![](https://clickmandu.com/wp-content/uploads/2025/02/Cement_Industry_.jpg)
काठमाडौं । अर्थतन्त्रमा छाएको सुस्तताको असर वास्तविक क्षेत्रका कम्पनीमा देखिएको छ । विशेषगरी निमार्ण क्षेत्रका उद्योगहरु मध्ये सिमेन्ट कम्पनीको वित्तीय विवरणमा अर्थतन्त्रमा देखिएको सुस्तता झल्किएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण समग्र व्यापार घटेको छ भने उधारो बढेका कारण ‘भुक्तानी चक्र’ लम्बिँदा उद्योगहरु समस्यामा परेका छन्।
नेप्सेमा सूचीकृत भएका वास्तविक क्षेत्रका ४ सिमेन्ट कम्पनी र बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिलको वित्तीय अवस्थामा विश्लेषण गर्न खोजिएको छ ।
सूचीकृत भएका ४ मध्ये २ वटा सिमेन्ट कम्पनीले घाटामा रहेको वित्तीय विवरण प्रकाशित गरेका छन् । २ वर्षअघि मात्रै प्रिमियम मूल्यमा आईपीओ जारी गरेका २ वटा सिमेन्ट कम्पनी घाटामा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । गत आर्थिक वर्ष बुक बिल्डिङ विधिमार्फत् आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको भने गत आवको तुलनामा चालु आर्थिक वर्षमा सञ्चालन आम्दानीसँगै नाफामा पनि उल्लेख्य सुधार भएको छ ।
सर्वोत्तमसँगै बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्काशन सुरु गरेको रिलायन्स स्पिनिङ मिलको वित्तीय विवरण पनि चालु आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/Capture-3.jpg)
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै घाटामा रहेको घोराही सिमेन्टले आर्थिक वर्ष २०७९/८० को अन्तिम त्रैमासमा मात्रै आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ जारी गरेको थियो ।
कम्पनीले आईपीओ जारी गर्दा सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरण र पछिल्लो २ आर्थिक वर्षको कम्पनीको वास्तविक र प्रक्षेपित वित्तीय विवरणमा ठूलो अन्तर देखिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा हुने प्रक्षेपण गरेको थियो भने २०८०/८१ मा कम्पनीको प्रक्षेपित प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३३ पैसा हुने प्रक्षेपित विवरणपत्रमा उल्लेख थियो। तर, कम्पनीको पछिल्लो २ आर्थिक वर्षमा नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा मात्रै थियो । गत आर्थिक वर्ष २०८०/८१ मा त कम्पनीको वित्तीय अवस्था अझै बिग्रिएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६८ पैसाले ऋणात्मक भएको वित्तीय विवरण प्रकाशित गरेको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि कम्पनीको वित्तीय अवस्था सूचीकृत भएको सिमेन्ट कम्पनीमध्ये सबैभन्दा खराब रहेको छ । घोराहीसँगै सोनापुर मिनिरल्स एण्ड आयलको अवस्था पनि त्यस्तै छ ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/Capture-4.jpg)
तुलनात्मकरुपमा ऋणको भार कम भएको सर्वोत्तमले चालु आर्थिक वर्षमा बिक्री आम्दानीसँगै नाफामा समेत उल्लेख्य सुधार गरेको छ । सूचीकृत भएर सुरुका वर्षमा लगानीकर्तालाई राम्रो लाभांश वितरण गरेको शिवम् सिमेन्टको अवस्था पनि माग संकुचनका बीच सिमेन्ट कम्पनीहरुमा राम्रो छ ।
रिलायन्स स्पिनिङ मिलले योग्य संस्थागत लगानीकर्ताको लागि सार्वजनिक निष्काशन गर्ने सेयरको ४० प्रतिशत सेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गर्ने सेयरमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि आईपीओ निष्काशन गर्न विवरणपत्र प्रकाशित भएसँगै कम्पनीको आईपीओ विवादमा तानिएको थियो ।
रिलायन्सले योग्य संस्थागत लगानीकर्ताले आवेदन हालेको मूल्यको आधारमा ९१२ रुपैयाँ प्रतिकित्ता ‘कटअफ मूल्य’ तय भएको थियो । सोही मूल्यको १० प्रतिशत कम हुनेगरी सर्वासाधारणलाई ८२० रुपैयाँ ८० पैसा मूल्य तयार भएर आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको थियो ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/Capture-5.jpg)
नेप्सेमा सूचीकृत भएका शिवम्, घोराही, सोनापुर मिनिरल्सले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । त्यस्तै सर्वोत्तम सिमेन्टले भने बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको थियो । कम्पनीले मकवानपुरका स्थानीयको लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र अन्य सर्वासधारणको लागि प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । यस्तै घोराहीले प्रतिकित्ता ४३५ मा आईपीओ जारी गर्यो भने सोनापुरले कर्मचारीले र स्थानीयलाई प्रतिकित्ता २२५ तथा सर्वसाधारणलाई २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको हो ।
सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँ र सर्वसाधारण लगानीकर्तालाई ३६० रुपैयाँ ९० पैसामा आईपीओ जारी गरेको हो ।
रिलायन्स
रिलायन्स स्पिनिङ मिल्सका पनि बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्दा ८२० रुपैयाँ ८० पैसा मूल्य तय भएको हो ।
बुक बिल्डिङ विधि पनि कम्पनीको वित्तीय अवस्थाका आधारमा बजारले तय गर्ने प्रिमियम मूल्य हो । यसरी प्रिमियम मूल्यमा आईपीओ जारी गरेका ४ सिमेन्ट कम्पनी र रिलायन्स स्पिनिङ मिलको वित्तीय अवस्था विश्लेषण गर्दा सबै सूचकमा रिलायन्स स्पिनिङ मिल राम्रो अवस्थामा देखिन्छ । तुलनात्मक रुपमा न्यून सेयर पुँजी उच्च प्रतिसेयर नेटवर्थ र सञ्चालन आम्दानीमा समेत कम्पनीको अवस्था राम्रो देखिन्छ ।
![](https://clickmandu.com/wp-content/uploads/2024/07/Reliance-Spinning-Mills-cover.png)
चालु आर्थिक वर्षको पुस मसान्तमा कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको पुस मसान्तमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको छ । पुस मसान्तमा ४ अर्ब ८४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा सञ्चालन नाफा ४५ करोड ५६ लाख रुपैयाँ छ ।
कम्पनीको अल्पकालीन र दीर्घकालीन ऋण करिब ५ अर्ब रुपैयाँ छ । कम्पनीको कुल सम्पत्तिमा उक्त ऋण दायित्व ठूलो देखिँदैन । आर्थिक वर्ष २०७७/७८ यता कम्पनीको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षबाहेक ५० रुपैयाँभन्दा माथि देखिन्छ ।
गत आर्थिक वर्षमा भने कम्पनीले अघिल्लो आर्थिक वर्षमा स्टक सामान बिक्रीमार्फत् नाफा धेरै देखाउँदा उक्त स्टक पूर्ति गर्नुपर्ने अवस्थाका साथै विद्युत् महसुल विवादले गर्दा नेपाल विद्युत प्राधिकरणले पटक-पटक कम्पनीको लाइन काट्दा उत्पादन अवरोधसमेत भएको थियो । २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ ९१ पैसा थियो । त्यस्तै २०७८/७९ मा ६१ रुपैयाँ १२ पैसा, आर्थिक वर्ष २०७९/८० मा ५४ रुपैयाँ ३४ पैसा प्रतिसेयर आम्दानी थियो ।
गत आर्थिक वर्षमा भने विद्युत महसुल विवादले पटक पटक लाइन कटौति हुँदा उत्पादन प्रभावित भएर नाफा घटेको कम्पनीको दाबी छ । चालु आर्थिक वर्षमा भने कम्पनीको वित्तीय अवस्थामा राम्रो सुधार देखिएको छ । पुस मसान्तमा कम्पनीको वार्षिकीकरण गरेको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १९ पैसा पुगेको हो ।
घोराही सिमेन्ट
सबैभन्दा बढी मूल्यमा आईपीओ जारी गर्ने घोराही सिमेन्ट सबैभन्दा धेरै घाटामा छ । उच्च ऋणको भार र न्युन सञ्चालन आम्दानीका कारण कमपनीको वित्तीय अवस्था बिग्रिँदै गएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आवको सोही अवधमिा यस्तो आम्दानी १ अर्ब ७१ करोड २५ लाख थियो । आम्दानीमा खासै नबढ्दा पनि कम्पनीको बिक्री लागत करिब १० करोडले बढेर १ अर्ब ६१ करोड ४५ लाख पुगेको हो ।
कम्पनीको आम्दानी नबढ्ने तर बिक्री खर्चमा वृद्धि भएकोले कम्पनीको ह्रास कट्टी र अन्य सञ्चालन आम्दानीले गर्दा सञ्चालन मुनाफा नै ३३ करोड ६८ लाख रुपैयाँले ऋणात्मक छ । अझै आईपीओ जारी गर्दा ब्याज भुक्तानी नगरी पुँजीकरण गरेर नाफा देखाएको कम्पनीको चालु आर्थिक वर्षबाट वित्तीय लागत उच्च वृद्धि देखिएको छ । ब्याजदर घट्दा पनि चालु आवको ६ महिनामा कम्पनीको वित्तीय लागत ४८ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2024/08/ghorahi-768x416.jpg)
गत आवको सोही अवधिमा यस्तो लागत २६ करोड ५७ लाख रुपैयाँ मात्रै थियो । पुस मसान्तमा ४ अर्ब ५७ करोड ७७ लाख चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा १ अर्ब ३७ करोड ६० लाख र सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख छ । कम्पनीको करिब ६ अर्ब ५८ करोड ८२ लाख दीर्घकालीन ऋण र ३ अर्ब ५७ करोड ६२ लाख अल्पकालीनसहित १० अर्ब रुपैयाँभन्दा माथि ऋण दायित्व छ । न्युन सञ्चालन आमदानी र उच्च ऋण दायित्वले कम्पनी वित्तीयरुपमा समस्यामा धकेलिँदै गएको छ । कम्पनीले आफ्नो कमाइबाट कर्मचारीलाई तलब खुवाउन समेत नसकने अवस्था रहेको देखिन्छ । बैंकको ऋण तिर्न कम्पनीको सञ्चालन आम्दानीले सकेको छैन ।
कम्पनीले ब्याज पुँजीकरण गरेर २०७७/७८ मा ११ रुपैयाँ ६८ पैसा, २०७८/७९ मा ६ रुपैयाँ ८१ पैसा र २०७९/८० मा १० रुपैयाँ ३४ पैसा प्रतिसेयर आम्दानी देखाएको थियो । सोही विवरणको आधारमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्यो । गत आवमा कम्पनीको सञ्चित घाटा नै १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ पुगेको थियो । चालु आवको ६ महिनामा पनि कम्पनीले १५ करोड रुपैयाँ डिफर्ड ट्याक्सका कारण घाटा केही कम देखिएको हो । डिफर्ड कर १५ करोड रुपैयाँ हुँदा पनि कम्पनीको घाटा ६६ करोड ७१ लाख रुपैयाँ छ ।
सोनापुर मिनिरल
प्रिमियम मूल्यमा नै आईपीओ जारी गरेको सानापुर मिनिरल एण्ड आयलको पनि गत आर्थिक वर्षदेखि नै घाटामा चलिरहेको छ। ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको चालु आर्थिक वर्षको पुससम्मको घाटा १२ करोड २१ लाख रुपैयाँ छ ।
कम्पनीको बिक्री आम्दानीमा सुधार भए पनि बिक्री खर्चमा पनि बढेको छ । आम्दानीमा वृद्धि र वित्तीय लागत केही घट्दा कम्पनीको घाटा केही घटेको देखिन्छ । पुससम्म कम्पनीको सञ्चालन आम्दानी ९१ करोड ५८ लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो आम्दानी ७० करोड ५७ लाख मात्रै थियो । कम्पनीको बिक्री खर्च ६१ करोड ५ लाखबाट बढेर ८२ करोड ९२ लाख पुगेको छ कम्पनीको वित्तीय लागत अगाडिको सञ्चालन घाटा २ करोड ५१ लाख र करअघिको घाटा १५ करोड ४ लाख रुपैयाँ छ । तर, डिफर्ड ट्याक्सको २ करोड ८३ लाखले गर्दा १२ करोड २१ लाख रुपैयाँ मात्रै घाटामा रहेको विवरण कम्पनीले देखाएको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2019/04/sonapur-cement.jpg)
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको घाटा १४ करोड ७९ लाख थियो । डिफर्ड ट्याक्सले गर्दा कम्पनीको ऋणात्मक रहेको प्रतिसेयर आम्दानीमा पनि केही सुधार भएको हो । कम्पनीको न्यून सञ्चालन आम्दानी र ऋण दायित्व भने उच्च देखिन्छ । ४ गुणाभन्दा धेरै सञ्चालन आम्दानी भएको सर्वोत्तम सिमेन्टको भन्दा सनापुरको ऋण दायित्व उच्च छ । पुस मसान्तमा कम्पनीको अल्पकालीन ऋण १ अर्ब ९७ करोड र ४ अर्ब ३० करोड दिर्घकालीन ऋण समेत कुल ऋण ६ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै छ ।
आर्थिक वर्ष २०७७/७८मा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा, २०७८/७९ मा ६ रुपैयाँ ४७ पैसा र २०७९/८० मा १० रुपैयाँ ४२ पैसा प्रतिसेयर आम्दानी देखाएको थियो । गत आर्थिक वर्षमा घाटामा गएको कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९१ पैसाले ऋणात्मक हुँदा चालु आवको दोस्रो त्रैमासमा ७ रुपैयाँ ९४ पैसाले ऋणात्मक छ।
शिवम्
भूकम्प पछिको पुनर्निमार्ण सुरु हुँदा नेपाली बजारमा सिमेन्टको माग उच्च र तुलनात्मकरुपमा न्यून प्रतिस्पर्धा भएको समयमा शिवम् सिमेन्टले आईपीओ जारी गरेको थियो । कम्पनीको सुरुवाति वर्षमा सेयरधनीलाई राम्रो लाभांश वितरण गरेको थियो । शिवम् सिमेन्टले सहायक कम्पनीमार्फत् चिनियाँ लगानीको नेपालकै ठूलोमध्येको एक होङ्सी सिमेन्ट कम्पनीमा पनि लगानी गरेको छ ।
बजारमा मागमा आएको संकुचनले सिमेन्ट उद्योगको मागमा आएको कमीले व्यवसाय डाउन भएको छ । तर, अन्य कम्पनीमा पनि लगानी गरेको साथै कम्पनी आफैंमा करिब ऋणमुक्त समेत भएकोले शिवम् सिमेन्ट वित्तीयरुपमा बलियो छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानीमा गिरावट देखिएको छ । यद्यपि, कम्पनी सामान्य नाफामा छ । ३ अर्ब ५२ करोड रुपैयाँबाट कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब १० करोड रुपैयाँमा झरेको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2021/07/53-Grade-Shivam-Cement.jpg)
कम्पनीको बिक्री आम्दानी करिब ३१ करोडले घटेर २ अर्ब ७० करोड रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी १२ करोड २६ लाख रुपैयाँ रहेको छ । वित्तीय लागत ४२ लाख रुपैयाँमात्रै रहेको कम्पनीको नाफा ५ करोड ६८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १४ करोड ८६ लाख रुपैयाँ थियो । कम्पनीको दीर्घकालीन ऋण १६ लाख र चालु पुँजीको लागि अल्पकालीन ऋण ७ करोड ५४ लाख रुपैयाँ मात्रै छ ।
ऋणमुक्त भएकोले व्यवसाय बढाउन सकेमा कम्पनीको वित्तीय अवस्था बलियो देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६८ पैसा, २०७८/७९ मा १५ रुपैयाँ ६७ पैसा र २०७९/८० मा ६ रुपैयाँ ८७ पैसा प्रतिसेयर आम्दानी थियो । गत आर्थिक वर्षमा पनि कम्पनीको प्रतिसेयर आम्दानी सिमेन्ट उद्योगमध्येकै उच्च ४ रुपैयाँ ९८ पैसा हुँदा चालु आवको पुसमा भने कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८ पैसा मात्रै छ । ५ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख र सञ्चित नाफा ३ अर्ब १५ करोड ३३ लाख रुपैयाँ छ ।
सर्वोत्तम सिमेन्ट
बुक बिल्डिङ विधिबाटै आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको अवस्था सिमेन्ट कम्पनीमा तुलान्तमकरुपमा राम्रो देखिन्छ । पुस मसान्तमा सूचीकृत भएको ४ सिमेन्ट उद्योगमध्ये सर्वोत्तम सिमेन्टको वित्तीय अवस्था सबैभन्दा राम्रो छ । कम्पनीको सञ्चालन आम्दानी अर्थतन्त्रमा सुस्तताका बीच १ अर्ब रुपैयाँभन्दा धेरैले वृद्धि भएर ३ अर्ब ९८ करोड २३ लाख पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ९२ करोड ९४ लाख रुपैयाँमात्रै थियो ।
![](https://clickmandu.com/wp-content/uploads/2019/12/sarbotam_cement.jpg)
सञ्चालन आम्दानीसँगै कम्पनीको बिक्री खर्च पनि २ अर्ब ४८ करोड ५९ लाख रुपैयाँबाट बढेर ३ अर्ब ३२ करोड २६ लाख पुगेको हो । ७ करोड १८ लाख रुपैयाँ अन्य आम्दानी रहेको कम्पनीको वित्तीय लागत २२ करोड ९७ लाखबाट घटेर १५ करोड ६३ लाख रुपैयाँमा झरेको छ । वित्तीय लागतमा कमी र सञ्चालन आम्दानीमा वृद्धिले कम्पनीको नाफा बढेर २४ करोड १४ लाख पुगेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीको नाफा ३ करोड ६ लाख रुपैयाँमात्रै थियो ।
चुक्ता पुँजी ४ अर्ब ९७ करोड ५५ लाख रहेको कम्पनीको सेयर प्रिमियम र सञ्चित नाफा ३ अर्ब ९७ करोड ४७ लाख रुपैयाँ छ । पुस मसान्तमा कम्पनीको अल्पकालीन ऋण ३ अर्ब ६८ करोड ७१ लाख र दीर्घकालीन ऋण ११ करोड ७३ लाख रुपैयाँमात्रै छ । कम्पनीको ऋण दायित्व तुलनात्मकरुपमा न्यून देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ५८ पैसा, २०७८/७९ मा ११ रुपैयाँ ५५ पैसा र २०७९/८० मा ५ रुपैयाँ २८ पैसा प्रतिसेयर आम्दानी थियो । यस्तै गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा र चालु आवको पुस मसान्तमा ९ रुपैयाँ ७० पैसा रुपैयाँ छ ।
प्रतिक्रिया