लुम्बिनी केबलकारमा पश्चिम नेपाल बस प्रालीको गाडीमा चढ्नेलाई छुट

217
Shares

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालीमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् ।

सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ।

केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको दृश्यावलोकन गर्न सकिन्छ । पश्चिम नेपाल बस व्यवसायी प्राली नेपालको पुरानो र ठुलो मध्येको एक व्यावसायिक संस्था हो ।

यस प्रालीमा हाल २३०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । यस प्रालीले साधारण यात्रुवाहक बसदेखि आधुनिक सुविधा सम्पन्न बसहरूका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।