काठ नहुँदा पुनर्निर्माण ठप्प, दुई हजार क्युफिट काठ मात्रै उपलब्ध



मेलम्ची। भूकम्प गएको दुई वर्ष बितिसकेर पुनर्निर्माणले फड्को लिनुपर्ने समयमा काठको अभावमा पुनर्निर्माण गर्न नसकेको यहाँका भूकम्पपीडितको गुनासो छ ।

जिल्लाभरिबाट स्थायी आवास निर्माणका लागि सरकारले दिएको पहिलो किस्ताअनुरुप ५० हजार रुपैयाँ लिएपनि अहिलेसम्म पुनर्निर्माणले गति लिन सकेको छैन । अहिले स्थायी आवास पुनर्निर्माणको चटारोमा खटेका भूकम्पपीडित काठ अभावसँगै अन्योलमा परेका छन् । घर निर्माणका लागि सरकारले भूकम्पपीडितका लागि सहुलियतमा काठ उपलब्ध गराउने भने पनि अहिलेसम्म काठ वितरणको कुनै कार्य हुन सकेको छैन ।

भूकम्पपीडितले काठ नपाउँदा घरको झ्याल, ढोका, छाना छाउन प्रयोग हुने काठलगायत पूर्ण घर बन्नका लागि प्रयोग हुने काठ नपाउँदा काम नै ठप्प भएको हो । मेलम्ची नगरपालिका–१० शिखरपुरका युवा उद्घव दाहालले आफ्नो स्थायी आवास निर्माणमा काठको अभाव हुँदा निकै कष्ट भोग्नु परेकोमा दुःख पोखे । उनले काठको प्रयोगले हुने ठाउँमा पनि निकै महँगो पर्ने फलाम प्रयोग गर्न बाध्य भएको दाहाल बताउँछन् ।

जिल्ला वन कार्यालय भने जिल्लाभित्र काठ अपर्याप्त भएकाले भूकम्पपीडितलाई मागअनुरुप दिन नसकेको बताउँदै आएको छ । घर बनाउनका लागि आवश्यक काठ भूकम्पबाट बचेका काठपात प्रयोग गरेर घर बनाउने जिल्ला अधिकांश रहेका छन् । कच्ची, थोत्रा तथा पुराना घरमा प्रयोग भएको काठ काम नलाग्ने भएकाले जिल्लाभरि नै काठको माग धेरै रहेको छ । बनाउँदै गरेका घर तथा निर्माणको अन्तिम चरणमा रहेका घरमा अहिलेसम्म काठ नपाउँदा पीडितले झ्याल, ढोकासमेत हाल्न पाएका छैनन् ।

काठका लागि निवेदन दिएको निकै लामो समय भएको भएपनि अहिलेसम्म काठ नपाएको पीडितको गुनासो छ । सरकारले सहुलियतमा काठ उपलब्ध गराउने कुरा गरेसँगै पीडित सहुलियत काठको पर्खाइमा छन् । जिल्लाभरका भूकम्पपीडितले काठ अभावमा आवास पुनर्निर्माणको काम सुरु गर्न सकेका छैनन् । जिल्लाभर काठ अभाव हुँदा भूकम्पपीडित पुनर्निर्माण अगाडि बढ्न नसकेको बताउँदै आएका छन् । जिल्लाभर पुनर्निर्माणको गतिले छलाङ मारिसक्नुपर्ने समयमा वन विभागले भने जिल्लाका भूकम्पपीडितका लागि हालसम्म दुई हजार क्युफिट काठ मात्रै उपलब्ध गराएको जानकारी दिएको छ ।

जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाका अनुसार पहिलो पटक ल्याएको दुई हजार क्युफिट काठ चौतारा नगरपालिका र आसपासका केही गाविसका ७२ परिवारलाई मात्रै वितरण गरिएको र त्यसयता विभागले काठ नै नपठाउँदा पीडितलाई सहुलियतको काठ वितरण गर्न नसकिएको उनको धारणा छ ।

आवास निर्माणका लागि तीन महिनाअघि देखि काठको माग हुँदै आएको भए पनि अहिले दिन प्रतिदिन माग बढिरहेको सापकोटाले बताए। अहिलेसम्म काठको आवश्यकता परेको भन्दै जिल्ला वन कार्यालयमा २४ हजारभन्दा बढी निवेदन आएकामा ७२ परिवारलाई मात्रै काठ दिएको छ । भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणमा १८ लाख क्युफिट काठ आवश्यक पर्ने अनुमान लगाएको छ । नवलपरासीबाट दुई चरणमा दुई हजार क्युफिट काठ ल्याइएको थियो ।

तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले सुरु गरेको भूकम्पपीडितलाई सहुलियतको काठ अझै वितरण गर्ने काम अगाडि बढेको छैन । महिना महिनामा मन्त्री फेरिने प्रवृत्तिले पनि ठीकसँग एउटा निर्णय पनि अगाडि बढ्न नसकेको भूकम्पपीडितको गुनासो छ ।


क्लिकमान्डु