यसकारण आवश्यक छ, स्थानीय तहमा बैंक



धादिङको रुभिभ्याली गाउँपालिकामा व्यवसाय गरेर बस्ने एकजना चिनेकै दाई संयोगले कामको शिलशिलामा गत हप्ता धादिङबेशीमा भेट भयो । भेटको क्रममा त्यि दाईलाई मैले साधिहाले, दाइ व्यापार व्यवसाय कतिको चलेको छ र अनि बचत कतिको हुन्छ नि ? जवाफमा ती दाइले भन्नुभयो, ‘भाइ ब्यापार व्यवसाय राम्रै चलेको छ, जीवनमा सन्तुष्टि मिलेकै छ, घर खर्च, छोछोरीको लागि खर्च हुँदा केही महिनामा १०/१५ हजार रुपैयाँ, केही महिनामा ६/७ हजार रुपैयाँ जति बचत हुन्छ ।’

अलि पैसा धेरै भएको बेलामा बर्षको ३/४ महिनाको अन्तरालमा बाणिज्य बैंकमा त्यही पैसा जम्मा गर्न २ दिन यात्रा गरेर धादिङबेशीमा झर्छु । स्थानीय तहमा बैंक नहुँदा मजस्ता व्यापार व्यवसाय गरेर बस्ने पनि यसैगरी धादिङबेशीमा झर्छन् । भाई, आफ्नो स्थानीय तहमा बैंक भएको भए यसरी २ दिन लगाएर बचत गर्न धादिङबेशीमा झर्नुपर्दैन्थ्यो नि । आखिर पैसा बचत त गर्नैप¥यो, भोलि भविष्य त्यही पैसाले हेर्ने हो हामीलाई ।

त्यही दिन धादिङबेशीबाट काठमाण्डौं आउने क्रममा म बसेको सिट सामुन्ने रहेको आफूलाई धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको जनप्रतिनिधि बताउनेले आफ्नो दुखेसो यसरी पोखे, संघीय राज्य त आयो, स्थानीय तहमा पाउने अधिकारलाई जनताले उपयोग गर्न पाएका छन् ।

लेखक बिडारी

तर आफ्नो गाउँपालिकामा भने बैंकमको पहुँच पुग्न सकेको छैन । उनि फेरी थप्छन, चालु आर्थिक बर्षको बजेटमा बाणिज्य बैंक नपुगेको स्थानीय तहमा सरकारी कारोबार गर्न बाणिज्य बैंकहरु व्यवस्था गर्न उल्लेख गरेको थियो ।

त्यहीअनुसार राष्ट्र बैंकले पनि मौद्रिक नीति सार्वजनिक गर्दै बैंक नपुगेको स्थानिय तहमा प्रोत्साहित गर्न स्थानीय तहमा बैंकको शाखा खोल्न प्रतिशाखालाई १ करोड रुपैयाँ निब्र्याजी सापटी दिने उल्लेख गरेको थियो । हाम्रो गाउँपालिकामा पनि बाणिज्य बैंकको शाखा बिस्तार होला अनि हामीले बैंकबाट सेवा सुबिधा पाइन्छ कि भन्ने आशा छ । तर हालसम्म कुनै पनि बाणिज्य बैंकले हाम्रो गाउँपालिकामा शाखा खोलेको छैन ।

आफ्नो स्थानिय तहमा बैंक नहुँदा सामाजिक सुरक्षा भत्ता लिन र बिकास निर्माणको भुक्तानी लिन जिल्लास्थित सदरमुकाम धादिङबेशीमा अवस्थित बैंकमा जानुपर्ने अवस्था छ । आफ्नै गाउँतहमा बैंक भइदिएको भए यस्तो समस्या हामीले झेल्नुपर्ने थिएन बरु बैंकमा गाउँपालिकाको आफ्नै खाता हुने र अनि आफ्नै स्थानिय तहमा भौतिक पूर्वाधारको बिकास गर्न सहज हुनेछ ।

नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा घर हुने मेरो एउटा साथि काठमाडौंमा कपडा ब्यापार गर्नुहुन्छ । केहीदिन अघि म सँग भेटघाट गर्ने क्रममा भन्नुहुन्थ्यो, ‘अस्ति धानबाली भित्राउने बेलामा खेतालाई ज्याला चाहियो भनेर बुवा मलाई काठमाडौंमा भेट्न आउनु भयो र बुवाले मागेजति रकम दिएर पठाइदिँए ।’

आफ्नो स्थानीय तहमा बैंक भएको भए बुवालाई त्यही स्थानिय बैंकमा खाता खोल्न लगाउथेँ र आवश्यक परेको बेलामा बुवासँग बैंकको खाता नम्बर मागेर त्यही बैंकको काठमाडौंस्थित शाखाबाट पैसा जम्मा गरिदिन्थे । बुवालाई पनि सहज हुने थियो ।

यी त भए माथिका प्रतिनिधिले आफ्नो स्थानीय तहमा बैंक नहुँदा भोग्नुपरेको समस्या । यस्ता कयौं समस्याहरु छन् स्थानीय तहमा बैैक नहुँदा स्थानीय जनताले भोग्नुपरेको छ । स्थानीय तहमा बैंक नहुँदा स्थानीय जनताको निक्षेप संकलन र जनतामा कर्जा लगानी जस्ताबाट स्थानिय जनता बञ्चित हुनुपरेको छ ।

अहिले कयौं स्थानीय तहमा बैंक नहुँदा उत्पादन क्षेत्र र उद्यमशीलको बिकास हुन सकिरहेको छैन । अहिले ७५६ स्थानीय तहमध्ये ४५६ स्थानीय तहमा बैक पुग्न सकेको छैन । ४५६ स्थानीय तहमध्ये करिब १३० स्थानीय तहमा बैंकहरु भौगोलिक बिकटताको कारणले जान नसक्ने अवस्थामा छन् ।

एकातिर भौगोलिक विकटता अर्कोतिर सुरक्षाको कारणले जान सकिने स्थानिय तहमा पनि बैंकहरु जान नसकिरहेको अवस्थामा सरकारको मुलुकै आर्थिक भलाइको निम्ती सोचेर यसतर्फ ध्यान जानु आवश्यक छ । कम्तिमा पनि हरेक स्थानीय तहमा सुरक्षाको फौजको उपस्थित हुने हो भने बैंकलाई सुरक्षाको अनुभूति हुनेछ साथै भौगोलिक बिकटता भएको स्थानीय तहमा बैंकको उपस्थितले भौतिक पूर्वाधार बिकासमा टेवा पुग्नेछ ।

स्थानीयतहमा बैंक हुँदा एकातिर स्थानिय जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिन र बिकास निर्माणको भुक्तानी लिन बैंकबाट पाउने भएका छन् भने अर्कोतिर स्थानीय जनताको निक्षेप संकलन हुनुको साथै कृषि तथा स-सना उद्योग बिस्तार गर्न बैंकले कर्जा लगानी गर्न पाउने छ । जसबाट बैंकको व्यवसाय बृद्धि हुनेछ । साथै स्थानीय तहमा बैंक हुँदा स्थानीयस्तरमा व्यापार, व्यवसाय गरेर जोगेको पैसा, उद्योग खोलेर नाफा कमाएको पैसा र जागिर गरेर कमाएको पैसा बैंकमा बचत गर्ने बानीको बिकास हुनेछ ।

एकातिर रोजगारमुलक एवम् सिपमुलक व्यवसाय सिर्जना अर्कोतिर व्यापार तथा कृषि एवं पिछडिएको क्षेत्रको बिकास गर्न स्थानीय तहमा बैंकको आवश्यक छ । खासगरी लगानीको सुरक्षा । आवश्यकता अनुसार बैंकबाट प्राप्त गर्न सकिने सेवा सुबिधाको कारणले स्थानीय तहमा बैंकको बिशेष महत्व रहन्छ । उद्यमशीलको बिकास, गरिबी निवारण, भौगोलिक क्षेत्रको बिकास गर्न आज हरेक स्थानीय तहमा बैंकको आवश्यक छ ।


पुष्प दुलाल