यसकारण खस्छ मुग्लिन–नारायणगढ सडकखण्डमा सधै पहिरो



काठमाडौं । राजधानी काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणगढ सडक खण्डमा दैनिक औसतमा ४ वटा पहिरो जाने गरेको गरेको छ ।

सडक निर्माणमा ध्यान नदिइएका कारण पहिरो भएको भन्ने खालको गुनासाहरु पनि बेला बेलामा नआएका होइनन् । तर पहिरो रोकिएको छैन । पहिरो रोक्नका लागि सरकार र मातहतका निकायले प्रयास नगरेका पनि होइनन, तर सफल भने हुन सकेका छैनन् ।

विशेष गरी महाभारत पर्वत श्रृखला र चुरेको सीमा रहेको क्षेत्रमा पछिल्ला दिनहरुमा पहिरोको जोखिम बढ्दै गएको छ । पहिरोको जोखिम बढ्नाका कारण प्राकृतिक रुपमा नै आएको बदलाव तथा प्राकृतिक दरारलाई लिइने गरिन्छ ।

केही वर्ष पहिलेसम्म कृष्णभीरले त्यसैगरी नागरिकलाई दुःख दिएको थियो । सयौं पटक पहिरो झर्दा सवारी साधन रोकिएका थिए भने नीति निर्मातादेखि नागरिकसमेत हैरान भएका थिए ।

कृष्णभीरको रोग पछिल्ला दिनमा मुग्लिन–नारायण्गढ सडक खण्डमा सरेको छ । सामान्य वर्षा हुनासाथ पहिरो खस्न जाँदा सयौं सवारी साधन घन्टौं जाममा बस्नु परेको छ ।

देशको लाइफलाइनको रुपमा मानिएको सो सडकखण्डको सुधारका लागि भएका सबै प्रयास नकाम सावित भएका छन् । तर कारण र तथ्य के हो भन्नेमा हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

पहिरोका जानकारहरुका अनुसार नेपालका २७ डिग्रीदेखि ३७ डिग्री कोण भएका भीर तथा पहाडमा पहिरोको जोखिम बढ्दै गएको छ । सो सडक खण्डको अवस्था पनि त्यस्तै रहेको छ ।

पहिरो विज्ञ तथा सोही विषयमा विद्यावारिधी गर्नुभएका डा कृष्णप्रसाद देवकोटाका अनुसार सो सडकखण्डमा अनियन्त्रित तवरले मेशिनको प्रयोग गरी सडक निर्माण गरिएका कारण पहिरोको जोखिम बढेको हो ।

सो सडक निर्माण भएको क्षेत्रमा एक प्रकारको दरार पैदा भएको छ । जसका कारण साना ठूला पहिरो निरन्तर रुपमा नै खस्ने सम्भावना सधै रहन्छ । पानीको भार थाम्न सक्ने अवस्था समेत जमिनमा रहेको छैन । त्यस्तै त्रिशुलीले सडक रहेको स्थान भन्दा तलतिर खोलेर जमिनमा हलचल मच्चाइदिएको छ ।

समस्या समाधानका लागि प्राकृतिक रुपमा नै वैज्ञानिक उपायको खोजी गरिनु जरुरी छ । जुन कृष्णभीरको पहिरो नियन्त्रणमा प्रयोग गरिएको थियो । जापानी प्रविधिलाई नेपाली स्वरुपमा परिणत गरेर पहिरो नियन्त्रण गरिएको अनुभवन कृष्णभीरकै भएका कारण पनि त्यतातिर विशेष ध्यान दिनुपर्ने देखिन्छ । अन्यथा पहिरोको जोखिम अझै बढ्दै जाने देखिन्छ ।

सडक निर्माण गर्दा जथाभावी रुपमा मेशिनको प्रयोग गर्ने प्रवृत्तिमा समेत रोक लगाउनुपर्ने आवश्यकता देखिएको छ ।

अनावश्यक रुपमा मेशिनको प्रयोग गर्दा त्यसले जमिनको सतह खल्बल्याउने गरेको छ । जुन अन्यका लागि समेत विचारणीय प्रश्न बनेको छ । बुठवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा समेत बर्षेनी पहिरोका कारण समस्या उत्पन्न भएको छ । दैनिक पहिरो खस्ने समस्याका कारण सो सडक खण्डमा यात्रा गर्ने हजारौ नागरिक प्रताडित भएका छन् ।

सडक निर्माणमा गरिएको गलत प्रविधिका कारण पहिरो जान मद्दत पुगेको हो भने भौगर्भिक रुपमा समेत समस्या रहेको जानकारहरुको भनाइ छ ।

पछिल्लो पटक २०७२ साल वैशाखमा गएको भूकम्पका कारण पनि कतिपय स्थानमा जमिनको अवस्थितिमा नै बदलाव आएको छ । जसका कारण देशभर नै पहिरोको मात्रा बढेको छ ।

रसुवामा पछिल्लो पटक गएको पहिरो त्यसैको कारण हुन सक्ने देखिन्छ । यस्तै बाग्लुङ र उत्तरी धादिङ र गोरखाको पहिरो पनि भूकम्पका कारण निम्तिएको हुन सक्ने धेरैको मत रहेको छ ।

नेपालको पहाडलाई जानकारहरुले योङ माउन्टेनको नाम दिएका छन् । भौगोलिक रुपमा नै कमजोर मानिएका र ठानिएका त्यस्ता पहाडमा रहेका रुख तथा वनस्पतीको संरक्षणमा विशेष ध्यान दिनुपर्ने अवस्था देखिएको छ । तर पछिल्लो समयमा अनियन्त्रत रुपमा नै वन फडानी भएको छ । त्यसको कारण आकाशबाट परेको पानी सोझै जमिनमा पर्ने र बाढी पहिरोको मात्रामा समेत गुणात्मक परिवर्तन आउने गरेको छ ।

सडक निर्माणमा डोजरको प्रयोगका कारण पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । तर नीतिगत रुपमा नै कुनै तयारी भने हालसम्म गरिएको छैन ।

सरकारले विपदको जेखिम न्यूनीकरणका लागि भन्दै विपद ऐन ल्याएपनि नियमावलीको अभावका कार्यावयन हुन सकेको छैन । यस वर्ष मात्रै प्राकृतिक विपदका कारण ४ सय बढीको ज्यान गएको छ ।


क्लिकमान्डु