कांग्रेस घोषणापत्र: ०७४ कै चुनावका अधिकांश वाचाको निरन्तरता, के के छन् नयाँ ?



कांग्रेसको घोषणापत्र खासै महत्वकांक्षी देखिँदैन । नेतृत्वमा बस्नेले इमानदार भएर काम गर्ने हो भने अधिकांश घोषणाहरु कार्यान्वयन गर्न सक्ने देखिन्छ । किनकी, कांग्रेसले ठूल्ठूला र असंभव सपनाहरु खासै बाँडेको देखिँदैन ।

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित भएर शनिबार सार्वजनिक गरेको संकल्पपत्र (घोषणापत्र) मा अघिल्लो (२०७४ को) प्रतिनिधि सभा तथा प्रदेश सभाका निर्वाचनका क्रममा वाचा गरेकै कुराहरलाई निरन्तरता दिएको छ । संकल्पपत्रमा कांग्रेसले पुरानै कार्यक्रम तथा वाचाहरुलाई परिमार्जिक शब्दावलीहरुसहित दोहोर्‍याएको छ ।

मंसिर ४ को निर्वाचन केन्द्रित संकल्पपत्रमा कांग्रेसले देशमा रोजगारी सिर्जना गर्ने, वर्षिक ७ प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने, जलवायु परिवर्तन, वातावरण र विपद् व्यवस्थापन जस्ता विषयमा ध्यान दिने, समावेशी आर्थिक सामर्थ्यको विकास गर्नेजस्ता थुप्रै संकल्पहरु गरेको छ ।

अघिल्लो प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जस्तै यसपटक पनि नेपाली कांग्रेसको घोषणापत्रमा युवादेखि वृद्धवृद्धा केन्द्रित वाचाहरु छन् ।

कांग्रेसले २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा पनि यस्तै विषयहरुलाई समेटेको थियो । उद्योगको पुनर्जागृति, पर्यटनमा गुणात्मक फड्को, कृषिको आधुनिकीकरण, युवा उद्यमशीलताको विकास, महिला उद्यमीलाई प्रोत्साहनजस्ता विषयहरु समेटेर कांग्रेसको २०७४ को घोषणापत्र सार्वजनिक भएको थियो ।

कांग्रेसको घोषणापत्र खासै महत्वकांक्षी देखिँदैन । नेतृत्वमा बस्नेले इमानदार भएर काम गर्ने हो भने अधिकांश घोषणाहरु कार्यान्वयन गर्न सक्ने देखिन्छ । किनकी, कांग्रेसले ठूल्ठूला र असंभव सपनाहरु खासै बाँडेको देखिँदैन ।

कांग्रेसले यसपटकको निर्वाचनका लागि सार्वजनिक गरेको संकल्पपत्रमा ‘कोखदेखि शोकसम्म’ भन्ने प्रतिबद्धतासहित विभिन्न ९ क्षेत्रहरुमा वाचाहरु अघि सारेको छ ।

धेरै विज्ञहरुको सहभागिताका साथ तयार पारिएको भनिएको उक्त संकल्पपत्रमा केही विषयहरु नविन किसिमका भएता धेरै जसो प्रतिबद्धताहरु भने कांग्रेसले २०७४ कै निर्वाचनमा तयार पारेको घोषणापत्रकै छन् । तीनै प्रतिबद्धताहरुलाई परिमार्जित शब्द तथा तर्कहरुसहित यसपटकको संकल्प पत्रमा समेटिएको छ ।

हुन त कांग्रेस सत्तामा आएको पछिल्लो १५ महिना मात्रै भएको छ । तर, यो अवधिमा कांग्रेसको २०७४ को घोषणा पत्रमा वाचा गरिएका कामहरुले कार्यन्वयन हुने अवसर नै पाएका छैनन् । अघिल्लो पटक मुख्य गरि १० वर्षको योजनाकेन्द्रित भएर विषयहरु घोषणा पत्रमा समेटिएका थिए भने यसपटक कांग्रेसको संकल्पपत्रमा आगामी पाँच वर्षका लागि लक्ष्यहरु राखिएको छ।

युवा रोजगारीमा वाचैवाचा

गत प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको समयमा कांग्रेसले ‘युवा उद्यमशीलताको विकास’ शीर्षकमा युवा केन्द्रित घोषणाहरु गरेको थियो ।

कांग्रेसले युवाहरुको सिर्जनशीलता, सीप र दक्षता विकास गर्दै कृषि, साना तथा मझौला उद्योगहरु र पर्यटनको विकास र विस्तारका लागि प्राथमिकता दिने जनाएको थियो । सँगै गाउँ, नगर र डायस्पोराका युवाहरुलाई प्रोत्साहन दिई उद्यामशीलता र स्वरोजगारीको प्रवद्र्धन गर्न ‘युवा उद्यम चुनौती कोष’ कार्यान्वयनमा ल्याउने बताएको थियो ।

सँगै, स्नातक उपाधि हासिल गरेका तर बेरोजगार शिक्षित युवाहरुलाई स्थानीय तहमा सामुदायिक स्वयंसेवा गर्ने कार्यक्रममा संलग्न गराउने र त्यसो गरेवापत दुई वर्षसम्म बेरोजगार भत्ता दिने कांग्रेसको वाचा थियो ।

देशमै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने र युवाको ज्ञान, शीप, अनुभव र सिर्जनशीलतालाई उपयोग गर्न देशका समग्र निकायहरमा युवाहरुको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नेजस्ता कुरा कांग्रेसको २०७४ को प्रतिनिधि सभा तथा प्रदेश सभा केन्द्रित घोषणा पत्रमा समावेश भएको विषय थिए ।

२०७९ को निर्वाचनका लागि सार्वजनिक भएको कांग्रेसको संकल्पपत्रमा पनि उस्तै वाचाहरु दोहोरिएका छन् । युवाहरुलाई देशमै रोजगारीको अवसर दिनेदेखि कर्जा सुविधा दिनेजस्ता विषयहरु पुनः दोहोरिएका छन् ।

कांग्रेसको संकल्पपत्रमा भनिएको छ, ‘बाह्य मान्यता हुने गरी प्राविधिक शिक्षालयहरुको स्तरोन्नति गरी विशेष गरी सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको तालिम केन्द्र सञ्चालन गर्दै युवाहरुलाई नेपालमै रोजगारी खोज्न प्रेरित गर्ने रणनीति अवलम्बन गर्नेछौं ।’

२०७४ मा १६ देखि ४५ वर्षसम्मका युवाहरु लक्षित भएर सहुलियतपूर्ण वित्तीय कार्यक्रम ल्याइने घोषणा गरिएको थियो । उक्त कार्यक्रममा वित्तीय लगानीको २५ प्रतिशत अंश युवा उद्यमीको आफ्नै लगानी, २५ प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत सहुलियतपूर्ण ऋण सहायता हुने वाचा कांग्रेसको थियो । यसपटक पनि सोही प्रकारको कार्यक्रममा एक कदम अघि बढ्दै कांग्रेसले स्थानीय सरकार र वित्तीय संस्थामार्फत् संघीय सरकारको संयुक्त ग्यारेन्टीमा कर्जा सुविधा दिन पहल गर्ने संकल्प गरेको छ ।

कांग्रेसले आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । अघिल्लो पटक पनि कांग्रेस स्थानीय प्रशासनमा कम्तीमा एक लाख युवाहरुलाई संलग्न गराउने गरि इन्टनसिप कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो । सँगै अघिल्लो पटक युवाहरुलाई दक्ष बनाउन निर्व्याजी ऋण र निरन्तर तालिमका साथै कम्तीमा सय दिनको रोजगारीको ग्यारेन्टी गरिने जनाएको थियो ।

कृषिमा कांग्रेसको प्रतिवद्धता

२०७४ मै कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रअनुसार कृषिअन्तर्गत विभिन्न क्षेत्रमा थुप्रै कार्यहरु भइसक्नुपर्ने थियो । त्यत्तिबेला कांग्रेसले देशभरमा १८ लाख हेक्टर खेतीयोग्य जमिन १२ महिना नै सिंचित हुने अवस्था सिर्जना गर्दै आगामी १० वर्षभित्रमा कृषि उत्पादकत्व ३२७८ टन प्रति हेक्टरबाट दोब्बर बनाउने बताएको थियो ।

सँगै तराई तथा मधेशका क्षेत्रमा भूमिगत सिचाईंलाई व्यापक रुपमा विस्तार गर्ने बताएको थियो । आगामी पाँच वर्ष भित्रमै देशभरमा सिचाईं हुने जमिनको अंश ५० प्रतिशत पुर्‍याउने कांग्रेसको प्रतिबद्धता थियो ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गर्ने, कृषिको व्यावसायीकरण गर्नेजस्ता प्रतिबद्धता कांग्रेसको थियो । कृषिलाई आकर्षक पेसाको रुपमा विकास गर्न कृषि सहयोगी पूर्वाधार विकासमा सरकारको लगानी बढाउने र कृषि पेशमा जोडिन शिक्षित युवाहरुलाई आकर्षित गर्ने घोषणा पत्रमा उल्लेख थियो ।

सँगै तीन वर्षभित्रमा सार्वजनिक, निजी, सहकारी साझेदारीमा देशमा एउटा रासायनिक मल कारखाना स्थापना गर्ने कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको थियो । यी बाहेक मधेशमा धान र गहुँ, उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ, कागती, बदाम, उन र मासु, मध्य पहाडी क्षेत्रमा कफी, चिया, अलैंची, सुन्तला, केरा, अदुवाजस्ता खेतीहरुको अभियाननै चलाउने कांग्रेसको घोषणा थियो ।

बीउबिजनको भण्डारण गर्ने, पुनः प्रयोग गर्ने, साटासाट गर्नेजस्ता विषयमा पनि कांग्रेसले विशेष प्राथमिकता दिएको थियो ।
मंसिर ४ को चुनावका लागि कांग्रेसले सार्वजनिक गरेको संकल्पपत्रमा पनि यीनै विषयहरु समेटिएका छन् ।

अघिल्लो पटक जस्तै कृषि प्रविधिमा विकास गर्ने प्रतिबद्धता यसपटक पनि समेटिएको छ । उन्नत जातका बिउबिजनको उपलब्धता सहज र सुलभ बनाउने कुरालाई यसपटक पनि प्राथमिकतामा राखिएको छ । ठूला सिचाई प्रणालीको वैज्ञानिक व्यवस्थापन गर्ने विषयलाई यस पटक पनि जोड दिइएको छ ।

अघिल्लो पटक क्षेत्रगत रुपमा समेटिएका कृषिका सामग्रीहरुलाई यसपटक आयात र निर्यातमा वर्गिकरण गर्दै उत्पादनमा जोड दिने उल्लेख गरिएको छ । आयात हुने धान, मकै, गहुँ, आलु तथा निर्यात हुने चिया, कफी, अलैची, अदुवाजस्ता वस्तुहरुको उत्पादन वृद्धि गर्ने विषय संकल्प पत्रमा समेटिएको छ ।

२०७४ मा जस्तै यसपटक पनि कृषि योग्य जमिनलाई बाँझो राख्ने तथा गैरकृषि प्रयोग गर्ने परिपाटीलाई निरुत्साहित गरिने विषयलाई प्राथमिकतामा राखिएको छ । अघिल्लो पटकको निर्वाचनमा पनि यो विषय समेट्दै लेखिएको थियो, ‘देशमा बढ्दै गएको जग्गा बाँझो छाड्ने प्रवृत्ति, कृषिमा बढ्दो लागत, श्रमशक्तिको पलायत जस्ता समस्याहरुलाई सम्बोधन गर्दै कृषिलाई नाफामूलक व्यवसायमा रुपान्तरण गर्न सामुदायिक खेतीको अवधारणा अघि बढाइने छ ।’

शिक्षामा कांग्रेसको प्रतिबद्धता

अन्य विषयमा जस्तै शिक्षामा पनि कांग्रेसले आधारभूत विषयहरुलाई नै संकल्पपत्रको मुद्दा बनाएको छ । साक्षरता, राजनीति हस्तक्षेप मुक्त शैक्षिक क्षेत्र, व्यवस्थित र प्रभावकारी शिक्षा क्षेत्रजस्ता आधारभूत विषयहरु कांग्रेसको यसपटकको संकल्प पत्रमा समेटिएका छन् ।

अघिल्लो पटकको निर्वाचनको समयमा सार्वजनिक कांग्रेसको घोषणापत्रमा समेटिएका विषय पूरा नभएको अवस्थामा शिक्षा क्षेत्रमा यी प्रतिबद्धताहरु भएका हुन् । जसमध्ये धेरै जसो प्रतिबद्धताहरु त पुरानै घोषणा पत्रमा पनि समेटिएका थिए ।

कांग्रेसले २०७४ को निर्वाचनमा सार्वजनिक गरेको घोषणा पत्रमा १५ देखि २४ वर्ष उमेर समूहका सम्पूर्ण नेपालीलाई शतप्रतिशत साक्षर बनाउने घोषणा गरेको थियो । यसपटकको संकल्प पत्रमा कांग्रेसले सोही उमेर समूहका महिलाहरुलाई शत प्रतिशत साक्षर बनाउने प्रतिबद्धता जनाएको छ ।

कांग्रेसले अघिल्लो पटक नै देशभित्रै स्तरीय शिक्षा उपलब्ध गराउने सबै प्रदेशमा दक्षिण एशियाली स्तरको एउटा विश्वविद्यालय स्थापना गर्ने प्रतिबद्धता जनाएको थियो । यसपटक पनि कांग्रेसले सातवटै प्रदेशमा चिकित्सा शास्त्र संकायमा पढाई हुने शिक्षण अस्पताल स्थापना गर्ने, विश्वविद्याललाई स्वायत्त प्राज्ञिक संस्थाको रुपमा सुस्थापित गर्न आवश्यक कदम चाल्नेजस्ता विषयहरु समेटेको छ ।

अघिल्लो पटक देशभर वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालय सहितका सामुदायिक स्रोत केन्द्र स्थापना गर्ने घोषणा गरेको कांग्रेसले यसपटक विद्यालयमा २८ प्रतिशत पुगेको इन्टरनेट सेवालाई विस्तार गरेर आगामी ५ वर्षभित्रमा ८० प्रतिशतसम्म पुर्याएर प्रविधियुक्त सिकाईलाई महत्व दिने बताएको छ ।

यसपटक नवीन प्रतिबद्धताका रुपमा कांग्रेसले माध्यामिक तहसम्मका सम्पूर्ण कक्षाका लागि उपयोगी हुने डिजिटल सिकाइका बहुविधागत प्लेटफर्महरुको निर्माण गर्ने, त्यस्ता प्लेटफर्म चलाउन निशूल्क डाटा दिने, अहिलेको पाठ्यक्रममा ४० प्रतिशतसम्म प्राविधिक र व्यावसायिक सीपलाई समावेश गर्नेजस्ता विषयहरु समेटेको छ ।

भौतिक पूर्वाधार

अघिल्लो पटक कांग्रेसले भौतिक पूर्वाधारअन्तर्गत सिचाईं, सडक, यातायातजस्ता विषयलाई विशेष प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गरेको थियो ।

उक्त घोषणा पत्रमा कांग्रेसले राष्ट्रिय सडक सञ्चालमा नजोडिएका सदरमुकाममा पक्की सडक पुर्‍याउने, हिमाली क्षेत्रमा सडक यातायात पुर्‍याउने, पहाडी क्षेत्रमा पूर्वाधार विकासका लागि मध्यपहाडी लोकमार्गको पूर्णता गराउनु पहिलो प्राथमिकता रहने, तराई मधेश पूर्वाधार विकासका लागि हुलाकी सडकको निर्माण कार्यलाई पूरा गर्नेजस्ता विषयहरु समेटिएका थिए । यसपटक पनि कांग्रेसले भौतिक पूर्वाधारको क्षेत्रमा ठूला ठूला प्रतिबद्धताहरु आफ्नो घोषणा पत्रमा समावेश गरेको छ ।

२०७४ को घोषणा पत्रमै विसं २०७० मा कांग्रेसले राखेको ‘तीन वर्षभित्र लोड सेडिङ अन्त्य गर्ने’ प्रतिवद्धता राखेर लक्ष्य पूरा गरेको उल्लेख गरेको उसले २०७९ को घोषणा पत्रमा पुनः ‘प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा पक्की छाना’ भन्ने नारासहित कार्यक्रम ल्याएको छ ।

कांग्रेसले यसपटक पनि मध्य पहाडी, हुलाकी र उत्तर दक्षिण कोरिडोरजस्ता राजमार्गहरुको निर्माण सम्पन्न गर्ने तथा स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएको छ ।

अघिल्लो पटक नै आगामी पाँच वर्षभित्रमा हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग र काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कांग्रेसको यो घोषणा पत्रमा पनि आगामी पाँच वर्षभित्रमा यी सडकहरुको निर्माण सम्पन्न हुने उल्लेख छ ।

अघिल्लो पटकको निर्वाचनको घोषणापत्रमा आगामी पाँच वर्षभित्रमा पूर्व–पश्चिम रेलमार्गको कम्तीमा दुई सय किलोमिटर खण्ड निर्माण सक्ने प्रतिबद्धता जनाएको कांग्रेसले यसपटक भने बल्ल रेलमार्ग निर्माणलाई प्राथमिकतामा राख्दै जग्गा अधिग्रहणको कामलाई अघि बढाएर निर्माण कार्यलाई तिव्रता दिने जनाएको छ ।

विगतकै प्रतिबद्धताका रुपमा मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्गका नयाँ शहरहरलाई आधुनिक सेवा सुविधा सम्पन्न बनाइने प्रतिवद्धता यसपटक पनि दिइएको छ । २०७४ मा पनि मध्य पहाडी र हुलाकी राजमार्गको सेरोफेरोमा मझौला आधुनिक शहरको विकास गर्ने प्रतिबद्धता कांग्रेसको थियो ।

कांग्रेसको यसपटकको घोषणा पत्रअन्तर्गत भौतिक पूर्वाधारका पाँच वर्षका प्रमुख लक्ष्यहरुमा आधा घण्टाभित्र पक्की सडक पुग्ने जनसंख्या ७५ प्रतिशत पुर्‍याउने, सुरक्षित घरमा बसोबास गर्ने परिवारको संख्या ५५ प्रतिशत पुर्याउोन र राष्ट्रिय गौरवका सबै निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्ने रहेका छन् ।

जलवायु परिवर्तनः घोषणा पत्रमा सधैं प्राथमिकता

कांग्रेसले अघिल्लो पटककै घोषणा पत्रमा जलवायु परिवर्तनको मुद्दालाई विशेष प्राथमिकताका साथ राखेको थियो । यसको प्रभावलाई कम गर्न कार्यक्रम सञ्चालन गर्नेदेखि न्युन कार्बनयुक्त हरित अर्थतन्त्रतको विकास गरी युवा तथा महिलालाई वातावरण संरक्षणमा सहभागि बनाउँदै रोजगारी सिर्जना गर्ने कांग्रेसको प्रतिबद्धता थियो ।

कांग्रेसले २०७४ मै बागमती, विष्णुमती, कालीगण्डकी, सेती नदिजस्ता नदिहरुको सरसफाई गरि स्वच्छ बनाउने, पूर्वाधार विकासका कार्यलाई वातावरण मैत्री बनाउने, जलवायु परिवर्तले आफ्नो क्षेत्रमा पारेको प्रभावको अध्ययन र त्यसको निरुपण गर्नका लागि कार्यक्रहरु सञ्चालन गर्नेजस्ता प्रतिबद्धता गरेको थियो ।

यसपटक पनि कांग्रेसले जलवायु परिवर्तनको विषयमा थुप्रै घोषणाहरु गरेको छ ।

२०४५ सम्म नेपाललाई शून्य कार्बन (नेट जिरो) उत्सर्जन गर्ने देश बनाउने, सन २०४५ सम्म शहरी यातायातमा अनिज उर्जाको उपयोग शून्यमा झार्ने, शहरी क्षेत्रमा बालबालिका र बृद्धबृद्धा र बालबालिकालाई केन्द्रमा राखेर हरित खुल्ला पार्क नीमार्ण गर्ने कार्यक्रम ल्याउने, आगामी पाँच वर्षमा विद्यतीय सवारीको प्रयोग ५० प्रतिशत पुर्‍याउने जस्ता प्रतिबद्धता कांग्रेसले यसपटकको घोषणा पत्रमा लिएको छ ।


युवराज भट्टराई