यी हुन् विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइनको सुविधा लिने उद्योग, सवा ३ अर्ब नतिर्ने को को हुन् ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर बिजुली उपयोग गर्ने ग्राहकलाई धमाधम बिल पठाउन थालेपछि उद्योगी/व्यवसायीहरु विरोधमा उत्रिए ।

प्राधिकरणले गैरकानूनीरुपमा बिल पठाएको भन्दै व्यवसायीहरुले उक्त बिल भुक्तानी गर्न नसक्ने घोषणासमेत गरे ।

लोडसेडिङका बेला उद्योग/व्यवसाय र अत्यावश्यक क्षेत्र जस्तै अस्पताल लगायतका क्षेत्रमा लोडसेडिङको असर हुन नदिन प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपलब्ध गराएको थियो ।

डेडिकेटेडमा भन्दा ट्रंक लाइनमा बढी विवाद र समस्या आएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘डेडिकेटेडमा खासै समस्या छैन तर ट्रंक लाइनमा भने समस्या छ,’ घिसिङले भने, ‘ट्रंक लाइन लिएकाहरुबाट उठाउनूपर्ने रकम पनि निकै बढी छ ।

यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?

घिसिङका अनुसार डेडिकेटेड र ट्रंक लाइन लिने दुबै ग्राहकबाट ९ अर्ब ९ करोड ४० लाख ४६ हजार ६ सय ४१ रुपैयाँ महशुल भुक्तानी हुन बाँकी छ । जसमा ट्रंक लाइनको सुविधा लिने ग्राहकबाट मात्रै ५ अर्ब ८१ करोड १२ लाख १७ हजार ७ सय ७ रुपैयाँ लिन बाँकी छ भने डेडिकेटेडका ग्राहकबाट ३ अर्ब २८ करोड २८ लाख २६ हजार ९ सय ३३ रुपैयाँ उठाउन बाँकी छ ।

अदालतले धमाधम विद्युत प्राधिकरणको पक्षमा फैसला गरेसँगै पैसा उठाउनका लागि प्राधिकरणका प्रमुख कुलमान घिसिङको मनोवल बढेको छ ।

डेडिकेटेड र ट्रंक लाइनको भुक्तानीको विषयमा विवाद बढेपछि संसदीय समितिले समेत चासो देखाएको छ । संघीय संसदको सार्वजानिक लेखा समितिले प्राधिकरणसँग सम्पूर्ण विवरण मागेको थियो । प्राधिकरणले यही जेठ ६ गते लेखा समितिलाई १६ पृष्ठ लामो प्रतिवेदन बुझाएको छ ।

विद्युत प्राधिकरणले तोकेको अतिरिक्त महसुल तिर्न नसक्ने व्यवसायीको घोषणा

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको उक्त रिपोर्ट अनुसार अनुसार डेडिकेटेड लाइन लिने ग्राहकको संख्या २ सय ८७ छ । जसमध्ये सरकारी अस्पताल, सामूदायिक खानेपानीको संख्या ४८ छ भने अन्य ग्राहकहरुको संख्या २ सय ३९ छ ।

खासगरी निजी क्षेत्रले लिएको डेडिकेटड र ट्रंक लाइनको बिजुलीको बिल भुक्तानीमा विवाद आएको छ ।

गर्जिए कुलमान- लोडसेडिङको तालिकाभन्दा बढी बिजुली उपयोग गर्ने उद्योगीलाई चोरी मुद्दा (भिडियो)

प्राधिकरणका अनुसार डेडिकेटेड लाइन लिएर बिजुलीको खपत गरेका ग्राहकहरुबाट उठाउनुपर्ने कूल १३ अर्ब ७८ करोड ८५ लाख ९३ हजार ८ सय ८८ रुपैयाँमध्ये १० अर्ब ६९ करोड ९३ लाख ६० हजार २ सय १९ रुपैयाँ मात्रै उठेको छ । ३ अर्ब २८ करोड २८ लाख २६ हजार ९ सय ३३ रुपैयाँ उठाउन बाँकी छ । उक्त रकम उठाउनका लागि प्राधिकरणले ग्राहकहरुलाई पछिल्लो समय बढी ताकेता गरेको हो ।

प्राधिकरणले बिल पठाइसकेपछि नतिर्ने अडान लिँदै ग्राहकहरु आन्दोलित भएका छन् । कतिपय ग्राहकहरु अदालतसम्म पुगेका थिए । तर, अदालतले धमाधम विद्युत प्राधिकरणको पक्षमा फैसला गरेसँगै पैसा उठाउनका लागि प्राधिकरणका प्रमुख कुलमान घिसिङको मनोवल बढेको छ ।

प्राधिकरणका ८ वटा क्षेत्रीय कार्यालयमध्ये सबैभन्दा बढी डेडिकेटेड लाईन लिने ग्राहकको संख्या काठमाडौंमा धेरै छ । काठमाडौंका १ सय ७६ ग्राहकले डेडिकेटेड लाइनको सुविधा लिएका छन् । त्यस्तै, हेटौंडाबाट  २८, बिराटनगरबाट १४, जनकपुर १०, नेपालगञ्जबाट ७, पोखराबाट ३, बुटवलबाट १ ग्राहकले यस्तो सुविधा लिएका छन् । तर, अत्तरिया क्षेत्रीय कार्यालयबाट भने कसैले पनि डेडिकेटेड लाइन नलिएको प्राधिकरणले जनाएको छ ।

क्षेत्रीय कार्यालयहरुमध्ये सबैभन्दा बढी महशुल असूल गर्न हेटौंडाबाट बाँकी छ । हेटौंडा कार्यालय अन्तरगत डेडिकेटेड लाइन लिएका ग्राहकबाट १ अर्ब २१ करोड ५५ लाख ९६ हजार ९ सय १० रुपैयाँ असूल गर्न बाँकी रहेको प्राधिकरणको दाबी छ । त्यस्तै, बिराटनगरबाट ७९ करोड ३३ लाख ८५ हजार ९ सय ३५ रुपैयाँ, नेपालगञ्जबाट ७२ करोड ८७ लाख ७६ हजार २ सय १२ रुपैयाँ र जनकपुरबाट ४१ करोड ६ लाख ५९ हजार २ सय ८८ रुपैयाँ असूल गर्न बाँकी छ ।

त्यसैगरी, बुटवलबाट ९ करोड ७४ लाख २४ हजार ३ सय ४०, काठमाडौंबाट ३ करोड ६९ लाख ८४ हजार २ सय ४५ रुपैयाँ असूल गर्न बाँकी छ ।
पोखरा क्षेत्रीय कार्यालय अन्तगर्तत सम्पूर्ण रकम भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

बिराटनगर

बिराटनगर क्षेत्रीय कार्यालय अन्तरगत डेडिकेटेड लाइन लिने १४ ग्राहकमध्ये ३ वटा मात्रै निजी क्षेत्रका ग्राहक छन् । स्पाइस नेपाल प्रालिले ४०० केभीए, आरती स्ट्रिप्स प्रालिले १०००० केभीए, रिलाइन्स स्पिनिङ मिल्सले १०००० केभीए लोड लिएका छन् ।

जनकपुर

जनकपुरबाट डेडिकेटेड सुविधा लिने १० ग्राहकमध्ये निजी क्षेत्रको कसमस सिमेन्टले मात्रै ४००० केभीए लोडको सुविधा लिएको छ ।

हेटौंडा

हेटौंडा क्षेत्रीय कार्यालय अन्तरगत डेडिकेटेड लाइन लिने २८ ग्राहक मध्ये १५ वटा सरकारी कार्यालय छन् भने १३ वटा निजी क्षेत्रका उद्योग व्यवसाय छन् ।

कलेज अफ मेडिकल साइन्सले १०००, चितवन मेडिकल कलेजले १०००, मनकामना हस्पिटल प्रालिले ७५, एलाइभ हस्पिटलले ५०, नेशनल सिटी हस्पिटलले ५०, चिनतव हस्पिटलले ५०, मौलाकालिका हस्पिटलले ५०, कंग्रिट पोल प्लान्ट अमलेखगञ्जले १३३.७५ केभीए लोड लिएका छन् ।

त्यसैगरी, शिवम् सिमेन्टले १५०००, एनसेलले ५००, सिनो हाइड्रो कर्पोरेशन ४००, बहुउदेश्यीय प्लास्टिकले ११२.५ र डाबर नेपालले ४१८२ केभीए लोड लिएका छन् ।

काठमाडौं

काठमाडौं कार्यालयबाट डेडिकेटेड लाइनको सुविधा लिने अधिकांश सरकारी कार्यालय र सामुदायिक संस्था, कुटनीतिक नियोग छन् ।

वुटवल

वुटवल क्षेत्रीय कार्यालयबाट डेडिकेटेड लाइन लिने एकमात्र श्री शुभश्री अग्नि सिमेन्ट प्रालि छ । यसले ७५०० केभीए लोडको सुविधा लिएको थियो ।

नेपालगञ्ज

नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट सम्राट सिमेन्टले ३५०० केभीए, घोराही सिमेन्टले १२५० केभीए लोड लिएका छन् । अरु सरकारी कार्यालय छन् ।


पुष्प दुलाल