![](https://clickmandu.com/wp-content/uploads/2025/02/mantri-khadka-768x512.jpg)
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ।
‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहिबार भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् ।
पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।
भेटमा टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरुमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यहरुका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए । भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।
प्रतिक्रिया