आत्तिएका अर्थमन्त्रीले आफू अनुकुल काम लगाउन ‘यसम्यान’को नयाँ टीम बनाए, अस्थिरतामा अर्थ मन्त्रालय



जनार्दन शर्मा अर्थमन्त्री भएपछि मन्त्रालयमा सहसचिव सरुवाको रफ्तार बढ्नुका साथै विगतमा अर्थ मन्त्रालयमा काम नगरेका कर्मचारी महाशाखा प्रमुख बन्ने क्रम बढेको छ । जसले गर्दा राजस्व समूहका कर्मचारी आफू पेलिएको महशुस गर्न थालेका छन् ।

काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री हुँदा अर्थसचिव थिए शिशिर ढुंगाना । शर्माले मन्त्री भएको १८औँ दिनमा ढुंगानालाई मन्त्रालयबाट विदाई गर्दै अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख रहेका मधुकुमार मरासिनीलाई अर्थ सचिव बनाएका थिए ।

अर्थसचिव परिवर्तन गरेको १५ दिनपछि अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि परिवर्तन गरे । राजस्व सचिवको जिम्मेवारी कृष्णहरि पुस्कर कर्णलाई दिए । पुस्करले अर्थ मन्त्रालय अन्तर्गतका कुनै पनि कार्यालयमा विगतमा काम गरेका थिएनन् । भन्सार र आन्तरिक राजस्व विभागका उच्च अधिकारीहरु पुस्करले कर र भन्सार नबुझ्दा काम गर्न असहज भएको बताउँछन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका झक्कप्रसाद आर्चायलाई कर्णाली प्रदेशको आन्तरिक मामिलामा सरुवा गर्दै उनको ठाउँमा शोभाकान्त पौडेल र भन्सार विभागका महानिर्देशक रहेका यमलाल भुषाललाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गर्दै उनको ठाउँमा नारायणप्रसाद सापकोटालाई ल्याएका थिए । जबकी, आचार्य र भुषाल महानिर्देशक भएको ६ महिना पनि भएको थिएन ।

यतिमात्रै होइन, शर्माले मन्त्री बनेको दुई महिना नपुग्दै अर्थ मन्त्रालयमा महत्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख पनि परिवर्तन गरे ।

शर्मा अर्थमन्त्री बन्दा बजेट महाशाखा प्रमुख सुमन दाहाल थिए । दाहाललाई प्रदेश १ को अर्थ सचिवमा सरुवा गरियो । तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट बनाउँदा धनीराम शर्मा बजेट महाशाखा प्रमुख थिए । संसदमा बजेट प्रस्तुत भएको एक महिनापछि शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखाको जिम्मेवारी दिइएको थियो । अर्थमन्त्री जनार्दन शर्माले धनीराम शर्मालाई बाग्मती प्रदेशको अर्थसचिवमा सरुवा गरे ।

दाहाल बजेट महाशाखा प्रमुख र शर्मा अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख भएको दुई महिना मात्रै भएको थियो । शर्माले अर्थमन्त्रालय अन्तर्गतका कार्यालयमा लामो अनुभव भएका दीर्घप्रसाद मैनालीलाई पनि प्रदेश १ को शिक्षा तथा समाजिक विकास मन्त्रालयमा सरुवा गरेका छन् । शर्मा अर्थमन्त्री हुँदा मैनाली वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । अर्थमन्त्री भएलगत्तै मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखमा सरुवा गरेका थिए ।

तर, त्यहाँबाट पनि ५ महिना नपुग्दै प्रदेशमा सरुवा गरिएको छ । अष्ट्रेलियाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका महेश आचार्य आर्थिक नीति विश्लेषण महाशखा प्रमुख थिए । उनलाई मधेश प्रदेशमा सरुवा गरिएको छ ।

यतिमात्रै होइन्, जर्नादन शर्मा अर्थमन्त्री भएपछि अर्थ मन्त्रालय वा अन्तर्गतका कार्यालयबाट बाबुराम गौतम, ज्ञानेन्द्र पौडेल, श्यामप्रसाद भण्डारी, उमाकान्त आचार्यलगायतका सहसचिवको सरुवा अर्थ मन्त्रालयबाट भइसकेको छ ।

आफैंले ल्याएका मान्छे पनि सरुवा गरे

अर्थमन्त्रालयमा नयाँ टीम बनाएका शर्माले अर्थ मन्त्रालयलाई झनै अस्थिर बनाएका छन् । शर्माले आगामी आर्थिक वर्षको बजेटलाई लक्षित गर्दै नयाँ टीम बनाएको दाबी गरेपनि अर्थ मन्त्रालयका उच्च अधिकारीहरु आफू अनुकुल काम गर्ने व्यक्तिलाई अर्थमन्त्रीले टिक्नै नदिएको उनीसँग काम गरेका एक सहसचिव बताउँछन् ।

‘उहाँलाई अर्थतन्त्रको कुनै ज्ञान छैन । तर, त्योभन्दा ठूलो उहाँले मैले अर्थतन्त्र बुझेको छैन भन्ने मान्नु हुन्न,’ ती सहसचिवले क्लिकमाण्डूसँग भने, ‘उहाँ निरंकुश शैलीमा काम गराउन खोज्नुहुन्छ । उहाँलाई ‘हुन्छ’ मात्रै भन्ने टीम चाहिन्छ । प्रतिप्रश्न गर्नेलाई उहाँले मनै पराउनु हुन्न ।’

हुन पनि अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा काम गरेका क्याडरलाई मन्त्रालयबाट निकाल्दै अधिकृत, उपसचिव र सहसचिव हुँदा अर्थ मन्त्रालयमा काम नगरेका व्यक्तिबाट मन्त्रालय चलाउन खोजेका छन् ।

‘सहसचिवमा कलस्टर नभएकाले जुनसुकै व्यक्तिलाई जहाँको पनि जिम्मेवारी दिन मिल्छ,’ एक पूर्वअर्थसचिव भन्छन्, ‘तर, अर्थ मन्त्रालयको अनुभव नभएका व्यक्तिलाई जिम्मेवारी दिँदा संस्था कमजोर हुन्छ । सिक्दै काम गर्नुपर्ने हुन्छ । जसले कामको गति पनि सुस्त हुन्छ ।’

हाल अर्थ मन्त्रालयको ९ वटा महाशाखाको नेतृत्व गर्ने सहसचिवमध्ये राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बराल र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्यालबाहेक कुनै पनि महाशाखा प्रमुखसँग विगतमा अर्थ मन्त्रालय बसेको अनुभव छैन ।

हाल बजेट तथा कार्यत्रम महाशाखामा चक्रबहादुर बुढा आएका छन् । जसको अर्थ मन्त्रालयसँग कुनै पूर्वसाइनो छैन । बुढाले अर्थमन्त्रालय वा मन्त्रालय मातहतका कुनै पनि कार्यालयमा काम गरेका छैनन् । उनले अर्थिक विषयमा काम गरेको भनेको अधिकृत हुँदा २०६४ साल राष्ट्रिय योजना आयोग हो । यस्तै बुढाले चालु आर्थिक वर्षको कर्णाली प्रदेशको बजेट बनाएका हुन् ।

‘प्रदेशको बजेट बनाएको अनुभव भए पनि विगतमा अर्थ मन्त्रालयमा काम नै नगरेको व्यक्तिले संघीय बजेट महाशाखा देशलाई फाइदा हुने गरी चलाउन सक्दैन,’ अर्थ मन्त्रालयमा काम गरेका एक सचिव भन्छन्, ‘बजेट अनुशासन कायम गराउनु निकै चूनौतीपूर्ण काम हो । ‘यसम्यान’ हुन त खास केही अनुभाव चाहिँदैन ।’

जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा बुढा ऊर्जा मन्त्रालय पुगे । पछि शर्माले गृह मन्त्रालयको नेतृत्व गरे । बुढा पनि गृह मन्त्रालयमा सरुवा भए । हुन त गृह मन्त्रालय अन्तर्गत बुढाले लामो समय काम गरेका छन् । उनीसँग विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको अनुभव पनि छ । तर, बुढाले योभन्दा पहिला सहसचिव वा अन्य पदमा अर्थ मन्त्रालय अन्तर्गत काम गरेका थिएनन् ।

अर्थ मन्त्रालयमा बुढाले काम गरेको कर्णाली प्रदेशमा मात्र हो । चालु आर्थिक वर्षको कर्णाली प्रदेशको बजेट बनाएका बुढाको काँधमा संघीय बजेट बनाउने जिम्मेवारी छ । बुढालाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएपछि बजेट महाशाखा प्रमुख रहेका भुपाल बराललाई राजस्व व्यवस्थापन महाशाखामा लगिएको छ ।

जबकी, अर्थमन्त्री शर्मा गत भदौमा बराललाई अर्थ मन्त्रालयमा भित्र्याउँदै बजेट महाशाखाको जिम्मेवारी दिएका थिए ।

‘बराल सर कांग्रेस निकट नभएको अर्थ मन्त्रालयबाट बाहिरिनु हुन्थ्यो,’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन्, ‘अर्थमन्त्रीले आफ्नो कुरामा नाई भन्ने कर्मचारीलाई देखिसहनु हुन्न । भुपाल सरले बजेट महाशाखामा रहँदा बजेट अनुशासन विपरीतका काम गर्न चाहनु भएन । त्यसैले ५ महिना नपुग्दै उहाँको सरुवा भएको हो ।’

त्यतिमात्रै होइन, अर्थमन्त्री शर्मा आफैंले अख्तियारबाट अर्थ मन्त्रालय ल्याएर भन्सार विभागको महानिर्देशक बनाएका नारायण सापकोटालाई लुम्बनी प्रदेशको अर्थ सचिवमा सरुवा गरेका छन् । जबकी, सापकोटासँग भन्सार विभागमा लामो समय काम गरेको अनुवभ थियो । सापकोटाले सहसचिव हुँदा विभागमा उप-महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार प्रमुख भएर काम गर्नुका साथै अधिकृत र उपसचिव हुँदा पनि भन्सारमा काम गरेका थिए ।

यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशमा सरुवा गर्दै शर्माले शोभाकान्त पौडेललाई गत भदौ २ गते विभागको महानिर्देशक बनाएका थिए । तर, ६ महिना नगुग्दै पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको हो ।

अब योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख रितेश शाक्यले आन्तरिक राजस्व विभाग वा भन्सार विभागको जिम्मेवारी पाउने सम्भावना छ । उपसचिवसम्म लेखा समूहमा रहेका रितेश शाक्य बजेट महाशाखाको जिम्मेवारी लिने उद्देश्यले अर्थ मन्त्रालयमा भित्रिएका थिए । उनीसँग विगतमा अर्थमन्त्रालयमा काम गरेको अनुभव छैन ।

सहसचिवको रुपमा खानेपानी मन्त्रालयमा काम गर्दा शाक्यले तत्कालीन खानेपानीमन्त्री बिना मगरसँग निकट सम्बन्ध बनाए । त्यसको प्रभावमा अर्थमन्त्रालय भित्रिएका शाक्यलाई अर्थमन्त्री शर्माले बजेट महाशाखाको जिम्मेवारी दिएनन् ।

‘शाक्यलाई मन्त्रालयभित्र राख्दा साना-साना विषय पनि खुमलटार रिपोर्टिङ हुने जोखिम थियो,’ अर्थ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसैले अर्थमन्त्रीज्यूले शाक्यलाई अर्थ मन्त्रालय बाहिरको जिम्मेवारी दिन खोज्नुभएको हो ।’

यस्तै वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी उपसचिव हुँदासम्म लेखा समूहका कर्मचारी थिए । उनीसँग पनि विगतमा योजनाका क्षेत्रमा काम गरेको अनुभव छैन । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख रमेश केसी गृहअन्तर्गत काम गरेका अधिकारी हुन् । उनी कास्की र मोरङका प्रमुख जिल्ला अधिकारी बनेका थिए ।

यस्तै, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा पनि गृह प्रशासनका अधिकारी हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका शर्मा गृहमन्त्री जनार्दन शर्मा बनेपछि अर्थ मन्त्रालय भित्रिएका हुन् ।

अर्थ मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रहेका पारश्वर ढुंगानाको ठाउँमा अर्जुनकुमार खड्कालाई ल्याइएको थियो । खड्कासँग पनि विगतमा अर्थमन्त्रालयमा काम गरेको अनुभव छैन ।

अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागका उपमहानिर्देशक रहेका आनन्द काफ्ले मात्रै जनार्दन शर्मा अर्थमन्त्री हुनुभन्दा पहिला मन्त्रालयमा आएका सहसचिव हुन् । अधिकृत हुँदा राजस्व समूहमा रहेका काफ्ले प्रशासन सेवाका उपसचिव थिए । उपसचिव भएको दुई वर्ष नपुग्दै सहसचिव भएका काफ्ले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक थिए । राजस्व अनुसन्धान विभागमासमेत काम गरेका काफ्लेलाई निकै काबिल अधिकृतको रुपमा हेर्ने गरिन्छ । भन्सार विभागमा दुईजना उपमहानिर्देशकको दरबन्दी भए पनि एकजना पनि उपमहानिर्देशक नरहेपनि आन्तरिक राजस्व विभागमा रहेका काफ्लेको सरुवा भन्सारमा भएको हो ।

अर्थमा ६ जना नयाँ सहसचिव भित्रिए

अर्थमन्त्री भएलगत्तै नयाँ टीम बनाएका शर्माले ६ महिना नपुग्दै फेरि अर्थ मन्त्रालयमा नयाँ-नयाँ सहसचिव भित्र्याएका छन् ।

अर्थ मन्त्रालयमा ४ जना नयाँ सहसचिव भित्रिएका छन् । राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक रहेका टंकप्रसाद पाण्डे विगतमा अर्थ मन्त्रालय अन्तर्गत काम गरेका अधिकारी हुन् । उपसचिव हुँदा पाण्डे भन्सार विभाग, अर्थ मन्त्रालयमा काम गरेका थिए । पाण्डेलाई भन्सार विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिने सम्भावना छ ।

गृह मन्त्रालय अन्तर्गत कुनै जिम्मेवारी नपाएका विवादास्पद छविका राजेश्वर ज्ञवालीलाई अर्थमन्त्री शमाले मन्त्रालय भित्र्याएका छन् । काठमाडौं महानगरपालिकामा विवादित भएपछि ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा राखिएको थियो । त्यसको केही समयपछि गृह मन्त्रालयमा सरुवा गएका ज्ञवालीले त्यहाँ केही जिम्मेवारी पाएनन् । गत शुक्रबार ज्ञवाली पनि अर्थ मन्त्रालय पुगेका हुन् ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा सचिव रहेका ढुण्डीप्रसाद निरौला, प्रदेश १ को लोक सेवा आयोगमा सचिव रहेका यज्ञराज कोइराला पनि अर्थ मन्त्रालय भित्रिएका हुन् । उनीहरुलाई केही दिन भित्र अर्थमन्त्रीले जिम्मेवारी दिने सम्भावना छ ।

हाल अर्थ मन्त्रालयभित्रको खटनपटनमा मन्त्रालयको प्रशासन सेवाका उपसचिव अर्जनु भण्डारीको हालीमुहाली चल्ने गरेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘भण्डारीले सबै कर्मचारीले चलाउने हुन्,’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन् ‘उनको रिपोर्टिङका आधारमा अर्थमन्त्रीले निर्णय गर्छन् । स्वार्थको कुरा पनि भण्डारीले नै गर्छन् ।’

पछिल्लो समय अर्थमन्त्रालयका विभागीय प्रमुख परिवर्तन हुनुको कारण निर्वाचन पनि भएको अर्थ मन्त्रालयकै अधिकारी बताउँछन् ।

‘मन्त्रीले विभिन्न विभागिय प्रमुखलाई अनुचित दबाब दिन शुरु गरेका थिए,’ सरुवा भएका एक अधिकारी भन्छन्, ‘मन्त्रीले जे भन्यो त्यो गर्न सकिँदैन । पार्टीको निर्वाचन लड्नु पर्ला, त्यो अर्काे कुरा रह्यो । हामीले कसरी सहयोग गर्न सक्छौँ ? हाम्रो पनि त करिअर छ नि !’


शरद ओझा