
काठमाडौं । जारी २०२६ विश्वकप फुटबल अन्तर्गत फाइनल खेल खेलाउने बल सार्वजनिक भएको छ ।
पहिलो पटक ४८ देश सहभागी भएको र तीन देशमा सञ्चालन भइरहेको यो खेलमा अहिले नकआउट चरण अन्तर्गत १६ को अन्तिम दुई खेल बाँकी छन् ।
जुलाई २० मा हुने फाइनल खेलले आगामी ४ वर्षको विजेता तय गर्नेछ। फाइनलका लागि ‘ट्रायोन्डा’ बल सार्वजनिक भएको हो ।
फिफा र एडिडासले सेमिफाइनल, ब्रोन्ज फाइनल र फाइनल खेलका लागि विशेष रूपमा ‘ट्रायोन्डा फाइनल’ नामक बल ल्याएका छन्, जसमा प्रतियोगिताका १६ आयोजक सहरहरूलाई सम्मान गर्ने डिजाइन समावेश गरिएको छ ।
सेमिफाइनल, ब्रोन्ज फाइनल र फाइनल आयोजना गर्ने डलास, अट्लान्टा, माइयामी र न्यूयर्क न्यू जर्सी सहरहरूलाई बलको मुख्य डिजाइनमा प्रमुख रूपमा राखिएको छ भने बोस्टन, ग्वाडालाहारा, ह्युस्टन, कान्सास सिटी, लस एन्जलस, मेक्सिको सिटी, मन्टेरे, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया, सिएटल, टोरन्टो र भ्यानकुभरलाई त्रिकोणीय ग्राफिक तत्वहरूमा समेटिएको छ ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘अन्तिम चार खेलका लागि ल्याइएको यो ट्रायोन्डा फाइनलले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाको एकता र जोशलाई प्रतिनिधित्व गर्छ। यसले विश्वकपको २३औं संस्करणलाई सम्भव बनाउने १६ सहरहरूलाई थप इतिहासमा उतार्नेछ।’
कसले बनायो बल ?
यो बल जर्मन स्पोर्ट्सवियर कम्पनी एडिडासले डिजाइन गरेको हो, तर वास्तविक उत्पादन पाकिस्तानको सियालकोटस्थित कम्पनी ‘फरवर्ड स्पोर्ट्स’ ले गरेको छ ।
यही कम्पनीले २०२२ कतार विश्वकपको आधिकारिक बल ‘अल-रिहला’ पनि निर्माण गरेको थियो । ‘ट्रायोन्डा’ शब्द स्पेनिस भाषाको ‘ट्राई’ (तीन) र ‘ओन्डा’ (छाल) बाट बनेको हो ।
जसले क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका गरी तीन आयोजक राष्ट्रलाई जनाउँछ ।
सामग्री र प्रविधि
बल परम्परागत धेरै प्यानलको सट्टा जम्मा चार पोलिय्युरिथेन प्यानलबाट थर्मल-बन्डेड (सिलाइविनाको) प्रविधिबाट बनाइएको छ। यो हालसम्मको विश्वकप बलमध्ये सबैभन्दा कम प्यानल संख्या हो ।
बलको सतहमा माइक्रो र म्याक्रो ढाँचामा डिबस गरिएका डिजाइनहरू छन् जसले हावामा उड्दा स्थिरता र भिजेको अवस्थामा समेत राम्रो ग्रिप दिन मद्दत गर्छ ।
यसमा तीन आयोजक देशका प्रतीकहरू क्यानडाको म्यापल पात्ता, अमेरिकाको तारा र मेक्सिकोको हरियो चील समावेश गरिएका छन्।
बलमा एडिडासको ‘कनेक्टेड बल टेक्नोलोजी’ पनि जोडिएको छ । भित्र राखिएको ५०० हर्ट्जको मोशन सेन्सर चिपले बलको गतिविधिबारे वास्तविक-समयमा डाटा भिडियो असिस्टेन्ट रेफ्री प्रणालीमा पठाउँछ, जसले अफसाइडजस्ता निर्णयलाई थप सटीक बनाउँछ ।
कति पर्छ मूल्य ?
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रायोन्डा बल विभिन्न संस्करणमा उपलब्ध छ ।
लिग संस्करण: तालिम र साधारण खेलका लागि मूल्य करिब ४५ डलर (६ हजार ८४० रुपैयाँ)
कम्पिटिशन संस्करण: व्यावसायिक खेलका लागि उपयुक्त यो बलको मूल्य करिब ६५ डलर (९ हजार ८८० रुपैयाँ) रहेको छ ।
प्रो संस्करण: विश्वकप खेलहरूमा वास्तवमा प्रयोग हुने कनेक्टेड बल टेक्नोलोजीसहित सर्वोत्तम गुणस्तर संस्करणको यो बलको मूल्य करिब १७० डलर(२५ हजार ८४० रुपैयाँ) रहेको छ ।
यसबाहेक, १५ मिनी बलहरू समावेश भएको सङ्ग्रहणीय प्याक २५० डलर (३८ हजार रुपैयाँ) प्रो बल सेट ४०० डलर (६० हजार ८०० रुपैयाँ) मा पनि सार्वजनिक गरिएको छ । यी सबै संस्करण एडिडासको आधिकारिक स्टोर, फिफाको आधिकारिक पसल र प्रमाणित स्पोर्ट्स रिटेलरहरूमार्फत खरिद गर्न सकिन्छ।






प्रतिक्रिया