यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन लिएर बिजुलीको महशुल नतिर्ने उद्योगी/व्यवसायीहरुको लिस्ट तयार पारेको छ ।

ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरण र व्यवसायीबीच चर्को विवाद उत्पन्न भएपछि प्राधिकरणले टीओडी मिटरको अध्ययन गरेर ग्राहकको एक/एक गरी विस्तृत विवरण तयार पारेको हो ।

विद्युत प्राधिकरणले तोकेको अतिरिक्त महसुल तिर्न नसक्ने व्यवसायीको घोषणा

कुन ग्राहकले कुन फिडरबाट कति भोल्टेज बराबरको बिजुली लिएका छन् ? र, उनीहरुले अब प्राधिकरणलाई कति रकम तिर्न बाँकी छ भन्ने प्राधिकरणले तयार पारेको लिस्ट क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

प्राधिकरणले उपलब्ध गराएको नयाँ तथ्यांकअनुसार २०७५ चैत मसान्तसम्ममा २३९ ग्राहकले डेडिकेटेड फिडर र ६९ ग्राहकले ट्रंक लाइनमार्फत् बिजुलीको अतिरिक्त सुविधा लिएका छन् । यसरी उद्योगी व्यवसायीले अतिरिक्त विषेश सुविधा लिएका कारण विगतमा सर्वसाधारणले लोडसेडिङ भोग्नु परेको प्राधिकरणका प्रमुख कुलमान घिसिङले सार्वजनिक रुपमै अभिव्यक्ति दिइसकेका छन् ।

गर्जिए कुलमान- लोडसेडिङको तालिकाभन्दा बढी बिजुली उपयोग गर्ने उद्योगीलाई चोरी मुद्दा (भिडियो)

डेडिकेटेड र ट्रंक लाइनका ग्राहकहरुलाई प्राधिकरणले कूल ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार ९ सय ९ रुपैयाँ बिल पठाएको छ । जसमध्ये २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार ५ सय ३२ रुपैयाँ भुक्तानी भएको र ९ अर्ब ९ करोड ४० लाख ४६ हजार ६ सय ४१ रुपैयाँ भुक्तानी हुन बाँकी छ ।

ट्रंक लाइनको सुविधा लिने ६९ ग्राहकबाट मात्रै ५ अर्ब ८१ करोड १२ लाख १९ हजार ७ सय ७ रुपैयाँ विद्युत महशुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । कूल १८ अर्ब ६६ करोड ९५ लाख ४ हजार २० रुपैयाँमध्ये १२ अर्ब ८५ करोड ८२ लाख ८४ हजार ३ सय १२ रुपैयाँ मात्रै तिरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका ८ वटा क्षेत्रीय कार्यालयमध्ये बुटवलबाट २८ ग्राहकले ट्रंक लाइनको सुविधा लिएका छन् । त्यस्तै, हेटौंडाबाट ११ पोखराबाट ९, अत्तरियाबाट ८, बिराटनगरबाट ५, जनकुपर र काठमाडौंबाट ३/३ र नेपालगञ्जबाट २ ग्राहकले ट्रंक लाइनको सुविधा लिएका छन् ।

कुन क्षेत्रीय कार्यालयबाट कुन उद्योगले कति बिजुली प्रयोग गरे ?

बिराटनगर
प्राधिकरणको बिराटनगर क्षेत्रीय कार्यालयको विभिन्न सव-स्टेशनमार्फत् बाबा जुट मिल्स, रघुपति जुट मिल्स, अरिहन्त पोलिप्याक, अरिहन्त मल्टिफाइवर र निगाले सिमेन्टले ट्रंक लाइनको सुविधा लिएका हुन् । प्राधिकरणका अनुसार यी ५ उद्योगले २७ करोड २४ लाख २ हजार ४ सय २७ रुपैयाँ बिजुलीको महशुल तिर्न बाँकी छ ।

कूल ७८ करोड ३ लाख ९ हजार ६ सय रुपैयाँ बिद्युत महशुलमध्ये ती उद्योगले ५ करोड ७९ लाख ७ हजार १ सय ७६ रुपैयाँ मात्रै तिरेका छन् ।
बिराटनगर क्षेत्रीय कार्यालयबाट ०१०.१२.५०१ ए नम्बरको ग्राहक रहेको बाबा जुट मिल्सले टंकी-रंगेली सव-स्टेसन अन्तर्गतको ३३ केभी प्रसारणलाइनबाट १००० केभीए लोडको सुविधा उपयोग गरेको छ ।

त्यसैगरी, ००९.२४.५३३ नम्बरको ग्राहक रघुपति जुट मिल्सले ३३ केभीको रानी सव-स्टेसनबाट २०० केभीए लोड लिएको छ ।

त्यस्तै, सुनसरीको दुहबीस्थित १००.१६.५३६ नम्बरको ग्राहक संख्या रहेको अरिहन्त पोलिप्याक उद्योगले ३३ केभीको दुहबी-धरान सव-स्टेसनबाट १३५० केभीए लोडको र सोही सव-स्टेशनबाट १००.१६.५१४ नम्बरको ग्राहक अरिहन्त मल्टिफाइवर उद्योगले २२०० केभीए लोडको सुविधा लिएको छ ।

त्यसैगरी, ००४.२९.५५४ ग्राहक नम्बरको धनकुटाको निगाले सिमेन्टले ३३ केभीको तिरतिरे सव-स्टेशनबाट २००० केभीए लोडको बिजुली सुविधा लिएको छ ।

जनकपुर

प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयमार्फत् जम्मा १० वटा डेडिकेटेड र ३ वटाले ट्रंक लाइन गरी जम्मा ३९ हजार ८ सय ११ केभीए लोड बिजुली उपयोग गरेका छन् । ट्रंक लाइनको प्रयोग गर्ने मारुती सिमेन्ट, क्षीरेश्वर महादेव क्रसर उद्योग र एभरेष्ट पेपर मिलले ६८ करोड ९ लाख ३८ हजार ४ सय ७९ रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

कूल १ अर्ब ८१ करोड ५७ लाख १९ हजार ७ सय ५७ रुपैयाँमध्ये १ अर्ब १३ करोड ४७ लाख ८१ हजार २ सय ७७ रुपैयाँ मात्रै महशुल तिरेका छन् ।
मिर्चैया वितरणकेन्द्रबाट ०.०१.२३.५०७ नम्बरको ग्राहक मारुती सिमेन्टले ३३ केभीको लाहान-विश्वनपुर सव-स्टेशनको विश्वनपुर फिडरबाट १०००० केभीए बिजुलीको लोड लिएको छ ।

त्यस्तै, सिन्धुलीको ००३.१०.५०२ नम्बरको ग्राहक क्षीरेश्वर महादेव क्रसर उद्योगले ३३ केभी क्षमताको प्रसारण लाइन भीमान सिन्धुलीबाट ५० केभीए लोडको उपयोग गरेको छ ।

त्यस्तै, साकुवास्थित ००६.०६.५५१ नम्बरको ग्राहक एभरेष्ट पेपर मिलले ३३ केभी क्षमताको ढल्केबर-मुजेलिया सव-स्टेशनबाट ४००० केभीए बिजुली लिएको छ ।

हेटौंडा

त्यसैगरी, प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालय अन्तर्गतका विभिन्न सव-स्टेशनहरुबाट ट्रंक लाइनको सुविधा लिएका ११ ग्राहकले ३ अर्ब १० करोड ८३ लाख ५८ हजार १ सय ९४ रुपैयाँ तिर्न बाँकी छ । ती ग्राहकले कूल १० अर्ब ७८ करोड ७५ लाख ८३ हजार १ सय ७१ रुपैयाँमध्ये ७ अर्ब ६७ करोड ९२ लाख २४ हजार ९ सय ७७ रुपैयाँ मात्रै विद्युत महशुल तिरेका छन् ।

प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालयबाट ००१.२३.५३० नम्बरको ग्राहक रहेको सिमराको जगदम्बा स्टिलले ६६ केभी क्षमताको हेटौंडा ग्रीडबाट ३४४०० केभीए बिजुली लिएको छ ।

त्यस्तै, सोही ग्रीडबाट ००१.२७.५२३ नम्बरको ग्राहक रहेको हामा आइरनले ४००० केभीए, ००१.२७.५१३ नम्बरको ग्राहक अशोक स्टिलले ७००० केभीए, ००१.२७.५२२ नम्बरको ग्राहक सूर्य नेपालले १५०० केभीए, ००१.२७.५२६ नम्बरको ग्राहक हुलास स्टिलले ७५०० केभीए र ००१.२७.५२६ नम्बरको ग्राहक जगदम्बा इन्टरप्राइजेज ४८०० केभीए बिजुलीको लोड लिएका छन् ।

त्यस्तै, ००९.०१.५८१ नम्बरको ग्राहक रहेको हेटौंडा सिमेन्टले ८१२५ केभीए लोड लिएको छ ।

त्यसैगरी वीरगञ्ञस्थित ०१५.११.५७९ नम्बरको ग्राहक रहेको त्रिवेणी स्पिनिङ मिल्सले ६६ केभीए क्षमताको परवानीपुर–सिमरा सव–स्टेशनबाट ६५०० केभीए लोड लिएको छ ।

वीरगञ्जकै ०१५.२५.५० नम्बरको ग्राहक रहेको त्रिवेणी यार्नले परवानीपुर–सिमरा सव–स्टेशनबाट ३६०१ केभीए लोड लिएको छ ।
वीरगञ्जकै ०१५.२५.५०७ नम्बरको ग्राहक हिमाल आइरन एण्ड स्टिलले पनि परवानीपुर–सिमरा सव–स्टेशनबाट २५०० केभीए लोड लिएको छ ।

त्यसैगरी, ०१५.११.५८४ बी नम्बरको ग्राहक रहेको नारायणी स्पातले परवानीपुर–सिमरा सव–स्टेशनबाट ८७५० केभीए लोड लिएको छ ।

काठमाडौं

प्राधिकरणको काठमाडौं कार्यालयबाट ट्रंक लाइन लिने ३ ग्राहकले १५ करोड २१ लाख ८५ हजार ७ सय ४० रुपैयाँ तिर्न बाँकी छ । कूल ४६ करोड ८२ लाख ६२ हजार १ सय ५१ रुपैयाँमध्ये ३१ करोड ६० लाख ७६ हजार ४ सय ४० रुपैयाँ बुझाएका छन् ।

प्राधिकरणको कुलेश्वर वितरण केन्द्रबाट ग्राहक नम्बर ०२२.२३.२०९ रहेको बारुद खानाले बालाजु टेकु सव-स्टेशनबाट ५०० केभीए लोड लिएको छ ।

त्यस्तै, २२९.२२.४०९ ग्राहक नम्बर रहेको बालाजुको हेल्थ केयर फाउन्डेशनले ११ केभी क्षमताको बालाजु सव-स्टेशनबाट १६० केभीए लोड लिएको छ ।

ग्राहक नम्बर ०२५.७५.५७० रहेको धादिङको यूनाइटेड सिमेन्टले देवीघाट-जहरे सव-स्टेशनबाट ३३ केभी क्षमताको प्रसारणलाइन प्रयोग गरी ७००० केभीए लोड लिएको छ ।

बुटवल

प्राधिकरणको बुटवल क्षेत्रीय कार्यालय मातहतका विभिन्न सव-स्टेशनबाट २८ ग्राहकले ट्रंकलाइनमार्फत् ४६ हजार ६ सय ७८ केभीए बराबरको लोड लिएका छन् । बिजुली प्रयोग गरेबापत उनीहरुले १ अर्ब २९ करोड १३ लाख ९५ हजार ६ सय २४ रुपैयाँ तिर्न बाँकी छ । कूल ३ अर्ब ७१ करोड ३८ लाख ६९ हजार १८ रुपैयाँमध्ये २ अर्ब ४२ करोड २४ लाख ७३ हजार ३ सय ९३ रुपैयाँ तिरेको प्राधिकरणले जनाएको छ ।
ग्राहक नम्बर ००३.१०.५७१ रहेको भैरहवाको अर्घाखाँची सिमेन्टले बुटवल लुम्बिनी सव–स्टेशनबाट ३३ केभीए क्षमताको प्रसारणलाइन प्रयोग गरी १०००० केभीए लोड लिएको छ ।

त्यस्तै, ०१०.२६.५७५ नम्बरको ग्राहक साकुरा पाइप उद्योगले तिनाउ-चौराह सव-स्टेशनमार्फत् ३३ केभी प्रसारण लाइनको प्रयोग गरी १०० केभीए लोड लिएको छ ।

त्यस्तै, ०१०.२७.५८१ ग्राहक नम्बरको जेबी टेक्सटाइलले योगीकुटी-चौराह सव-स्टेशनमार्फत् ३३ केभी प्रसारणलाइनको प्रयोग गरी १०० केभीए लोड लिएको छ । र, ०१०.२७.५८२ ग्राहक नम्बरमार्फत् जेबी टेक्सटाइलले नै सोही सव-स्टेशनमार्फत् १९३.७५ केभीए लोड लिएको छ ।

त्यस्तै, ०१०.२७.५८२ ग्राहक नम्बर रहेको न्यू नारायण रबर उद्योगले योगीकुटी-चौराह सव-स्टेशनमार्फत् १७५ केभीए लोड लिएको छ ।
परासीस्थित ००२.१८.५५७ नम्बरको ग्राहक रहेको लक्ष्मी स्टिल प्रालिले शितलनगर-परासी ३३ केभी प्रसारणलाइमार्फत् ५००० केभीए लोड लिएको छ । परासीकै ००४.१८.५५२ ग्राहकनम्बर मार्फत् सर्वोत्तम सिमेन्टले शितलनगर-परासी ८००० केभीए लोड लिएको छ ।

बुटवल सिमेन्ट मिल्स प्रालिले ००१.१८.५५२ ग्राहक नम्बरमार्फत् शितलनगर-परासी सव-स्टेशनमार्फत् ३३ केभी प्रसारण लाइनको प्रयोग गरी ५००० केभीए लोड प्रयोग गरेको छ ।

त्यसैगरी, ग्राहक नम्बर ००३.११.५६६ रहेको विशाल सिमेन्टले बुटवल-लुम्बीनी सव-स्टेशनमार्फत् ३३ केभी प्रसारण लाइनको प्रयोग गरी १२०० केभीए लोड प्रयोग गरेको छ ।

जगदम्बा सेन्थेटिक्सले ४५००, एजी हेल्थ इन्ड्रस्टीजले ६५०, यशोधा फुट प्रालिले ६००, जयदुर्गा प्लास्टिक इन्ड्रस्ट्रीले १५०, नवनेपाल प्लास्टिक इन्ड्रस्ट्रीले २५०, प्रिया प्याकेजिङले १००, नेशनल ट्रेड रबर इन्ड्रस्ट्रीजले ५०, शुभलक्ष्मी पोलिमर्सले ४००, पञ्चकन्या प्लास्टिक १५००, पञ्चकन्या स्टिल २५००, सोना पोलिमर्स ५००, सोना प्याकेजिङले ४००, लुम्बिनी फ्लोर मिलले ३०२.५, फेरो स्टिल्स प्रालिले ३०००, एभरेष्ट रुलिङ मिलले १६०० केभीए लोड लिएको प्राधिकरणले जनाएको छ ।

बुटवलको नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी अञ्चल कार्यालय, ड्राइभरटोल खानेपानी, देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले पनि ट्रंक लाइनमार्फत् बिजुली लिएका छन् ।

पोखरा

पोखरा क्षेत्रीय कार्यालयमार्फत् ९ ग्राहकले ट्रंक लाइनको सुविधा लिएका छन् । पोखरा कार्यालयबाट ट्रंक लाइनको सुविधा लिने सबै ग्राहकले बिजुलीको बिल भुक्तनी गरिसकेको प्राधिकरणले जनाएको छ । कूल २६ करोड १३ लाख ६६ हजार ४ सय ७९ रुपैयाँ महशुल उठेको मध्ये सबै रकम भुक्तानी भइसकेको छ ।

पोखरा हवाइ कार्यालय, हिमालय आँखा अस्पताल, मणिपाल कलेज, नेपाल टेलिकम, गण्डकी अञ्चल अस्पताल, गण्डकी अस्पताल, क्षेत्रीय क्षयरोग अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय गरी कूल ९ ग्राहकले न्यूनतम ५० केभीएदेखि अधिकतम ४०० केभीएसम्को लोड लिएका छन् ।

नेपालगञ्ज

प्राधिकरणको नेपालगञ्ज क्षेत्रीय कार्यालयमार्फत् ट्रंक लाइन सुविधा लिने सोनापुर सिमेन्ट र रोल्पा सिमेन्टले ३० करोड ३५ लाख ५२ हजार ६ सय ८१ रुपैयाँ तिर्न बाँकी छ । कूल ८३ करोड ५५ लाख ७६ हजार २ सय २७ रुपैयाँमध्ये ५३ कोड २० लाख २३ हजार ५ सय ४५ रुपैयाँ मात्रै तिरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको नेपालगञ्ज क्षेत्रीय कार्यालय मातहतको घोराही-तुल्सीपुर सव-स्टेशनबाट ग्राहक नम्बर ००५.२२.५०४ रहेको सोनापुर सिमेन्टले ६००० केभीए र ग्राहक नम्बर ००५.०९.५०१ रहेको रोल्पा सिमेन्टले २७०० केभीए लोड लिएका छन् ।

अत्तरिया

अत्तरिया क्षेत्रीय कार्यालयबाट ८ ग्राहकले ट्रंक लाइनको सुविधा लिएका थिए । उनीहरुले २३ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ । कूल ६८ लाख १७ हजार ६ सय ११ रुपैयाँमध्ये ४४ लाख ३१ हजार ५२ रुपैयाँ तिरिसकेका छन् ।

ग्राहक नम्बर ००५.१५.४०३ रहेको स्पाइस नेपालले अत्तरिया-डडेल्धुरा सव-स्टेशनबाट २५ केभीए र सोही कम्पनीले अत्तरिया-बुदर सव-स्टेशनबाट क्रमशः २५ र २० केभीए लोड लिएको छ ।

नेपाल टेलिकम, नेपाल टेलिभिजन, रेडियो नेपालले अत्तरिया क्षेत्रीय कार्यालय मातहतको सव–स्टेशनबाट ट्रंक लाइन लिएका छन् ।

व्यवसायी भन्छन्- तिर्दैनौं

प्राधिकरणले बिजुलीको बिल तिर्न पत्राचार गरेपछि उद्योगी÷व्यवसायीहरुले गैरकानूनीरुपमा प्राधिकरणले पठाएको बिलको भुक्तानी नतिर्ने बताउँदै आएका छन् ।

गत बैशाख २४ गते निजी क्षेत्रका ३ वटै संगठनले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर विद्युत प्राधिकरणले काटेको बिलको रकम भुक्तानी गर्न नसक्ने घोषणा गरे । त्यस्तै, उद्योगी व्यवसायीहरु प्राधिकरणले गैरकानूनी रुपमा विल पठाएको भन्दै त्यसविरुद्ध अदालत पनि पुगेका छन् ।

प्राधिकरण भन्छ/ जसरी भए पनि उठाउँछौं
त्यसको भोलिपल्ट अर्थात् बैशाख २५ गते विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन ट्रंक र डेलिकेटेड लाइन लिने र बिल नतिर्ने व्यवसायीको एक/एक गरी छानविन गरेर रिपोर्ट सार्वजानिक गर्ने घोषणा गरेका थिए ।

र, उक्त समय लोडसेडिङको तालिकाभन्दाबढी बिजुली उपयोग गर्ने उद्योगी व्यवसायीबाट डेडिकेटेड वा ट्रंक लाइनसरह प्रिमियम जोडेर महशुल तिर्न लगाउने र त्यो नमाने चोरी मुद्दा दायर गरेर भएपनि महशुल असूल गर्ने घिसिङले चेतावनी दिए । 


पुष्प दुलाल