आन्तरिक हवाई उडान ठप्प पार्ने घोषणा गरेका विमान कम्पनी र क्यानबीचको विवाद के हो ?



काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि आन्तरिकतर्फका सबै हवाई उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गर्यो ।

संघले विमान र हेलिकोप्टरका आपतकालिनदेखि नियमित सबै उडान ठप्प गर्ने घोषणासँगै हजारौं यात्रुहरुले दुःख पाउने भएका छन् । यता नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि मंगलबार नै पत्रकार सम्मेलन गर्दै निर्णयबाट पछि नहट्ने भन्दै अडान कायमै राखेको छ ।

विवाद शुरु भएको गत वैशाखदेखि हो । तत्कालीन समयमा क्यानले आन्तरिक उडान राति १२ बजेसम्म उडान गर्ने गरी विमान कम्पनीहरुलाई निर्देशन दिएपछि विमान कम्पनीहरुले तयारी नपुगेको भन्दै बरु उडान बन्द गर्ने तर निर्देशन पालना नगर्ने घोषणा गरे । यद्यपि उनीहरुले गरेको घोषणा कार्यान्वयन भने भएन ।

त्यो समयमा समाधान भएको विवादले गत असार ५ गते नयाँ रुप लियो । क्यानले असार ५ गते एउटा निर्देशनमा विमान कम्पनीहरुलाई तोकिएकै स्थानलाई बेस बनाउन भनिएको थियो । अर्थात् विमान कम्पनीहरुले एनओसी लिने समयमा जुन विमानस्थलमा अपरेटिङ बेस बनाउने भनेका थिए सोही स्थानमा राख्नुपर्छ ।

यसका पछाडि क्यानको तर्क थियो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप धेरै भयो, यात्रुहरुले दुःख पाए भने अत्यधिक ट्राफिक हुँदा डिलेको समस्या समाधान भएन ।’

क्यानका महानिर्देशक प्रदीप अधिकारी भन्छन्, ‘हामीले पहिलेको निर्णयलाई कार्यान्वयन गरेका हौं, काठमाडौं विमानस्थलभन्दा बाहिर अपरेटिङ बेस भएका विमान कम्पनीहरुले अनुमति अनुसार नै रात्री बिश्राम लिनुपर्छ । यसले सम्बन्धित क्षेत्रका बासिन्दाले विहान ६ बजेदेखि नै हवाई उडानको सुविधा पाउनुका साथै आर्थिक रुपमा पनि उक्त क्षेत्र चलायमान हुन्छ ।’

तर यो निर्णयमा असहमति जनाउँदै विमान कम्पनीहरुले भने तत्काल क्यानले उक्त निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै बरु सेवा ठप्प पार्ने निर्णय गरे ।

क्यानको निर्देशनमा हेलिकोप्टरहरुले असार ८ गतेदेखि नै विमानहरुको हकमा असार १३ गतेदेखि काठमाडौंबाहेकका रात्री बिश्रामको अनुमति पाएका विमानस्थलमा बेस बनाउनुपर्ने उल्लेख छ ।

तर विमान कम्पनीहरु यसो गर्दा कम्पनीहरुको खर्च अत्यधिक बढ्ने र पूर्वाधार समेत नभएको भन्दै कार्यान्वयन गर्न नसकिने स्पष्ट पारे ।

‘हवाई सेवा अत्यावश्यक अन्तर्गत पर्छ, हामीलाई सेवा ठप्पा पार्ने कुनै नियत होइन तर बाध्यता छ,’ वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, ‘हामीलाई ट्रक र टेम्पोलाई जस्तै व्यवहार गरियो । क्यानको निर्णय व्यवहारिक छैन ।’

यता क्यानका महानिर्देशक अधिकारी विमानस्थल रत्नपार्कमा टेम्पो पार्किङ गरे जस्तो घुइँचो लगाउन नसकिने भन्दै आफू निर्णयबाट पछि नहट्ने बताउँछन् ।

‘आफूले गर्न पाउँदा मात्रै खुसी हुने तर आफू अनुकुल नहुँदा उडान बन्द गर्छु भन्दै धङ्धङी नदेखाए हुन्छ, उडान ठप्प पार्ने अडान कायमै राखे क्यान चुप लागेर बस्दैन,’ उनले भने ।

कुन कम्पनीको बेस कहाँ ?
क्यानका अनुसार फिक्स्ड विङतर्फ ५२ वटा विमानमध्ये १७ वटा विमानले मात्रै काठमाडौंमा बेस राख्न अनुमति प्राप्त गरेका छन् भने बाँकी ३५ वटाको अनुमति काठमाडौंभन्दा बाहिरका विमानस्थलमा छ ।

जसमध्ये बुध्द एयरका १६ वटा विमानमध्ये ५ वटा विमान काठमाडौंस्थित विमानस्थलमा रात्रि बिश्राम गर्न पाउँछन् भने बाँकी १० वटा विमानले बाहिरका लागि अनुमति लिएका छन् । यति एयरलाइन्ससँग भएका ५ वटा विमानको हकमा अपरेसन बेस काठमाडौं भए पनि अब ३ वटा विमानको बेस काठमाडौं बाहिर हुनुपर्ने क्यानको भनाइ छ ।

श्री एयरलाइन्सका ८ वटामध्ये २ वटाले मात्रै काठमाडौंका लागि अनुमति पाएका छन् भने ६ वटाले काठमाडौं बाहिर बेस राख्ने गरी अनुमति लिएका छन् । सौर्य एयरलाइन्सले पनि ३ वटामध्ये एउटा विमान मात्रै काठमाडौंमा बेस राख्न पाउँछ भने बाँकी २ वटाको बेस काठमाडौंका विमानस्थलमा राख्नुपर्ने हुन्छ ।

त्यसैगरी समिट एयरले ४ मध्ये एउटा, तारा एयरले ३ मध्ये एउटा, सिता एयरले ४ मध्ये एउटा, गुण एयरलाइन्सले ७ मध्ये २ वटा र नेपाल एयरलाइन्सले २ मध्ये एउटा मात्रै विमान काठमाडौंमा बेस राख्न पाउँछन् ।

क्यानका अनुसार चन्द्रगढी, जनकपुर, सिमरा, सुर्खेत, धनगढी, रामेछाप, भरतपुरलगायतका विमानस्थलमा रात्रि बिश्राम राख्न सकिन्छ । र, यसका लागि सुरक्षा र पूर्वाधारका हिसाबले क्यान तयार रहेको दाबी गरिएको छ । काठमाडौं बाहिरका विमानस्थलमा बेस राखेका कुनै विमान कम्पनीले काठमाडौं बाहिरकै अन्य विमानस्थलमा बेस राख्ने माग गरेमा सो सुविधा पनि क्यानले उपलब्ध गराउने बताइसकेको छ ।

कुन हेलिकोप्टरको बेस कहाँ ?
क्यानका अनुसार हाल ११ वटा कम्पनीका ३८ वटा हेलिकोप्टर सञ्चालनमा छन् । जसमध्ये काठमाडौंमा बेस राख्नका लागि २१ वटाले मात्रै अनुमति पाएका छन् भने अन्य हेलिकोप्टर कम्पनीहरुले लुक्ला, पोखरा, सुर्खेत, नेपालगञ्जमा बेस राख्ने अनुमति प्राप्त गरेका छन् । जसमध्ये प्रभु र सिम्रिक हेलिकोप्टरले काठमाडौंमा एउटा हेलिकोप्टर बेस राख्न पनि अनुमति पाएका छैनन् ।

साथै, हाल हेलिकोप्टर पार्किङ भइरहेको त्रिभुवन विमानस्थलको पार्किङमा एक महिनामा ह्याङगर निर्माणको काम शुरु गर्नुपर्ने छ । एशियाली विकास बैंकको सहयोगमा निर्माण शुरु गर्न लागिएको उक्त कामका लागि पनि हेलिकोप्टरहरुले उक्त बेस छाड्नु पर्ने क्यानको भनाइ छ ।

पार्किङ नै सानो छ भने बाँकी विमान कहाँ राखिएका छन् त ?
क्यानका अनुसार पार्किङ क्षेत्रमा नअटाएका विमानहरु रिमोर्ट पार्किङ बेमा राखिएका छन् । रिमोर्ट पार्किङ बेलाई आइसोलेसन पार्किङ पनि भनिन्छ ।

क्यानका अनुसार यस्तो पार्किङमा कुनै दुर्घटनामा परेका विमान, बम राखिएको आशंका गरिएका विमानहरु राखिन्छ । तर अहिले त्यो स्थानमा काठमाडौंभन्दा बाहिरका विमानस्थलमा बेस अनुमति लिएका विमानहरु पार्किङ गरिएका छन् ।

‘हामीले बारम्बार उक्त स्थान खाली गर्न विमान कम्पनीहरुलाई भनिरहेका छौं, उहाँहरुले कार्यान्वयन गर्नु भएको छैन,’ प्राधिकरणका महानिर्देशक अधिकारीले भने ।

अधिकारीले विमान कम्पनीहरुले अनुमति लिए अनुसार बेस राख्ने हो भने यसले हवाई सुरक्षाको प्रत्याभूति मात्रै नबढ्ने बरु यसले सन्तुलित विकासमा समेत सहयोग पुग्ने बताउँछन् ।

‘बेस अन्य विमानस्थलमा हुँदा यात्रुहरुले सेवा अधिक पाउने र यसले उक्त क्षेत्रमा आर्थिक गतिविधि पनि बढ्ने भएकाले यो कार्यान्वयन जरुरी छ,’ अधिकारीले भने ।


क्लिकमान्डु