बेलायत र अष्ट्रेलियाले भिसा नदिएपछि ३४ वर्षे निकेशले शुरु गरेको ‘चिकेन स्टेसन’, ४२ फ्रेन्चाइज




काठमाडौं । निकेशलाई सबैभन्दा मनपर्ने ठाउँ झम्सिखेल हो । उनलाई झम्सिखेल अर्थात् झमेल मन पर्नुमा केही कारण छन् ।

पहिलो कुरा झम्सिखेलले दिने ‘मिठो बास्ना’ । यो यस्तो ‘फुड हब’ हो, जहाँ हरेक पाइलामा मीठा खानेकुरा पाकिरहेका हुन्छन् । उनलाई झम्सिखेलको याे गुण खुबै मनपर्छ ।

अर्को कारण अल्लारे ठिटोदेखिको सम्बन्ध पनि हो । १८ वर्षे युवादेखि जीवनमा तितामीठा जति अनुभव भोगे, झम्सिखेल कतै न कतै जोडिन्छ ।

समाचार लेख्ने शिलशिलामा झम्सिखेलको चिकेन स्टेसन पुग्दा ३४ वर्षे युवा उद्यमी निकेश ताम्राकार काममा व्यस्त थिए । चिकेन स्टेसनको ठूलो संजाल भइसकेको छ । यसलाई कर्पोरेट शैलीमा र अझै व्यवस्थितरुपमा कसरी लैजाने भनेर मिहीनरुपमा काम गरिरहेका छन् उनी ।

‘अब राम्रो सिस्टम बनाएर यसलाई व्यवस्थित बनाउनु पर्नेछ,’ चिकेन स्टेसनका संचालक निकेशले क्लिकमाण्डुसँग भने, ‘योजनहरु बनाइरहेको छु ।’

उनले यसको शुरुवात गरिसकेका छन् । जस्तो कि पहिला कर्पोरेट हेड, सेफ हेड थिएन । अहिले कुमार चालिसेलाई कर्पोरेट हेड सेफका रुपमा ल्याएका छन् । कम्पनीको म्यानेजर र मार्केटिङको टीम नयाँ बनाएका छन् । युएन पार्कमा सेन्टर किचन बनिरहेको छ ।

यही सेन्टर किचेनले मुलुकभर फैलिरहेको चिकेन स्टेसनलाई व्यवस्थितरुपमा अगाडि बढाउनेछ ।

चार वर्षअघि निकेशले यही झम्सिखेलबाट शुरु गरेको चिकेन स्टेसन अहिले मुलुकभर फैलिँदो क्रममा छ । ४२ वटा फ्रेन्चाइज भइसकेका छन् ।

उपत्यका र मुख्य सहरमा पुगिसकेका यी फ्रेन्चाइजमा ५ सय जनाभन्दा धेरैले काम गरिरहेका छन् । उनका आफ्नै दुई कम्पनी र सेन्टर चिकेनमा गरेर ५० जना कर्मचारी छन् ।

छोटो समयमै चिकेन स्टेसनलाई उचाइमा पुर्याएका युवा उद्यमी निकेश व्यवसायमा सफलता पाउन ‘इमान्दार लगाव’ मुख्य हतियार भएको ठान्छन् ।

‘चिकेन स्टेसनलाई उचाइमा पुर्याउन उनले के के गरे त ?’ हामीले उनीसँग यही विषयमा गफ गरेका छौं ।

बेलायत र अष्ट्रेलियाले भिसा नदिएपछि…

धरानमा जन्मेका निकेश सानैमा बुबासँग काठमडौंमा छिरे । यतै हुर्किए । यतै पढे । बुबाको फर्निचर व्यापार थियो । त्यो व्यवसाय अहिले उनका दाइले सम्हालेका छन् ।

स्कुल सकेपछि होटल म्यानेजमेन्ट पढ्ने रहर चल्यो उनलाई । विसं. २०६१ ज्ञानोदया माविमा होटल म्यानजेमेन्ट पढ्दै गरेका निकेशलाई त्यही बेला व्यवसाय गर्नुपर्छ भन्ने विचार आइसकेको थियो । १२ कक्षा सक्दासक्दै उनले अनामनगरमा ‘क्याफे नेक्स्ट’ शुरु गरिहाले । त्यसको शाखा झम्सिखेलमा पनि खोले ।

१८ वर्षको अल्लारे ठिटो । होटल म्यानेजमेन्ट पढे पनि रेष्टुराँको अनुभव थिएन । कलिलै केटोले व्यवसाय गर्छु भनेपछि बुबाले नाइनास्ती गरेनन् । ८ लाख रुपैयाँ बुबाले नै लगानी गरिदिए ।

‘व्यापार ठीकै थियो,’ निकेश सम्झन्छन्, ‘दिनमा २०-३० हजार हुन्थ्यो ।’

त्यहीबेला विदेश जाने चलन व्यापक भइसकेको थियो । बेलायत, अष्ट्रेलिया जानेको लर्को लाग्न थाल्यो ।

बाहिरको हावा उनलाई पनि लाग्यो ।

‘यहाँको व्यवसाय भनेको यस्तै हो । यहाँ रेष्टुराँ चलाउनुभन्दा विदेश नै जान ठीक ।’

व्यवसायमा हात हाले पनि उनको मन भने बेलायत, अष्ट्रेलियातिर उडिरहेको हुन्थ्यो ।

उनी विदेश उड्ने तयारीमा जुटे । उनलाई लाग्यो, ‘सीप सिकेर गयो भने जागिर पाउन सजिलो होला ।’

होटल म्यानेजमेन्ट पढेकै थिए । त्यसमाथि बार, किचन र सर्भिसको तामिल लिए ।

डकुमेन्ट तयार भयो । बेलायतको भिसा आवेदन दिए । भिसा पाएनन् । अर्को पाली त कसो नदेला ? कमजोरी सुधार गर्दै फेरि आवेदन दिए । दोस्रो पटक पनि ‘रिजेक्ट’ भयो । उनले त्यसबेला बुझे ‘सोचे झैं जिन्दगी रैनछ ।’

तेस्रो र चौथो पटक पनि पासपोर्ट खाली नै आयो ।

निकेशले हार मानेनन् ।

‘बेलायतले नपत्याए पनि अष्ट्रेलिया त पक्कै गइन्छ,’ उनले सोचे, ‘सबैको भिसा लागिरहेको छ ।’

अष्ट्रेलियामा पनि त्यस्तै । दुई पटक ‘अप्लाई’ गर्दा पनि भिसा आएन । सँगैका साथीहरुको भिसा भकाभक आइरहेको थियो ।

‘तपाईंको यति राम्रो डकुमेन्ट छ । तर खै किन भिसा आउँदैन,’ उनको कन्सल्टेन्सी भन्थ्यो ।

‘सायद भाग्यमा विदेश जान लेखेको रहेनछ,’ उनले मनमनै चित्त बुझाए ।

दुई-तीन वर्ष त्यत्तिकै बित्यो । ‘फ्रस्टेसन’ उच्च विन्दुमा पुगिसकेको थियो ।

‘क्याफे नेक्स्ट’ खुत्रुखुत्रु चलिरहेको भए पनि व्यवसायमा ‘फोकस’ हुन सकेका थिएनन् । झन्डै तीन वर्ष चलाएर त्यसलाई बेचिदिए । ‘त्यही क्याफे राम्रोसँग चलाएको आज कहाँ पुगिदो रहेछ,’ झम्सिखेलको शानदार चिकेन स्टेसनमा उनले ती दिन सम्झँदै भने ।

केही त गर्नैपर्यो भनेर उनले झम्सिखेलमै साझेदारीमा ‘सिनामन ग्रीन लाउन्ज’मा हात हाले । त्यो पार्टनरसिप पनि दुई वर्षभन्दा धेरै टिकेन ।
विदेश पनि भएन । व्यवसाय पनि खासै राम्रो भएन । यता हिँड्यो, उता हिँड्यो, अर्को डेढ वर्ष बित्यो ।

उनले अर्को प्रयास गरे । २०६५ तिर झम्सिखेलमा ‘हेडप’ भन्ने रेष्टुराँ थियो । अहिले झम्सिखेलमारहेको ‘जिम्मु थकाली’ त्यही हेडप हो त्यो रेष्टुराँ किनेर डिस्को बनाउने भनेर लागे । त्यसलाई ‘रिनोभेट’ गर्दागर्दै ८-९ महिना बित्यो ।

झन्डै २२ लाखमा किनेको हेडपमा ३०-४० लाख रुपैयाँ खर्च भइसकेको थियो । संचालन हुने दिन अन्योलमै थियो ।

‘तिमीले यो रेष्टुराँ कहिले बनाएर कहिले चलाउँछौं खैं,’ उनलाई चिनेका एकजना दाईले भने, ‘मलाई देऊ, मैले चलाउँछु ।’

शुरु नगरिकन त्यो रेष्टुराँ पनि बेचे । त्यो पनि ८-१० लाख घाटा खाएर ।

अब भने उनलाई रेष्टुराँप्रति विस्तृणा नै भयो ।

‘यो रेष्टुराँ भन्ने चिज अब मैले कहिल्यै चलाउँदिन,’ उनले सोँचे, ‘बरु घरको भाडा उठाएर खान्छु, रेष्टुराँ गर्दिन ।’

यो गर्दा पनि नहुने, त्यो गर्दा पनि नहुने । काठमाडैंको चिसो हावाले उनलाई चिस्याइसकेको थियो । काठमाडौंमा बेचैन मनलाई अलि शान्त बनाउन जन्मथलो धरानको टिकट काटे ।

काठमाडौंमा हुर्केबढे पनि धरान उनको मष्तिस्कमै बसेको ठाउँ हो । धरानले उनलाई मन शान्त बताउँछ । धरान बस्दा सिलगुढी गइरहन्थे । सिलगुढी जाँदा केएफसी र चिनेक आइटमहरु हेर्न पाइन्थ्यो ।

भारतमा यस्ता फ्राइड चिकेन धेरै छन् । स्थानीय ब्रान्ड धेरै छन् ।

‘तिनीहरु कसरी चलेका होलान,’ उनले गुगलमा गएर अध्ययन गर्न थाले । भारतमा गएर हेर्दा, घुम्दा नेपालमा पनि यस्तो किसिमको व्यवसाय हुनसक्छ भन्ने उनलाई लाग्यो ।

नेपालमा पनि फुड कल्चर आइरहेको थियो । केएफसी आइसकेको थियो । नाङलोले फास्टफुड कल्चरलाई अगाडि ल्याइरहेको थियो ।

दुई वर्षपछि काठमाडौं फर्किए ।

काठमाडौं त कति फेरिसकाे रहेछ छ । महंगी बढेको थियो । केही गर्नुपर्यो भने लागत खर्चउस्तै ।

‘२०-३० लाख रुपैयाँ नभई केही नहुने भइसकेको थियो,’ निकेश भन्छन् , ‘मसँग व्यवसाय गर्न ५-७ लाख रुपैयाँ झिक्ने अवस्था थिएन ।’

घरमा कति माग्नु । विदेश जाने भनेर १०-१२ लाख रुपैयाँ खर्च भइसकेको थियो । रेष्टुराँकाे नाममा पनि लाखौं गइसकेको थियो ।

बर्गरबाट चिकेन स्टेसन

साथी वसन्त लामाले शंखमुलमा बर्गर हाउस चलाइरहेका थिए ।

भारतमा ‘फ्राइड चिकेन’ देखेका निकेशले आइडिया निकाले, बर्गरमा चिकेन मिलाउने । निकेशले वसन्तलाई प्रस्ताव गरे, ‘तिम्रो बर्गर हाउसमा ‘क्रन्ची फ्राइड चिकेन’ मर्ज गरेर ‘बर्गर एण्ड क्रन्ची फ्राइड चिकेन’ चलाऔं ।’

वसन्तलाई पनि निकेशको आइडिया मनपर्यो । उनीहरुले पाटनको मंगलबजारबाट शुरु गरे- ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ ।

मंगलबजारबाट राम्रो प्रतिक्रिया आयो । त्यसपछि बानेश्वरमा पनि खोले ।

वसन्त र निकेशको जमेको जोडीले व्यवसाय राम्रो चलाए । झन्डै तीन वर्षको अवधिमा काठमाडौ उपत्यकाभित्र ६ वटा शाखा पुर्याए ।

व्यवसाय झांगिदै गयो । वसन्त र निकेशको जोडी पनि राम्रो थियो । उनीहरुमा आत्मविश्वास बढ्यो । त्यही बेला उनीहरुलाई लाग्यो अब छुट्टाछुट्टै गर्दा पनि राम्रो व्यवसाय गर्न सकिन्छ ।

तीन वर्षपछि बर्गरबाट छुट्टिएर निकेशले झम्सिखेलमा छुट्टै व्यवसाय शुरु गरे, ‘चिकेन स्टेसन’ । चिकेन स्टेसन शुरु गरेको गएको तिहारको लक्ष्मी पूजाको दिन ४ वर्ष भएको छ ।

शुरुको लगानी ४० लाख थियो । दुई जना साथी सेयर होल्डरका पनि थिए । लकडाउनको विषम परिस्थितिपछि भने ती साथीहरु अलग भए । अहिले उनले एक्लै हाँकिरहेका छन् ।

झम्सिखेल उनले पहिलेदेखि व्यवसाय गरेको ठाउँ हो । उनलाई खुबै मनपर्ने ठाउँ ।

‘झम्सिखेल भनेको फुड हब हो । त्यसैले यहीबाट व्यवसाय शुरु गर्न मन थियो,’ उनले सुनाए ।

झम्सिखेलमा शुरु गरेको वर्षदिनपछि बानेश्वरमा पनि खोले । अहिले झम्सिखेल र गठ्ठाघरमा आफैंले चलाइरहेका छन् भने अरु सबै फ्रेन्चाइजमा गएका छन् ।

नेपालमा फ्रेन्चाइज कन्सेप्ट आएको केही वर्षमात्रै भयो । उनले फ्रेन्चाइज बनाउने भन्ने पनि सोचेका थिएनन् । तर, चिकेन स्टेसन यति लोकप्रिय भइदियो कि बजारबाट फ्रेन्चाइजको माग ह्वारह्वार्ती आउन थाल्यो ।

बजारको मागअनुसार फ्रेन्चाइज मोडलमा गएका निकेशले अहिलेसम्म ४२ वटा फ्रेन्चाइजको सम्झौता गरिसकेका छन् । काठमाडौं बाहिर धनगढी, सुर्खेत, पोखरा, चितवन पनि चिकेन स्टेसन पुगेको छ ।

‘अझै पनि फ्रेन्चाइज लिनेको माग पनि धेरै छ,’ उनी भन्छन्, ‘फ्रेन्चाइज लिने मान्छेलाई यसको महत्व बुझाउन गाह्रो हुन्छ । ब्रान्ड भ्यालुलाई महत्व दिँदैनन् ।’

पैसा लगानी गरेरमात्रै फ्रेन्चाइज दिन चाहँदैनन् उनी । जसले लगानी गर्छ, उहीनै खट्नु पर्छ भन्ने उनको मान्यता छ । लगानी गरेर अरु जागिर खाने वा अन्य व्यवसाय गर्नेले राम्रो ब्रान्ड भ्यालु मेन्टेन गर्न सक्दैनन् ।

एउटा चिकेन स्टेसन फ्रेन्चाइज खोल्नु पर्यो भनेर स्पेस हेरेर २० लाखदेखि शुरु गर्न सकिन्छ ।

चिकेन स्टेसनको स्पेसल भनेको फ्राई चिकेन हो । एनिमल फ्राइज । राइसन बललगायतका परिकार ग्राहकले धेरै मन पराउँछन् । भर्खर टुपीएम चाउचाउसँग पनि सहकार्य गरेका छन् । अब टुपीएम चाउचाउको ५ थरीका स्वाद चिकेन स्टेसनमा लिन सकिने छ ।

सबै आउटलेटमा गरेर ५ सय जति कर्मचारी छन् । एउटामा कम्तीमा १५ जनाले काम गर्छन् । उनी आफ्नै दुई कम्पनी र सेन्टर चिकेनमा गरेर ५० जना कर्मचारी छन् ।

बिजनेस राम्रै छ । कोभिडले गर्दा केही समय बन्द भए पनि बजार झन्डै पुरानै लयमा फर्किसकेको छ ।

‘बजार यति चाँडो ब्याक टु फर्म आउँछ भन्ने मैले सोचेको पनि थिइन,’ उनी भन्छन् ।

उनको सफलता देखेर परिवार खुसी छन् । आमा अझ धेरै खुसी । छोरो धेरै पटक ‘फेलियर’ भएकाे देखेका निकेशका बुबाले अहिलेको सफलतामा साथ दिन पाएका भए कति खुसी हुन्थे होला ।

‘बुबाले कहिल्यै पनि तँ काम नगर, पैसा डुबाइस् भनेर कहिले भन्नु भएन’ उनी बुबालाई सम्झन्छन्, ‘जे कुरा सिकाउनु भयो सबै बुबाले नै हो ।’


सन्तोष न्यौपाने