
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली खरिदमा भ्रष्टाचार गरेको ठहर भएको छ । विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशत्रय टेक नारायण कुँवर, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झासहित ३ जनालाई दोषी ठहर गरेको हो ।
अदालतले दिगम्बर झा, पुरुषोत्तम खनालसहित ४ जनालाई जनही ५ करोड ८० लाख बिगो जरिवानासहित १ वर्ष कैद तोकेको छ । झा र खनाललाई संस्थाको अध्यक्ष भएकाले थप एक महिना कैद सजाय हुने समेत फैसला सुनाएको छ ।
जरिवाना तोकिएका अर्का व्यक्ति मलेसियाका नागरिक हुन् भन्ने अर्को कानुनी व्यक्ति संयुक्त उपक्रम रहेको छ ।
यसरी कुल २३ करोड २० लाख जरिवाना तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित २० जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र पुरुषोत्तम खनाल, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलगायतलाई प्रतिवादी बनाएको थियो ।
प्राधिकरणले भन्सार छलेर ल्याइएका मोबाइल निष्क्रिय बनाउने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) स्थापना गर्न लागत अनुमान भन्दा दोब्बर बढीमा ठेक्का सम्झौता गरेको दाबी अख्तियारको रहेको थियो । उनीहरुविरुद्ध अदालतमा ९१ करोड ९८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
सो मुद्दामा आनन्दराज खनाल, दीपेश आचार्य, सुरेन्द्रलाल हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्त, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालाले सफाइ पाएका छन् ।
प्रतिक्रिया