हवाई उडान बन्द गर्ने निर्णयबाट पछि हट्यो संघ, अबेर राति आन्दोलन फिर्ता लियो



काठमाडौं । बुधबारदेखि आन्तरिकतर्फका सम्पूर्ण हवाई उडान ठप्प गर्ने चेतावनी दिएको वायुसेवा सञ्चालक संघ पछि हटेको छ । जसका कारण भोलिदेखि विमान तथा हेलिकोप्टरको उडान पुरानै अवस्थामा सञ्चालन हुनेछ ।

मंगलबार अबेर राति नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा सामान्य छलफल भएपछि उडान वायुसेवा सञ्चालक संघ उडान नरोक्ने निर्णयमा पुगेको हो ।

‘आधा घण्टा जति सामान्य छलफल भएको हो र तर कुनै मौखिक वा लिखित सहमति भने भएको छैन,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘उहाँहरु आन्दोलन फिर्ता लिन सहमत हुनु भएको छ ।’

उक्त सहमतिसँगै विमान कम्पनीहरुले भोलिको उडानका लागि बुकिङ शुरु गरिसकेका छन् । वायुसेवा सञ्चालक संघका अनुसार बुधबार विहान ११ बजेदेखि नियमित उडान शुरु हुनेछन् । विहानको बुकि क्यान्सिल गरिरहेकाले ११ बजेदेखि मात्रै उडान शुरु गर्ने उनीहरुको भनाइ छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्ना ५ बुँदे माग पूरा नभएसम्म अनिश्चितकालका लागि आन्दोलन घोषणा गरेको संघले प्राधिकरणको धम्कीपछि पछि हटेको हो ।

प्राधिकरणले आफू निर्णयबाट पछि नहट्ने र उडान बन्द गरे कडा कारबाही गर्ने चेतावनी दिएको थियो । हवाई सेवा अत्यावश्यक सेवा अन्तर्गत भएकाले उडान बन्द गरे सोही अनुसार कारबाहीका लागि सिफारिस गर्ने तथा एओसी खारेज गर्ने चेतावनी पछि संघ पछाडि हटेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।


कमलकुमार बस्नेत