काठमाडौंबाट चन्द्र ढकालले बुधबार महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी घोषणा गरिसकेका छन् । गत पुस ११ गते गृहजिल्ला बागलुङबाट उम्मेद्वारी घोषणा गरेका ढकालले बुधबार (भोलि) काठमाडौंबाट बरिष्ठ उापध्यक्षको उम्मेद्वारी घोषणा गर्ने भएका हुन् ।

गृहजिल्लाबाट चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

फागून १४ गते बुधबार बिहान ११ः३० बजे राजधानीको याक एण्ड यति होटेलबाट ढकालले बरिष्ठ उापध्यक्षको उम्मेद्वारी घोषणा गर्ने कार्यक्रम छ । ‘सम्मृद्धिको आधार, राज्य-निजी क्षेत्र साझेदार’ ढकालको मुल नारा छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । ढकाल अहिले एसोसिएट तर्फका उपाध्यक्ष हुन् ।

ढकालले अहिले टिमसहित उम्मेद्वारी घोषणा गर्ने अपेक्षा गरिएको थियो । यद्यपि भोलिको घोषणासभामा टिमको घोषणा भने हुने छैन ।

‘बुधबार बरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारी मात्रै घोषणा गर्ने हो, टिमको घोषणा केही समयपछि हुन्छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।

ढकालका प्रतिस्पर्धी किशोर प्रधानले फागून १ गते गृहजिल्ला बिराटनगर पुगेर उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

किशोर प्रधानको बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा, शेखरको कार्यकाल सफल बनाउन मैले जित्नुपर्छ

बरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानले उम्मेद्वारी घोषणा गरे पनि सर्वसहमतिको प्रयास भइरहेको छ । दुबै उम्मेद्वारले आफू सर्वसम्मत हुन खोजिरहेका छन् ।

को हुन् ढकाल ?

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनी महासंघमा यसअघि २ कार्यकाल कार्यसमितिको सदस्य भएर काम गरिसकेका छन् ।

ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायतका २ दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष पनि हुन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष समेत हुन् ।

त्यस्तै, ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य र नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् ।


पुष्प दुलाल