मार्क्सवादी चिन्तक ‘भुसाल कमरेड’को कस्तो होला कृषि क्रान्ति, माफियाबाट जोगिएलान् ?
काठमाडौं । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर नेपाल कम्यूनिष्ट पार्टीका बौद्धिक एवं अध्ययनशिल नेताको उपमा पाएका स्थायी कमिटि सदस्य घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सुम्पिए ।
नवनियुक्त मन्त्री भुसाललाई यो मन्त्रालयले दिएर उनको बौद्धिकतामा अन्याय गरियो, उनको बौद्धिकता अनुसारको जिम्मेवारी पाएनन् भनेर थोरबहूत चर्चा पनि भयो ।
तर भुसालले यसको जवाफ दिइसकेका छन् ।
बुधबार पदभार ग्रहण गर्दा आफूलाई लोभ र डर नरहेको प्रतिकृया दिए । त्यति मात्रै हैन, जसले उनले उनकै बौद्धिकता अनुसारको मन्त्रालय पाएनन् भनेर लिएको प्रतिकृया पनि दिए । उनले कृषि क्षेत्र आफ्नो प्राथमिकताको क्षेत्र भएकोले नै यही मन्त्रालय रोजेको बताए ।
प्रधानमन्त्री ओलीले पनि यो मन्त्रालय निकै महत्वपूर्ण भएको र आफूलाई विश्वास गरेर सुम्पिएको भुसालले बताए । आफूले कृषिको बारेमा अध्ययन गरेको, यो क्षेत्रको बारेमा आफूलाई जानकारी भएकाले इमान्दार भएर परिणाम देखिने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए ।
नेकपाभित्रका निकै आदर्शवादी नेताको छवि बनाएका भुसाल वामपन्थी आन्दोलनका प्रखर वक्ता, माक्र्सवादी चिन्तनका चिन्तकको रुपमा चित्रित छन् । अहिलेसम्म सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन भन्ने उनको मान्यता थियो । यतिबेला भने भुसाल सत्तामा पुगेका छन् । उनले अब सत्ताको स्वाद चाख्न थाल्नेछन् ।
यस्तो छ केही समयअघि एक कार्यक्रममा भुसालले राखेको मन्तव्य
अब हामीले नयाँ वर्गको बारेमा सोचिएन भने हामी सकिन्छौं । कुत खाने परम्पराको अन्त्य गर्नुपर्ने बेला आएको छ । ‘कुत’ खाने अर्थ प्रणालीमा ब्रेक लगाउनु छ । हामी संसदीय निर्वाचनको प्रणालीमा छौं । हामीले चुनाव जित्नुपर्ने छ । चुनाव जित्नुपर्यो भनेर हामी जब एकोहोरिँदै जान्छौं, तब समाजवाद विस्तारै पाखा लाग्दै जान्छ । अनि संसदीय निर्वाचनमा जित्नुपर्नेले हैन जिन्त सक्नेले जित्न थाल्छ । पहिला विभिन्न कमिटि चुनाव जित्न लाग्छन् । उनीहरु समाजवादको लागि हैन, समाजवाद पातलो हुँदै जान्छ ।
अहिलको प्रक्रिया दिनमा १०० जना जति दलाल पुँजीपतीसँग भेट हुन्छ । बिहान भन्सारको तस्कर आयो, त्यसपछि कर छल्ने मान्छे आयो, उद्योगमा पैसा छल्ने मान्छे आयो, दिउँसो आफ्नै पार्टीका नपढाउने प्रोफेसर आयो, आफ्नै पार्टीका नपढाउने शिक्षक आयो । साँझ भू–माफिया आयो । हामी यो राजनीतिक प्रणालीमा यस्ता यति मान्छेसँग ठक्कर खान्छौं ।
नयाँ कृषिमन्त्री भुसालले भने- परम्परागत कृषिले गणतन्त्रलाई थेग्न सक्दैन
अर्कोतिर संसदीय राजनीतिमा ठूलो हुनको लागि नेता हुनको लागि मेरो घर सानो छ । ठूलो घर भए हुन्थ्यो, छोरा छोरी सानो स्कुलमा पढदैछन । अलि ठिक-ठिकै सार्वजनिक स्कुलमा पढदैछन् । यीनलाई अलिकति अंग्रेजी बोल्ने स्कुलमा लाउन पाए हुन्थ्यो कि भन्ने । ५०/१०० जना मान्छे अघिपछि लाउने, विमानस्थलमा ओर्लदा, जाँदा स्वागत गर्ने भएदेखि म अलि केही गर्न सक्नेथिए होला । क्रान्तिलाई केही योगदान गर्न सक्ने थिएँ होला भन्ने सोच्छ । एकातिर यस्तो समस्या छ । अर्कोतिर तपाई आँखा मात्रै झिम्क्याउनु सबै समस्याको समाधान उसैले गर्छ । यो क्रममा जो मान्छे एक पटक झिमिक्क गर्यो सकिक्कयो । एक पटक क्रान्तिकारीले होस् गुमाएपछि कहिल्यै पनि खुट्टा टेक्दैन ।
राज्यको चरित्र दलाल पुँजीवादी हुन्छ । एक खर्बको बिक्री गर्दा १३ खर्ब आयात गर्छाैं । १२ खर्ब रुपैयाँ पूर्ति गर्न ५० लाख मानिसलाई अर्ब र खाडीमा ऊँट चराउन पठायो । उनीहरुले पठाएको बिप्रेषणको भर पर्यो । मान्छे अबर गएर दुई वर्षमा ऋण तिर्छ । अर्काे २ वर्ष कमाएर २ लाख कमाउँछ । चार वर्षमा सन्तान जवान हुन्छन् । अनि मोटरसाइकल किन्यो । मोटरसाइकल किन्न २ लाख खर्च हुन्छ । एक लाख भारतको कम्पनीलाई दिनुपर्छ, ८० हजार राज्यलाई कर तिनुपर्छ, २० हजार रुपैयाँ त्यो व्यापारीलाई दिनुपर्छ । यही पैसाले त्यसलाई पूरा गर्छ । यही हो, दलाल पूँजीवादी अर्थतन्त्र ।
अब के गर्लान् त भुसालले ?
यस्तो क्रान्तिकारी अभिव्यक्ति दिने भुसालले नेपालको कृषि क्रान्तिमा, कुत खाने अर्थ प्रणालीमा, गुजारा टार्ने श्रमिककोे लागि कस्तो नीति लेलान् ? आम प्रश्न हो यो ।
नवनियुक्त मन्त्री भूसालसामू चुनौतीका चाङ छन् । सरकारले अर्को वर्ष आर्थिक बृद्धि ८.५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । त्यो लक्ष्यमा पुग्न कृषि क्षेत्रको योगदान अतुलनिय त हुन्छ नै । सरकारले अघि सारेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना’ कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने छ । यसमा सुधार सहितको उत्पादनमा लाग्नुपर्ने बेला यही हो । धान, गहुँ, मकै, उखु लगायत उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने छ ।
नेपाललाई खाध्यनमा आत्मनिर्भर मात्रै हैन, यसलाई आधुनिकीकरण गर्दै आन्तरिक रोजगारी बढाउनु छ ।
पुँजीपति र माफियाबाट जोगिएलान् ?
भुसाल आफैंले रोजेर सिंहदरबार पसेका छन् । अब जोगिनु छ,- दलाल पुँजीपतीसँग, माफियासँग । भुसालको लागि सिंहदरबारको यात्रा पहिलो र नौलो भने होइन । उनी यसअघि नै विनाविभागीय मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन । २०६७ सालमा झलनाथ खनाल पार्टी अध्यक्ष तथा सरकारको नेतृत्व गर्ने तहमा हुँदा भुसालले विना विभागीय मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
पार्टीको नवौं महाधिवेशनमा केपी शर्मा ओली तत्कालीन नेकपा एमालेको पार्टी अध्यक्ष भए । त्यो समयमा उनले नेपाली समाज पुँजीवादमा प्रवेश गर्याे भन्ने बिचार राखे । तर त्यही समयमा एमालेले अर्धसामान्ती, अर्ध औपनिवेशिक समाज हो भन्दै आएको थियो । आफ्नो विचारमा अडिग भुसालले समाज पुँजीबादमा प्रवेश गर्यो भन्ने भनाइबाट पछि हटेनन् । पछि उनको यही बिचार पारित पनि भयो । उनले आफ्ना भनाईहरुमा कृषिलाई यतिसारो स्थान दिने गरेका छैनन् । उनले मुख्यतः राजनीति पाटोलाई नै बढी केलाउने गर्दै आएका छन् । त्यसैले पनि उनको अध्ययन, बिचार, बुझाईलाई आधार मान्दै गतिलो वा क्षमता अनुसारको मन्त्रालय पाएनन् भन्नेहरुको कमी छैन ।
तर उनले आफ्नो चाहना नै कृषि मन्त्रालय थियो भनेपछि भुसालको नेतृत्वमा नेपालको कृषिले छालाङ मार्ला कि अहिले यति आशा गरौं । किनभने यो दुईतिहाईको सरकार हो । काम गर्नको लागि समय छ । कम्तिमा ९ महिनामा सरकार ढल्छ ? मैले काम गर्न पाइन, मलाई असहयोग भने भनेर उम्कने कुनै ठाँउ छैन ।
यस्तो छ भुसालको राजीतिक यात्रा
भुसाल २०३५ सालमा तत्कालीन मालेबाट राजनीति यात्रा प्रारम्भ गरे । २०३६ सालदेखि अनेरास्ववियुमा लागेका उनी २०४४ देखि ०४८ सम्म महासचिव बने । विद्यार्थीकालदेखि नै विभिन्न समयमा हण्डर खाँदै आए । उनलाई त्यो समयदेखि नै माथिल्लो तहमा पुग्ने वातावरण बनेन् । भुसाल विद्यार्थी राजनीति गरिरहेको समयमा अखिलको अध्यक्ष बनाउने विषयमा अन्तिम टुंगो लाग्न बाँकी थियो, तर उनी महासचिवबाट नै बिदा भए ।
त्योबेला उनी अध्यक्षमा नपुग्नुको कारण भने पार्टीको संस्थापन पक्षमा नहुनुलाई मानियो । त्यो समयमा उनी सिपी मैनाली पक्षधर थिए । विद्यार्थी राजनीतिदेखि सुरु भएको धक्का हिजो, अस्तिसम्म रहि नै रह्यो ।
अध्ययनशिल भएपनि राम्रो स्थान नपाउने समस्याले ग्रसित भुसालले झलनाथ खनाल सरकारमा भएको समयमा मात्रै बिना विभागीय मन्त्रीमा चित्त बुझाउनु पर्यो ।
त्यसअघि उनी हरेक पटक संस्थापन पक्ष भन्दा बाहिर रहे र अहिले पनि । अहिले उनलाई माधव नेपाल पक्षधर भन्नेको कमी छैन । उनले तत्कालीन एमाले रुपन्देही सचिवको रुपमा पनि काम गरे । २०५३ सालमा निर्वाचिन सांसद बने ।
पार्टीले आफ्नो बिचार पास भएको भन्दै पार्टीसँग स्कुल विभागको जिम्मेवारी मागे । तर अन्तिम समयमा स्कुल विभाग पनि उनको पोल्टामा परेन ।
एमालेले विधानमा नलेखे पनि मौखिक रुपमा भने पार्टीको २ जना उप-महासचिवमध्ये १ जनाले राज्य व्यवस्था र १ जनाले स्कुल विभाग हेर्ने भन्ने थियो । जब कार्य विभाजन भयो भूसाल हेरेको हेर्यै भए । भुसाल एमालेको नवौं महाधिवेशनमा २०७१ सालमा उप-महासचिवमा निर्वाचित भएका थिए । भुसालले समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् ।