरहँदा श्रीमती भने उनीहरुलाई खाना दिएर कुरिरहेकी देखिन्छिन् ।
– टोकला चियाको विज्ञापनमा पुरै परिवार टेभि हेरिरहेको बेला बुहारीले चिया बनाएर ल्याएको देखाइएको छ ।
– ह्विल ओके (साबुन) को विज्ञापनमा श्रीमान गार्डेनमा बसेर चिया खाइरहेका हुन्छन्, श्रीमतीले कपडा धोएको देखाइएको छ ।
उल्लिखित उदाहरणहरुबाहेक यस्ता थुप्रै विज्ञापन दशकअघिको समयमा थिए । हाल पनि अधिकांश विज्ञापनमा यस्तै प्रवृत्ति हावी छ । विज्ञापनले सामाजिक परिवर्तनको प्रतिनिधित्व गरेको पाइँदैन । महिलामा सम्पत्तिको अधिकार, आर्थिक क्रियाकलापमा महिलाको संलग्नतालगायतका विषयमा सामाजिक रुपान्तरण हुँदै गएको भए पनि विज्ञापनमा भने महिलालाई घरमै बस्ने, भान्साकै काम गर्ने र साहसी तथा पैसासँग सम्बन्धित कामलगायतमा पुरुष नै गर्ने भन्ने दृष्टान्त प्रस्तुत भइरहेको छ ।
यसका लागि केही उदाहरण हेर्न सकिन्छ । केही समयअघि सार्वजनिक भएको माउन्टेन ड्युको विज्ञापनमा अभिनेता अनुपविक्रम शाही फिचर्ड छन् । विज्ञापनमा डरसँग सम्बन्धित विषयमा उनलाई फिचर गरिएको छ, जहाँ उनी बुर्ज खलिफाबाट बाइकमा तल झरेको देखाइएको छ । प्रायः अनुप नै रहने माउन्टेन ड्युको विज्ञापनमा साहसी काम पुरुषले नै मात्र गर्न सक्ने रुपमा देखाइएको छ । तर, सामाजिक रुपमा भने हिमाल चढ्नेदेखि अन्य काममा पनि महिलाको उत्तिकै सहभागिता छ । प्रसंगका लागि फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ मध्ये ७ हिमाल चढिसकेकी छन् ।
कोकाकोलाले तयार गरेको दसैं विशेष विज्ञापनमा घरमा सम्पूर्ण परिवार रमाइरहँदा नातिनी र छोरीहरुलाई सबै कुरा मिलाउने दबाब भएको देखाइएको छ । घरका पुरुषहरु रमाइरहँदा नातिनी भने भान्सामा पकाउने, अरुलाई खानेकुरा दिनेलगायत कार्यमा संलग्न भएको देखाइएको छ । महिलाको जिम्मेवारी भान्सामा नै हो भन्ने भाष्यलाई विज्ञापनले प्रस्रय दिएको छ ।
चाडपर्व विशेषको विज्ञापनमा घरको काम महिलाले गरेको देखाइनु मात्रै नभएर अन्य विज्ञापनमा पनि सामाजिक प्रगतिशीलताको प्रस्तुतीकरण छैन । सुरुवातमै कुरा गरिएको फोनपे, इसेवाजस्ता कम्पनीका विज्ञापनहरु केही उदाहरणहरु हुन्, जसले सम्पत्तिको अधिकार महिलासँग छैन भन्ने भाष्यलाई प्रशय दिँदै सिर्जना भएका छन् ।
डबली इन्टरनेटमेन्ट नामक एजेन्सीले निर्माण गरेको ‘ई चुल्हो’को विज्ञापनमा त झन् भान्सामा खटिने भनेको महिला नै हुन भन्ने संवाद नै राखिएको छ । विद्युतीय चुल्होको उक्त विज्ञापनको अन्त्यतिर विद्युतीय चुल्होमा पुरुषले पनि खाना बनाएको देखाइएको छ । तर, विज्ञापनको सुरुवातबाट नै भान्साको काम महिलाकै मात्र हो भन्ने किसिमको सन्देश दिन खोजिएको छ ।
यी उदाहरणले पनि पुष्टि गर्छन्, सामाजिक रुपान्तरणको विपरीत विज्ञापनहरुमा प्रस्तुतीकरण भइरहेको छ । महिलालाई परम्परागत सोचकै स्वरुपमा प्रस्तुत गर्दै अहिले पनि सयौं विज्ञापन बनाइएका छन् । यिनीहरुमा सामाजिक रुपान्तरणको प्रभावका विपरीत महिलालाई उस्तै सोच र मानसिकताबाट प्रस्तुत गरिएको देखिन्छ ।
यसका बीच कतिपय विज्ञापनमा भने विस्तारै प्रगतिशीलता र सामाजिक रुपान्तरणको पनि चित्रण हुँदै गएको छ । कतिपयमा समानता र समतामूलक समाजकै प्रस्तुति गर्न खोज्दाखोज्दै पनि पूर्णरुपमा परिवर्तित सोचसहितका विज्ञापनहरु भने बन्न सकेका छैनन् । तर, सम्पूर्ण विज्ञापन महिलालाई असमान रुपमै प्रस्तुत गरिरहेका पनि छैनन् । कतिपय विगतमा महिलालाई नसमेटिने इन्जिनियरको भूमिका, डाक्टरको भूमिका तथा बैंकरको भूमिकामा हाल केही विज्ञापनले महिलालाई पनि समेट्न थालेका छन् ।
यी सबैका बाबजुद पनि विज्ञापनहरुमा बाहुल्य भने असमान प्रकृतिकै विज्ञापनको छ । ज्याज प्रोडक्सन नामक कम्पनीले बनाएको सनफ्लो तेलको विज्ञापनमा त्यो देख्न सकिन्छ । विज्ञापनको सुरुवातमा झरी परिरहेका बेला बुबाले ‘छोरी भएको भए पकौडा खान पाइन्थ्यो’ भनेको देखिन्छ । जब घरमा पकौडा पाक्छ, तब बुबाछोरी आएको सोच्दै घरभित्र गएर उनलाई बोलाउँछन् । तर, पकौडा छोराले बनाएका हुन्छन् । विज्ञापनमा पुरुषले भान्साको काम गरेको भए पनि त्यसको न्यारेटिभ भने पूर्णरुपमा परिवर्तित हुन नसकेको यो विज्ञापनमा देख्न सकिन्छ ।
‘हानामी’ नामक एक एजुकेसनल कन्सल्टेनसीले बनाएको विज्ञापनमा पनि यस्तै रुपमा महिलाको चित्रण गरिएको छ । उक्त विज्ञापनमा कलेजबाट छोरी फर्किरहेको समयमा आमा घरमा बात्ती काट्दै बसिरहेकी हुन्छिन् । उनका श्रीमान भने अफिसमा रहेको उनी फोनमा आफ्नो भाइसँगको संवादमा बताउँछिन् । अझै पनि कार्यालय गएर काम गर्ने र आर्थिक रुपमा परिवारको जिम्मेवारी बहन गर्ने काम पुरुषकै हो भन्ने भाष्य यो विज्ञापनमा पाउन सकिन्छ ।
दशकअघि र दशकपछि अर्थात् १० वर्षको अन्तरालमा निर्माण भएका विज्ञापनमा धेरै कुरा परिवर्तन भएका पनि छन् । विज्ञापन बनाउने क्षेत्रमा प्राविधिक रुपमा परिवर्तनहरु भएका छन् । विज्ञापनको आर्थिक पाटो पनि वृद्धि भएको छ । तर, यी सबैका बाबजुद विज्ञापनमा हुने भाष्यलाई भने परिवर्तन गर्न नसकेको देखिन्छ । सन् २०१६ मा ‘जर्नल अफ एजुकेशनल थट्स’मा प्रकाशन भएको काठमाडौं विश्वविद्यालयमा पीएचडी अध्ययनरत लिना गुरुङको अनुसन्धानात्मक लेख ‘पोट्रेयल अफ वुमन इन प्रिन्ट मिडिया: अ नेप्लिज कन्टेक्स्ट’ मा भनिएअनुसार घरायसी कामकाजमा नै महिलालाई केन्द्रित हुने कुराले विज्ञापन भरिएका छन् । उक्त लेखमा भनिएको छ, ‘विज्ञापनको व्यावसायिक बजारमा अझै पनि घरेलु उत्पादनमा परम्परागत भूमिकामा महिला नै हुने रुपमा प्रस्तुत गरिन्छ ।’
गुरुङले आफ्नो लेखमा उल्लेख गरेअनुसार महिलाको ग्ल्यामरस छविलाई मात्रै विज्ञापन उद्योगमा प्रयोग गरिन्छ । उनले लेखमा भनेकी छिन्, ‘यो समाजमा रहेको लैंगिक भूमिकाकै प्रतिबिम्ब हो । महिलाहरु स्वतन्त्र रुपमा काम गर्ने, आफ्नै निर्णय गर्ने र प्रश्न गर्ने रुपमा कमै मात्र विज्ञापनमा देखिन्छन् ।’
किन प्रगतिशील छैनन् विज्ञापन ?
विज्ञापनमा सामाजिक रुपान्तरणसहितको सोच नआउनुका थुप्रै कारण देखिन्छन् । विज्ञापनकै क्षेत्रमा काम गर्नेहरुका अनुसार बजेटको अभाव, सिर्जनात्मकताको कमीलगायतका कुराले यस्तो विज्ञापनमा प्रगतिशीलता आउन सकेको छैन । जानकारहरु विज्ञापनको सामाजिक उत्तरदायित्वलाई बोध नगर्नुले पनि विज्ञापन बनाउनेहरुले महिलालाई परम्परागत रुपमै प्रस्तुत गर्ने र समाजमा भएका परिवर्तनहरुलाई बेवास्ता गर्ने गरेको बताउँछन् ।
स्वतन्त्र रुपमा विज्ञापन निर्माणको क्षेत्रमा काम गरिरहेका सुशीलजंग क्षेत्री महिलालाई विज्ञापनमा प्रस्तुत गर्दा धेरै दर्शकको ध्यान पुग्ने भएकाले महिलाको प्रयोग धेरै गरिने बताउँछन् । उनी भन्छन्, ‘महिलालाई विज्ञापनमा लिँदा धेरै अडियन्स होल्ड हुन्छ । त्यसैले महिलालाई धेरै प्रयोग गरिन्छ ।’
महिलाको उपस्थिति धेरै हुँदा पनि प्रगतिशील रुपमा प्रस्तुत गर्न नसक्नुको कारण भने थुप्रै छन् । कतिपय आफूले विज्ञापन बनाउने क्लाइन्टको मागअनुसार विज्ञापन बनाउने भएकाले यस्तो भएको कारण देखाउँछन् भने कतिपय भने सिर्जनशीलताको अभावका कारण यस्तो भएको बताउँछन् । कतिपय भने विज्ञापन निर्माण गर्दा क्लाइन्ट वा सम्बन्धितले दिने बजेटले पनि विज्ञापन कस्तो बन्छ भन्नेमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् । सन् २००४ मा सञ्चारिका समूहले प्रकाशन गरेको पुस्तक ‘इलेक्ट्रोनिक मिडिया इन जेन्डर लेन्स’ मा आरती चटौतले उल्लेख गरेअनुसार विज्ञापनमा विभेदमूलक प्रस्तुतिको प्रमुख कारण सञ्चारमा हाबी पितृसत्तात्मक मान्यता रहेको छ ।
विज्ञापनहरु प्रगतिशील नहुनुमा विज्ञापन निर्माण गर्नेहरुमा भएको सोच महत्वपूर्ण रहेको बताउँछिन् पटकथा लेखक तथा विज्ञापन लेखक सम्पदा मल्ल । मल्ल आफैं पनि विभिन्न विज्ञापनहरु निर्माणमा जोडिएकी छन् । उनी विज्ञापन कस्तो बनाउने भन्ने कुरा बजेटसँग सम्बन्धित नहुने बताउँछिन् ।
‘मैले पनि कतिवटा विज्ञापन बनाएको छु,’ उनी भन्छिन्, ‘यो बजेटसँग सम्बन्धित नै हुँदैन । त्यसबाहेक विज्ञापन बनाउने मान्छे केटा हो वा केटी हो भन्ने कुरामा पनि सम्बन्धित हुँदैन । सर्जकले कस्तो किसिमले सोच्छ भन्ने कुराले महत्व राख्छ ।’
नेपालमा विज्ञापन निर्माण गर्ने क्षेत्रमा महिलाको उपस्थिति हेर्ने हो भने निकै पातलो छ । मुख्यगरी विज्ञापन लेखन तथा निर्देशन गर्ने पाटोमा पुरुषकै वर्चश्व छ । तर, यस्तो कुराले विज्ञापनमा महिला समानता र प्रगतिशीलता देखाउन नसकिने भन्ने नहुने बताउँछिन् मल्ल । उनी भन्छिन्, ‘मलाई लाग्छ, एउटा सर्जक महिला वा पुरुष हुन्छ भन्ने हुँदैन । सर्जक महिला हुँदैमा सबैतिर प्रगतिशीलता आउँछ भन्ने हुँदैन । पुरुष सर्जक हुँदा पनि समान रुपमा प्रगतिशीलतासहितको विज्ञापन देखाउन सकिन्छ । पुरुषवादी सोच भनेको महिला वा पुरुष भएर हुनेभन्दा पनि सोचसँग जोडिएको कुरा हो ।’
विज्ञापनमा समाजमा भइरहेको प्रगतिशीलता नआउनुको कारण सर्जक नै हुने बताउँछिन् उनी । सर्जकले आफूले निर्माण गर्ने विज्ञापनमा प्रगतिशीलता देखाउन चाहँदा क्लाइन्टले हुन्न भनेमा उसलाई कन्भिन्स गराउन सक्नुपर्ने उनी बताउँछिन् ।
‘विज्ञापनमा कम्पनीको कुरा त देखाउनु परिहाल्यो,’ मल्ल भन्छिन्, ‘तर एक मिनेटको विज्ञापनमा केही समाजलाई पनि दिनुपर्छ भन्ने कुरा त सर्जकको जिम्मेवारीको कुरा हो । यो जिम्मेवारी सर्जकले नै बोध गर्ने हो भने प्रगतिशीलता विज्ञापनमा देखिन्छ । सर्जक जिम्मेवार हुने र प्रगतिशीलतासहितका विज्ञापन बनाउने हो भने समानता विज्ञापनमा पनि देखिन्छ ।’
मल्लले केही वर्षअघि पठाओ नामक राइड सेयरिङ प्लेटफर्मको ‘पठाओ फुड’को विज्ञापनको लेखन तथा निर्माण गरेकी थिइन् । उक्त विज्ञापनमा श्रीमतीलाई ‘सप्राइज्ड’ बनाउनका लागि खाना बनाइरहेका श्रीमानलाई देखाइएको छ । विज्ञापनमा श्रीमतीको आगमन हुने बेलासम्ममा खाना तयार नहुनु र डढेपछि ‘पठाओ फुड’बाट खाना मगाइएको देखाइएको छ । आफूले निर्माण गरेको विज्ञापनको प्रसंगबारे मल्ल भन्छिन्, ‘विज्ञापनमा यो प्रस्पेक्टिभ आएको छैन । यो प्रस्पेक्टिभ आउनुपर्छ भन्ने हो । सर्जक जिम्मेवार हुने र आफ्नो सामाजिक दायित्वबारे सोच्ने हो भने यो प्रगतिशीलता आउँछ ।’
नेपालमा सिने क्षेत्रका केही निर्देशक तथा लेखकहरु विज्ञापनमा संलग्न हुने चलन आएपछि प्रभुत्व एजेन्सीहरुकै पाइन्छ । विज्ञापनको निर्माण गर्ने काममा एजेन्सीहरु नै हाबी हुने मल्ल बताउँछिन् । उनी भन्छिन्, ‘एजेन्सीहरुमा बस्नेहरुमा प्रगतिशील सोच आउनुपर्छ । नेपालमा विज्ञापनहरु बन्ने भनेको एजेन्सीबाट हो । एजेन्सीले नै विज्ञापन लेख्छ । एजेन्सीले विज्ञापनलाई व्यापारको रुपमा मात्रै नभएर एक किसिमको सामाजिक प्रभाव छाड्ने कलाको रुपमा हेर्नुपर्छ । त्यसो भएमा यो सोच उनीहरुमा पनि आउँछ ।’
विज्ञापन निर्माण तथा मार्केटिङको क्षेत्रमा एक दशक बिताएका अवाशिष ओझा विज्ञापन प्रगतिशील नहुनुमा बजेटको विषय र विज्ञापनमा समावेश हुने विषयलाई क्लाइन्ट र एजेन्सीबीच छलफलकै आधारमा निर्धारण गरिने बताउँछन् । विज्ञापन कस्तो बनाउने, कथा के राख्ने र त्यसमा लाग्ने खर्चको अनुपातलाई लिएर काम हुने गरेको उनी बताउँछन् ।
‘एजेन्सीलाई आफ्नो बजेट कम छ, जे हुन्छ त्यो बनाऊ भनेर क्लाइन्टले कहिल्यै पनि भनिएको छैन । त्यो हुन्छ भन्ने मलाई लाग्दैन,’ ओझा भन्छन् ।
तर, बजेटको कुरामा अहिले भने केही समस्या भएको उनी बताउँछन् । सन् २०१३ तिर आफूले विज्ञापन बनाउँदा एउटा विज्ञापनको बजेट २० लाखदेखि २५ लाखसम्मको हुने गरेको उनी सम्झिन्छन् । भन्छन्, ‘अहिले त्यो बजेट खर्च नै हुँदैन । निकै कम बजेट हुन्छ । विज्ञापन टेलिभिजनमा हुँदैन, सामाजिक सञ्जालमा राख्ने गरिन्छ । यो गलत भइरहेको छ । कुनै पनि कुरा बनाउँदा राम्रो बनाउनुपर्छ भन्ने कुरा क्लाइन्टले बुझ्नुपर्ने कुरा हो ।’
विज्ञापन निर्माण गर्ने क्लाइन्टले पनि विज्ञापनले समाजमा कुनै असर पार्छ भन्ने सोचेर प्रभाव छाड्ने किसिमले विज्ञापन निर्माण गर्नुपर्ने उनी बताउँछन् । सँगै ओझा के को विज्ञापन हो र कुन उत्पादन हो भन्ने कुराले पनि विज्ञापन कति प्रगतिशील हुन्छन् भन्ने कुरालाई निर्धारण गरिरहेको बताउँछन् ।
सन् २००९ मा ‘जर्नल अफ बिजनेश इथिक्स’ मा प्रकाशन भएको लिन र येनको अनुसन्धानात्मक लेख ‘कम्पेरिङ सोसियल अवेरनेश अफ वुमन:मिडिया पोट्रेड आइडीयलाइज्ड इमेजेज एन्ड फिजिकल अट्रयाक्कटिभनेश’ मा उल्लेख भएअनुसार राम्रा विज्ञापनले संस्कृतिको सही मिश्रण, सामाजिक मूल्यहरु र व्यक्तिको कुराहरुलाई प्रतिबिम्बित गर्छन् । तर, नेपाली विज्ञापनको हकमा सामाजिक पाटोबाट भने धेरै परिवर्तन हुन सकेको छैन । बनिरहेका विज्ञापनले यसलाई सावित गरेका छन् । केही विज्ञापनमा परिवर्तन देखिए पनि प्रायः विज्ञापन प्रगतिशीलतासहितका छैनन् ।
वरिष्ठ टेलिभिजन पत्रकार तथा अध्यापक जगत नेपाल महिलाको पक्षमा भने विज्ञापनहरु कतिपय अवस्थमा एकतर्फी र कतिपय अवस्थामा बजारकेन्द्रित रहेको बताउँछन् । उनी भन्छन्, ‘विज्ञापनमा कथाले मागेको ठाउँमा महिलालाई राख्नु ठिक छ । महिलालाई राख्नु नै गलत हो भन्ने त हुँदैन । तर, कतिपय अवस्थामा विज्ञापनहरुमा एकतर्फी र बजारकेन्द्रित रुपमा प्रस्तुत गरिएको छ ।’
उनी विज्ञापन बनाउने संयन्त्रहरुमा बढि अनुसन्धान नहुनु, बजेट नहुनुजस्ता कुराहरुले विज्ञापन प्रगतिशील नहुनुमा कारक बन्ने बताउँछन् ।
‘विज्ञापन बनाउने मान्छे आफू जुन स्कुलिङबाट गएको छ, त्यसैको आधारमा विज्ञापन बहिरहेका छन्,’ उनी भन्छन्, ‘यस्तो विज्ञापन बनाउँदा रिचर्समा आधारित भएर जाने हो भने ठिक हुन्छ भन्ने कुरा हो । तर, हाम्रोमा अनुसन्धान राम्रोसँग हुन सकेको छैन । अहिले मन्दीको समयमा न्यून बजेटमा विज्ञापनहरु बनिरहँदा पनि समस्या आइरहेको छ ।’
विगतमा विज्ञापन निर्देशनको काम पनि गरेका तथा एपिवान टेलिभिजनसँग आबद्ध सुरेश पौडेल विज्ञापनमा प्रगतिशील विचार नआउनुको मुख्य कारण सिर्जनशीलताको कमी रहेको बताउँछन् । पौडेल कतिपय अवस्थामा क्लाइन्ट (विज्ञापन बनाउन लगाउने कम्पनी वा व्यक्ति)को माग पनि कारक बन्ने भए पनि मुख्य कुरा सिर्जनशीलताको कमी रहेको बताउँछन् ।
‘मैले केही वर्षअघि चामलको विज्ञापन बनाउँदा क्लाइन्टले हिरोइनलाई ट्रेडमिलमा हिँडाउन भनेका थिए,’ उनी भन्छन्, ‘चामलसँग महिलाको कुनै सम्बन्ध नभएपछि यो गर्नैपर्ने माग थियो । कतिपय अवस्थामा यस्तो बाध्यता पनि आउँछ । तर, अहिलेको अवस्थामा हेर्दा विज्ञापन बनाउनेहरु क्रिएटिभ (सिर्जनशील) नभएर यस्तो देखिएको हो । विज्ञापनमा प्रगतिशीलता ल्याउन क्रिएटिभिटी चाहिन्छ । विज्ञापन बनाउनेहरु क्रिएटिभ हुने हो भने क्लाइन्टलाई कुनै न कुनै रुपमा कन्भिन्स गराउन सक्छन् ।’
समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा भने विज्ञापनमा समाजकै प्रतिबिम्ब देखिएको समाजशास्त्रीहरु बताउँछन् । उनीहरुका अनुसार नेपाली सामाजका सामाजिक संरचनाहरु लैंगिक आधारमा निर्माण भएका छन् । श्रमको विभाजन पनि लैंगिकताको आधारमा नै भएको छ । समाजशास्त्री डा. ईश्वरी भट्टराई महिला घरको भूमिकामा बस्ने, पुरुष बाहिर काम गर्नेजस्ता लैंगिकताका आधारमा भाष्यहरु नेपाली समाजमा रहेको बताउँछन् । यिनै कुराहरु विज्ञापनमा पनि प्रतिबिम्बित हुने उनको भनाइ छ ।
‘यही अनुपातमा विज्ञापन पनि लैंगिकताकै आधारको प्रतिबिम्बित भएको छ,’ डा. भट्टराई भन्छन्, ‘महिलाले भान्सामा काम गरेको, छोराछोरी हेरेको र पुरुष बाहिरबाट पैसा पठाउने, पुरुष संरक्षक भएको रुपमा विज्ञापनमा देखाइएको छ । सामाजिक अवस्थाकै प्रतिबिम्ब यहाँ पनि देखिएको छ ।’
शिक्षा, रोजगारी, बसाइँसराइ, महिला अधिकारजस्ता कुराहरुले समाज केही प्रगतिशील बन्दै गएको भनिए पनि समाज अझै पनि पछि नै रहेको डा. भट्टराई बताउँछन् । समानता र महिला आन्दोलनका पक्षहरुले केही परिवर्तन ल्याउन खोजेको भए पनि समाजपछि नै रहेको उनले बताए ।
‘थोरै कमले मात्रै स्वीकार्ने भए पनि समाज अझै पनि पछाडि नै छ,’ उनी भन्छन्, ‘त्यसैको परिणाम यस्ता लैंगिक आधारमा विभेदपूर्ण र परम्परागत विज्ञापन हामी देखिरहेका छौं । महिलालाई घरबाट बाहिरको भूमिकामा धेरै कमले देखाउँथे । अहिले पनि कमले देखाउँछन् । तर, अहिले केही अनुपातमा धेरै महिलाको भूमिका घरबाहिर पनि देखिन थालेको छ ।’
तर, यी सबैका बीच पनि महिला सहायक भूमिकामा नै भएको, महिला ठूलो पदमा हुन सक्दैनन् भन्ने कुरा नै समाजमा गडेर रहेको छ । डा. भट्टराई विज्ञापनमा यो प्रगतिशीलता नआउनुको कारण हुर्काइको संरचना रहेको बताउँछन् ।
‘हामी हिजो हुर्किंदा यस्तै संरचनागत अवस्थामा हुर्किएर आयौं, जहाँ महिला घरमै बस्नुपर्ने, घरबाहिरको काम पुरुषले गर्ने, सम्पत्तिको अधिकार महिलासँग नहुने भन्ने अवस्था थियो,’ उनी भन्छन्, ‘यस्तो सामाजिक संरचनाबाट हुर्किएर आएकाहरुको दिमागमा यो लैंगिक असमानता यसरी गडेको छ कि त्यो परिवर्तन सहजै हुँदैन । त्यो सोचमा परिवर्तन हुन नसकेकै कारण आज समाज परिवर्तनतर्फ जाँदा पनि विज्ञापनमा प्रगतिशीलता देखिन सकेको छैन् ।’
अप्रगतिशील विज्ञापनले समाजमा कस्तो असर गर्छ ?
वरिष्ठ टेलिभिजन पत्रकार नेपाल विज्ञापनको प्रभाव बृहत् भएकाले समाजअनुरुप हुनुपर्ने बताउँछन् । विज्ञापन तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ छ । विज्ञापनहरु सूचनाको ठूलो स्रोत भएकाले यसले सामाजिक रुपमा असर गर्ने कुरामा कुनै दुबिधा नै नरहेको बताउँछन् । उनी भन्छन्, ‘हामी कतिपय सामानको बारेमा विज्ञापनबाटै थाहा पाउँछौं । विज्ञापन सूचनाको ठूलो स्रोत हो । यसले समाजमा असर पर्याप्त छाडिरहेको हुन्छ । असर नगर्ने भए व्यापारीले पैसा खर्च गरेर विज्ञापन किन बनाउँछन् र !’
समाजमा विज्ञापनले प्रभाव पार्ने हुँदा यसमा प्रगतिशीलतालाई प्रस्तुत गर्न नसक्नुले परम्परागत सोचलाई नै थप निर्माण गर्न सहायता दिइरहेको जानकारहरुको बुझाइ छ । सिग्देलको लेख ‘टेलिभिजन विज्ञापनमा हेराईबीचको द्वन्द्व, शक्तिको अभ्यास र आइडियोलोजीको निर्माण’ मा उल्लेख भए अनुसार लामो समयको अन्तरालमा पनि विज्ञापनमा परिवर्तन नहुनुले परम्परागत मूल्य र मान्यताको निर्माणमा योगदान गरिरहेको हुन्छ ।
लैंगिक आधारमा विभेदपूर्ण देखिने विज्ञापनहरु र सामाजिक प्रगतिशीलतालाई प्रस्तुत गर्न असमर्थ रहेका विज्ञापनले समाजलाई थप पछिल्तिरै धकेलिरहने जानकारहरु बताउँछन् । विज्ञापनमा पुरुषको स्थान परम्परागत रुपमै आर्थिक अधिकारले सम्पन्न र महिला आर्थिक अधिकारविहीन तथा भान्सामै बस्नुपर्ने रुपमा अप्रगतिशील भाष्यसहित प्रस्तुत गरिनुले समाजमा भइरहेको रुपान्तरणलाई यसले असर गर्ने समाजशास्त्रीहरु बताउँछन् । विज्ञापन पनि समाजभित्रकै संस्था (सोसियल इन्स्टिट्युसन) भएका कारण यसको प्रभाव समाजमा रहने उनीहरुको प्रस्टोक्ति छ ।
विज्ञापन पटक-पटक दोहोरिरहने भएकाले त्यसले समाजमा विचार निर्माणमा पूर्णरुपमा असर गर्ने समाजशास्त्रीहरु बताउँछन् । डा. भट्टराई सामाजिक संरचनाकै एक भाग भएकाले विज्ञापनले बोक्ने भाष्यले सामाजिक रुपमा पूर्ण प्रभाव पार्ने बताउँछन् । विज्ञापनमा सामाजिक रुपमा प्रभावशाली रहेको परम्परागत सोच तथा भाष्यलाई प्रस्तुत गरिरहँदा त्यसले अघि बढिरहेको समाजलाई पुनः पछिल्तिर नै धकेल्ने वा सामाजिक रुपमा रहेको असमानतालाई नै टेवा पुर्याउने उनी बताउँछन् ।
मार्केटिङको क्षेत्रमा काम गरेका ओझा विज्ञापनले समाजको प्रगतिशीलतालाई प्रस्तुत गर्न नसक्दा यसले समाज जुन रुपमा चलिरहेको छ, त्यसरी नै अघि बढ्नतर्फ सहयोग गर्ने बताउँछन् । उनी भन्छन्, ‘समाजलाई पछिल्तिर धकेल्ने भन्ने हुन्छ जस्तो त मलाई लाग्दैन । तर, समाजलाई अघि बढाउनमा सहयोग चाहिँ पक्कै हुँदैन । अप्रगतिशील विज्ञापन हुँदा समाजलाई त्यसले प्रगतिशील बनाउँछ भन्ने चाहिँ हुँदैन ।’
२०१६ मा गोपाल थापाले गरेको विद्यावारिधीको शोध ‘इम्प्याक्ट अफ टेलिभिजन एडभर्टाइजिङ अन नेप्लिज चिल्ड्रेन’ मा ४७० जनामा गरिएको स्याम्पिलिङमा ७६.२ प्रतिशतले कहिलेकाहीँ आफ्ना सन्तानसहित टेलिभिजन हेर्ने गरेको र १६ प्रतिशतले सधैं आफ्ना सन्तानसहित टेलिभिजन हेर्ने गरेको पाइएको थियो । यसमध्ये ७७.६ प्रतिशतले बालबालिकाले टेलिभिजनमा देखेको विज्ञापनलाई सम्झिने गरेको बताएका थिए । त्यस्तै, ७५.७ प्रतिशतले विज्ञापनमा देखेको कुरालाई नक्कल गर्ने वा अनुशरण गर्न खोजेको पाइएको थियो ।
समाजशास्त्री डा. शोभा ढुंगाना विज्ञापनले बालबालिकालाई धेरै हदसम्म असर गर्ने र समाज रुपान्तरणको विपरीत बनेका विज्ञापनहरुले नकारात्मक असर गर्ने बताउँछिन् । उनी विज्ञापनमा हुने जिंगलजस्ता आकर्षक कुराका कारण बालबालिकाले त्यसलाई छिट्टै नै मस्तिस्कमा राख्ने र सोहीअनुसार आफू वरिपरिका कुराहरु खोज्ने बताउँछिन् ।
‘कतिपय कुरा महिलाले नै गर्नुपर्छ भन्ने जुन परम्परागत टिको लगाइएको छ, त्यो हट्न धेरै गाह्रो छ,’ उनी भन्छिन्, ‘अहिले आमसञ्चारको भूमिका धेरै छ । यस्तोमा विज्ञापनको असर पनि धेरै हुन्छ । विज्ञापनमा आमाले भान्सामा काम गरेको र बुबा कमाउन गएको देख्ने बालबालिकाले त्यही अनुसार आफ्नो परिवार किन छैन भनेर खोज्न सक्छ ।’
डा. ढुंगाना विज्ञापन मान्छेको घरघरमा पुग्ने साधन भएको बताउँछिन् । घर नै बालबालिका प्रमुख पाठशाला भएका कारण विज्ञापनहरु प्रगतिशील सोचसहित बनेमा त्यसले समाजलाई पनि प्रगतिशील रुपान्तरणमा जान सहयोग पुर्याउने बताउँछिन् । उनी भन्छिन्, ‘मिडियाको ठूलो हात बालबालिकाको वृद्धिमा हुन्छ । विज्ञापनहरु मिडियाकै अंश हुन् । विज्ञापनमा हेर्दा हरेक निर्णय बुबाले गरेको देख्छ । आर्थिक अधिकार बुबासँग भएको देख्छ । यो सबै देख्दा उसले आफ्नो घर परिवार पनि त्यस्तै हुनुपर्छ भन्ने सोच्ने गरी भाष्य निर्माण हुन्छ ।’
विज्ञापनमाथि सिर्जनात्मक हस्तक्षेप आवश्यक, विज्ञापन बोर्ड पनि हस्तक्षेप गर्न तयार
समाजशास्त्री डा. ईश्वरी भट्टराई विज्ञापन लैंगिकताको आधारमा विभेदपूर्ण र अप्रतिशील भइरहँदा त्यसमाथि प्रश्न गरेमा केही परिवर्तन देखिने बताउँछन् । विज्ञापन बनाउने स्थानमा लैंगिकताको आधारमा विभेदपूर्ण प्रस्तुत भइरहेका कुराहरुलाई प्रश्न गर्ने मान्छेहरु भएमा विस्तारै विज्ञापनमा भइरहेको प्रस्तुतीकरणमा परिवर्तन आउने उनी बताउँछन् ।
‘समाजको प्रभावशाली परम्परा (डोमिनेन्ट ट्रेडिसन)लाई नै विज्ञापनमा देखाउँछन्, त्यसलाई नै देखाउँदा धेरैभन्दा धेरैलाई त्यसले तान्छ भन्ने विज्ञापन निर्माताहरुको बुझाइ छ,’ उनी भन्छन्, ‘विज्ञापनमाथि प्रश्न गर्नुपर्छ । त्यो प्रश्न गर्दा सामाजिक रुपमा हुने विभिन्न सामाजिक दबाब पनि छन् । यस्ता विज्ञापनहरुको विषयमा समाजबाट आलोचना गर्दा उनीहरु पनि सचेत हुन्छन् । प्रश्न गरेमा बनेका विज्ञापन हट्न सक्ने वा नयाँ बनाउँदा यी कुराहरु प्रगतिशीलतालाई ध्यानमा राखेर विज्ञापन निर्माण गरिने हुन्छ ।’
विज्ञापन निर्माण तथा मार्केटिङ क्षेत्रमा एक दशक समय बिताएका ओझा विज्ञापनको प्रगतिशीलताको कोणबाट प्रश्न नै नभएको बताउँदै यो कोणबाट हेरिनुपर्ने बताउँछन् । विज्ञापनलाई प्रगतिशीलताको कोणबाट समीक्षा गर्दै गएमा विस्तारै समानता विज्ञापनमा देखिने उनी बताउँछन् ।
‘यो रुपबाट कसैले प्रश्न गरेको छैन, यो कोणबाट हेरिनुपर्ने हो,’ उनी भन्छन्, ‘यो कोणबाट हेरिएकै छैन । विज्ञापनमा प्रगतिशीलता र समानता राख्ने हो भने विस्तारै धेरै कुरा परिवर्तन हुन्छन् । विज्ञापनमा प्रगतिशीलता हुने र पुरुष पनि महिलाकै जस्तो घरायसी काममा देखिने हो र महिला पनि सामाजिक रुपमा भएको रुपान्तरणअनुसार देखिने हो भने त्यसले पक्कै पनि समाजमा असर गर्छ ।’
नेपालको संविधानले नै कुनै पनि रुपमा लैंगिकताको आधारमा विभेद गर्न नहुने व्यवस्था गरेको छ । विज्ञापनको क्षेत्रमा हेर्ने हो भने विज्ञापन कोर्ड केही वर्षअघि स्थापना भएको छ, जसले विज्ञापनको नियमन गर्ने काम गर्छ । हाल नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को आधारमा रहेर बोर्डले काम गरिरहेको छ ।
बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं हालै विज्ञापन नियमन गर्न विज्ञापन नियमन गर्ने नियमावली २०७७ को पहिलो संशोधन २०८० आएको बताउँछन् । साउन १६ गते मन्त्रिपरिषद्ले पास गरी साउन ३२ गते उक्त संशोधन राजपत्रमा प्रकाशित भएको छ । उक्त संशोधनमार्फत विज्ञापन प्रसारण गरिनुअघि विज्ञापन बोर्डबाट पास गर्नुपर्ने व्यवस्था गरेको छ । विज्ञापन पास गर्नका लागि परीक्षणका मापदण्डहरु तयार भएको हुमागाईं बताउँछन् ।
‘विज्ञापन परीक्षण गर्दा मापदण्डअनुसार लैंगिकमैत्री बनाउन आग्रह गर्छौं र त्यसलाई हामी रोक्न पनि सक्छौं,’ हुमागाईं भन्छन् ।
अप्रगतिशील प्रस्तुतीकरणसहितका विज्ञापनहरु परम्परागत सोचबाट निर्धारित रहेको उनको तर्क छ । ‘यस्ता विज्ञापनमा तत्काल परिवर्तन आउँदैन,’ उनी भन्छन्, ‘जबसम्म विज्ञापन बनाउने मान्छे, एजेन्सी वा संयन्त्रमा यो सोच अर्थात् परम्परागत सोचमा परवर्तन आउँदैन, तबसम्म विज्ञापनमा परिवर्तन आउँदैन । उनीहरुको दिमागमै त्यो परम्परागत सोचबाट ग्रसित सोच बसेको छ । त्यसलाई परिवर्तन गरेमा मात्रै विज्ञापनमा परिवर्तन आउँछ ।’
बोर्डले विज्ञापन बनाउनेहरुमा सोचको परिवर्तन र परम्परागत सोचबाट ग्रसित विज्ञापन नबनुन् भन्ने लक्ष्यसहित क्षमता अभिवृद्धिका लागि तालिम पनि सञ्चालन गरेको छ । गत वर्ष मात्रै तीनवटा कार्यक्रम गरिएको उनले बताए । त्यसअघि अर्थात् २०७८ मा पनि तीन वटा कार्यक्रममार्फत विज्ञापन बनाउनेहरुको क्षमता अभिवृद्धिका लागि काम भएको थियो । हुमागाईं बोर्ड निरन्तर यो काममा लागिरहेको बताउँछन् । यो वर्ष पनि यस्तो कार्यक्रम गर्ने तयारी छ ।
बोर्डले सँगै विज्ञापनको परीक्षण गरेर पास गर्ने नीति पनि ल्याएको छ । विभिन्न चरणमा काम भइरहेको हुमागाईं बताउँछन् । कुनै विज्ञापन प्रगतिशील नभई परम्परागत सोचले निर्देशित भएमा त्यस्तो विज्ञापनको प्रसारणमा रोक नै लगाउन सक्ने किसिमको व्यवस्थाका साथ काम भइरहेको छ बोर्डबाट ।
‘पहिलो कुरा हामीले के गर्नुपर्यो भने यसका लागि हामीले यस्ता विज्ञापन स्टेरियोटिपिकल विज्ञापन हो र यस्ता विज्ञापनले महिलाको समान विकास नहुने र लैंगिकमैत्री नहुने भन्ने कुराको विश्लेषण गर्छौं,’ हुमागाईंले भने, ‘दोस्रो परीक्षणको समयमा त्यस्ता विज्ञापन आएमा परीक्षणको समयमा यस्तो विज्ञापन नबनाउन पनि भन्छौं । तेस्रो कुरा भनेको हामी कसैले विज्ञापन उत्पादन गर्नु छ र भोलि पास नभएमा के गर्ने भन्ने भएमा स्क्रिप्ट र स्टोरीबोर्ड पास गर्न ल्याउन सक्छन् । ठूलो लगानी गरेर विज्ञापन रोकिएमा त्यसमा समस्या आउँछ भनेर हामीले यो व्यवस्था पनि मिलाएका छौं । यो अनिवार्य त छैन । तर, चाहेमा गर्न सकिन्छ ।’
विज्ञापनको विषयलाई लिएर नेपाली सञ्चारमाध्यम, बौद्धिक वृतमा चर्चा विगतमा नहुनु पनि कमजोरी रहेको बताउँछन् हुमागाईं । सँगै विज्ञापन सिर्जनात्मक काम भएकाले अन्य देशहरुमा क्रिएटिभ एजेन्सीलाई यसको जिम्मा दिइएकोमा नेपालमा भने त्यस्तो व्यवस्थासमेत भएको छैन । तर, अहिले भने बोर्डले यी विषयलाई लिएर सशक्त रुपमा प्रस्तुत भइरहेको हुमागाईंले बताए । बोर्डले केही समयअघि पठाओको एक विज्ञापनमा प्रश्न उठेपछि प्रसारण बन्द गरेको थियो । त्यस्तै, एक बैंकको विज्ञापनमा हजुरबुबा, छोरा र नातिले ‘बचत गरौं’ भन्ने जिंगल गाएको विषयलाई लिएर प्रश्न उठेपछि त्यो विज्ञापनको पनि प्रसारणमा रोक लगाइएको थियो ।
‘विज्ञापन भनेको पटक-पटक बज्छ र त्यसले समाजमा धेरै असर गर्छ,’ उनी भन्छन्, ‘तर यो क्षेत्रमा काम नै भएको थिएन । बल्ल काम भएको छ । यसमा महत्वपूर्ण कुरा भनेको क्रिएटिभिटी नै महत्वपूर्ण हो र क्रिएटिभ एजेन्सीमार्फत विज्ञापन बनाउन प्रोत्साहन गर्ने काम गरिरहेका छौं । विज्ञापन रोक्ने भन्ने होइन, विज्ञापन विभेदपूर्ण बनाउनु भएन भन्ने हो । हामी त्यसतर्फ गइरहेका छौं ।’
विज्ञापनको अवस्था, विज्ञापनमा लैंगिकताको आधारमा हुने प्रस्तुतिजस्ता विषयमा विगतमा नेपालमा केही अध्ययन तथा अनुसन्धान भएका छन् । हुमागाईं अब भने विज्ञापनको क्षेत्रमा हस्तक्षेप पनि आवश्यक देखिएको बताउँछन् । उनी भन्छन्, ‘यो क्षेत्रमा हस्तक्षेप चाहिएको धेरै अगाडि हो । ढिलै भए पनि सुरु भएको छ । हस्तक्षेप गलत अर्थमा नभएर सिर्जनात्मक हस्तक्षेप गर्ने भन्ने हो । विज्ञापन प्रगतिशील बनाउनुपर्छ भन्नु पनि हस्तक्षेप हो । र अब यो सुरु भइसकेको छ ।’
[ यो अनुसन्धानात्मक रिपोर्टिङ संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) र विज्ञापन बोर्डद्वारा संयुक्त रुपमा प्रदान गरिएको फेलोसिपअन्तर्गत तयार गरिएको हो । ]