बिनोद चौधरीः बन्लान् त नेपालको डोनाल्ट ट्रम्प ?



नेपाली उद्यमशीलताको क्षेत्रमा चिरपरिचित नाम हो, विनोदचौधरी । नेपालका एकमात्र डलर अर्बपति उनको मुख्य पहिचान हो।यही पहिचानले उनी अन्तर्राष्ट्रियस्तरमा पनि परिचित छन्।

फोर्ब्सले प्रकाशन गर्ने विश्वका डलर अर्बपतिहरुको सूचीमा उनको नाम सन् २०१३ देखि समावेश हुँदै आएको छ। तर उनै चौधरीको परिचय अहिले आएर एकाएक फेरिएको छ।प्रायः अखबारको आर्थिक पृष्ठमा छाउने चौधरी परिचय फेरिएसै गराजनीतिक पृष्ठमा छाउन थालेका छन्। अब नेपालका डलर अर्बपतिमात्र नभई उनी हुन्, नेपाली कांग्रेसका नेता । अनि आगामी प्रतिनिधिसभाका समानुपातिक सांसदका उम्मेद्वार पनि।

साविकको नवलपरासीबाट टुक्रिएको नवलपुरबाट पार्टीको समानुपातिक सूचीमा परेका छन् चौधरी।

पूर्णकालीन राजनीतिमा लागेको उद्घोष गरेका चौधरीलाई नेपाली कांग्रेसले आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजकको जिम्मेवारी दिएको छ र, योसँगै उनी विभिन्न चुनावी सभाहरुमा सहभागी भई आर्थिक समृद्धि र विकासका लागि कांग्रेसले खेल्ने भूमिकाका सम्बन्धमा मतदातालाई बुझाउन प्रयत्नशील छन्।

कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री डा. सशांक कोइरालाको विशेष आमन्त्रणमा कांग्रेसको राजनीतिमा आएका चौधरी भावी दिनमा पार्टीभित्रको दुई खेमाका साझा व्यक्तिकारुपमा जम्नसक्ने प्रशस्त सम्भावना देखिन्छ । त्यसो त पार्टीभित्रका यी दुई खेमा वाम गठबन्धनसँग जुझ्नका लागि होला, चुनावका बेला भने एकाकार नै भएको देखिन्छ।

लेखक सापकोटा

नेपालका राजनीतिक नेताहरु आफ्ना योजना जनतासमक्ष प्रस्तुत गर्नुभन्दा विपक्षीप्रति अनुदार र असहिष्णु भई गालीगलौज गर्ने र एकअर्काको अनर्गल प्रचार गर्ने कुसंस्कारमा अभ्यस्त भएका छन्। कांग्रेस सभापति देउवाले ‘कम्युनिष्ट शासन आएपछि रुन पनि पाइँदैन’ भनेर वामपन्थी गठबन्धनप्रति कटाक्ष गरे।

उता नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘चुनावपछि नेपालमा आउने वामपन्थी तुफानले बूढो रुख–सुख केही नराख्ने’टिप्पणी गरे।

उखान टुक्काका राजनीतिक बादशाह मानिने ओलीले नयाँ शक्ति नेपालका संयोजक एवं गोरखा-२ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै ‘कर्कलोलाई बञ्चरो लगाउनु पर्दैन’ भनेर आफूभित्रको दम्भ र उन्मादलाई छरपष्ट पारे।

यी कटाक्षका घटना नेपाली राजनीतिमा प्रतिनिधि घटनामात्र हुन्।

एक-अर्कामाथि कटाक्ष गर्ने र सोको प्रतिवाद गर्ने कुसंस्कारबाट शीर्ष नेतामात्र नभएर अन्य नेता कार्यकर्ता पनि नराम्ररी गाँजिएका छन्।

पछिल्लो समय व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएलगत्तै डोनाल्ट ट्रम्प अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्वाचित हुन सफल भए । चौधरीका लागि भावी दिनमा यो देशकै नेतृत्व गर्ने सुखद अबसर पनि हुनसक्छ सक्रिय राजनीतिमा लाग्ने उनको निर्णय ।

यद्यपि फरक पृष्ठभूमिबाट राजनीतिमा आएकाले पनि होला, चौधरीले भने विपक्षीका विरुद्धमा बोल्ने गरेको पाइँदैन। चौधरी हालसम्म चुनाव प्रचारका क्रममा जति पनि स्थानमा पुगेका छन्, त्यहाँ उनले आफू राजनीतिमा प्रवेश गर्नुको कारण एवं आर्थिक समृद्धि र विकासका बारेमात्र बोल्ने गरेका छन्। त्यसो त उनी आफैले पनि भन्ने गरेका छन् कि केवल राजनीति गर्नका लागि उनी राजनीतिमा लागेका होइनन्।

विपक्षीको विरुद्धमासमेत नबोल्ने एकजना उदीयमान नेता आफ्नै पार्टीभित्र कुनै खेमा वा व्यक्तिप्रति असहिष्णु र अनुदार हुने त झन् कुरै भएन।

हुन पनि उनकै शब्दमा यदि उनी निहित स्वार्थ पूर्तिको अभिष्ट पूरा गर्न कांग्रेसको राजनीतिमा लागेका होइनन् भने कतै लसक्क र कतै ठसक्क पर्न यी डलर अर्बपतिलाई के को जरुरत ? त्यसै पनि वर्षौं लामो उद्यमशीलताको यात्राका क्रममा चौधरीले आर्जन गरेको ख्याती उनको राजनीतिक अभियानको सृदृढीकरणका लागि सहयोगी सिद्ध भएको छ।त्यसैले त पूर्णकालीन राजनीतिमा लाग्ने घोषणा गरेको यति छोटो अवधिमै यति जमेर बस्न सकेका छन् उनी।

एकजना सफल उद्यमीको सक्रिय राजनीतिमा प्रवेशले आम मानिसको मनमा निश्चय नै कौतुहल जगार्इ दिएको छ।त्यसैले त उनी पुग्ने कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको देखिन्छ ।

चौधरीको मन्तव्य सुन्नैका लागि व्यग्रतापुर्वक प्रतीक्षा गरेकाहरुको भीड र उनीसँग सेल्फी खिचाउन लालयित युवा जमात खाली उनी केही हप्ताअघि राजनीतिमा लागेको प्रतिफल पक्कै होइन।

यो त उनले वर्षौं लामो उद्यमशीलताको अनवरत यात्राबाट प्राप्त गरेको उपलव्धिको सार्थक परिणाम हो।त्यसैले त मतदातामाझ उनले नेपालमा अब राजनीतिक एजेण्डा सकिएकाले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने र यस अभियानको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउँदै आएका छन्।

विनोद चौधरी राजनीतिमा खारिएका अनुभवी खेलाडी होइनन्, न उनले पूर्णकालीन राजनीतिमा कहिल्यै आफूलाई समर्पित गर्न भ्याए।हुन पनि राष्ट्र र अन्तर्राष्ट्रमा व्यवसाय विस्तार र रोजगारी सिर्जना गर्दैमा उनलाई फुर्सद नै कहाँ भयो र ? सक्रिय राजनीतिमा अनुभव नभए पनि बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप सञ्चालनको अभिभारा बहन गर्नेदेखि नेपाल उद्योग वाणिज्य संघको सफल नेतृत्व गरिसकेकाले योजना निर्माण, त्यसको सफल कार्यान्वयन, सांगठनिक व्यवस्थापन, जन सम्बन्धलगायतका सवालमा भने उनी सिद्धहस्त व्यक्तित्व हुन् भन्दा फरक पर्दैन।

जीवनका ४ दशकभन्दा बढी समय उद्यम कर्ममा लागेका चौधरीसँग उत्तेजक भाषण गरेर कार्यकर्ता जोस्याउने राजनीतिक चतु¥याईं छैन । न त छ असम्भव आश्वासन बाँडेर मान्छेलाई आफूप्रति आकर्षित गर्ने कला नै।तै पनि सर्वसाधारणको भीडमा उनकै खोजी भइरहेको छ र बढ्दो छ उनको लोकप्रियता।

मतदातालाई शब्दजालमा फसाउने र असम्भव आश्वासन बाँडेर उनीहरुको भावनामाथि कुठाराघात गर्नु उनी जत्तिको स्थापित र जिम्मेवार व्यक्तिका लागि शोभायमान हुँदैन पनि। क्षणिकरुपमा मानिसलाई जोस्याउन भन्दा वैचारिक ढंगले आफ्नो योजना जनतामाझ इमान्दारितापुर्वक राख्ने गरेको बाट उनी दीर्घकालीन राजनीति गर्नैका लागि अगाडि बढेका हुन् भन्ने आभास मिल्दछ।

हुन पनि बेजोड मन्तव्यसहितको इमान्दार प्रस्तुतिका कारण आम सभाका मञ्चहरुमा मज्जाले जमेका छन् चौधरी।जनतामा राजनीतिक नेताप्रति वितृष्णा बढेकाले पनि होला उनको जति खोजी बर्षौदेखि स्थापित नेताकै पनि हुने गरेको पाइँदैन।

निश्चय नै चौधरीको कांग्रेस आगमन र राजनीतिक सक्रियताले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ।यसले लोकतन्त्र वादीहरुमा उत्साह जगाएको छ भने वामपन्थीहरुमा संशय पैदा गराइदिएको छ।

हुन पनि आर्थिक समृद्धि र विकास अभियानको नेतृत्व चौधरीले लिएकै कारण पर्ख र हेर गरेर बसेका जनसाधारणको अभिमतलाई कांग्रेसले मतपत्रमा सुरक्षित गर्नसक्यो भने चौधरीको कांग्रेस आगमन कांग्रेसका लागि फलदायी र वामपन्थीका लागि कडा चुनौती सावित हुन पनि सक्छ।

त्यतिमात्रै होइन, पछिल्लो समय व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएलगत्तै डोनाल्ट ट्रम्प अमेरिकाजस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति निर्वाचित हुन सफल भए । चौधरीका लागि भावी दिनमा यो देशकै नेतृत्व गर्ने सुखद अबसर पनि हुनसक्छ सक्रिय राजनीतिमा लाग्ने उनको निर्णय ।


पुष्प दुलाल