राजस्वमा शाक्य र भन्सारमा भट्टराई, दुवैसँग छैन अनुभव



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशकको जिम्मेवारी रितेश शाक्यलाई दिएका छन् । मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका शाक्यलाई विभागको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

गत शुक्रवार विभागका महानिर्देशक रहेका शोभाकान्त पौडेलको ६ महिना नपुग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि विभागमा महानिर्देशक रिक्त रहेको थियो । 

यस्तै, मन्त्री शर्माले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख रहेका कमल भट्टराईलाई भन्सार विभागको महानिर्देशक बनाएका छन् । 

गत बिहीबार विभागका महानिर्देशक रहेका नारायण सापकोटाको लुम्बिनी प्रदेशको अर्थ सचिवमा सरुवा भएपछि विभागमा महानिर्देशक रिक्त भएको थियो । 

यसअघि गत भदौ २ गते मन्त्री शर्माले पौडेललाई आन्तरिक राजस्व विभाग र सापकोटालाई भन्सार विभागको महानिर्देशक बनाएका थिए । तर, शर्माले आफूले भने अनुसार काम नगरेको भन्दै दुवैको ६ महिना नपुग्दै सरुवा गरेका हुन् ।

‘निर्वाचनमा केही सहयोग गर्नु पर्छ भन्ने मन्त्रीको चाहना थियो,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उक्त चाहना पुरा नहुने जस्तो भएपछि ६ महिना नपुग्दै दुई डिजीको सरुवा भएको हो ।’

मन्त्री शर्माले शाक्यलाई आन्तरिक राजस्व विभाग र भट्टराईलाई भन्सार विभागको महानिर्देशक बनाएपछि राजस्व समूहका कर्मचारी असन्तुष्ट बनेका छन् । शाक्य अधिकृत र उपसचिव हुँदा लेखा समूहका कर्मचारी थिए । उनीसँग आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा काम गरेको कुनै पूर्व अनुभव छैन। शाक्यले अधिकृत र उपसचिव हुँदा लेखा प्रमुख भई काम गरेका थिए । सहसचिव भएपछि पनि खानेपानी लगायतका विभिन्न मन्त्रालयमा काम गरेका थिए । तर, उनीसँग राजस्वमा काम गरेको अनुभव छैन ।

यस्तै भट्टराई पनि प्रशासन सेवाका कर्मचारी हुन् । सहसचिव भएपछि पर्यटन मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा सचिव भएका भट्टराई उपसचिव र अधिकृत हुँदा पनि प्रशासन सेवामा काम गरेका थिए । भट्टराई २०७३ जेठ ३ गते देखि २०७७ जेठ १७ सम्म हङकङका महावाणिज्यदुत पनि भएका थिए ।

अर्थमन्त्री शर्माले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक मात्र होइन, राजस्व सचिव पनि विगतमा कहिल्यै राजस्वका क्षेत्रमा काम नगरेका कृष्णहरि पुष्करलाई बनाएका छन् । अर्थ मन्त्रालयका तिन महत्त्वपूर्ण निकायमा विगतमा अर्थ समूहमा काम नगरेका व्यक्तिले नेतृत्व गरेको पहिलो पटक भएको एक सहसचिव बताउँछन् । ‘विगतमा काम नगरेको व्यक्ति नेतृत्वमा हुँदा राजनीति नेतृत्वलाई आफू अनुकूल काम गराउन सहज हुन्छ,’ ती सहसचिव भन्छन्, ‘त्यसैले अर्थमन्त्रीले नयाँ नयाँ मानिसलाई जिम्मेवारी दिएका हुन् ।’


क्लिकमान्डु